PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दरवार हाइस्कूलको बिजोग :  जहाँ भगवान भरोसामा पढाइ भइरहेको छ 

दरवार हाइस्कूलको बिजोग :  जहाँ भगवान भरोसामा पढाइ भइरहेको छ 

आकाश क्षेत्री/पहिलोपोस्ट


काठमाडौँ : ‘हजुरहरु मरे हामी पनि मर्छौं,  हजुरहरु रातो स्टिकर टाँसिएको कक्षामा पढाउनु हुन्छ भने हामी पनि त्यही पढ्छौँ।’

रानीपोखरीस्थित दरवार हाइस्कुल (भानु माध्यामिक विद्यालय)का प्रधानाध्यापक बद्रिप्रसाद दाहाल विद्यार्थीको एक समूह आफूकहाँ आएर रातो स्टिकर (खतरा) लागेकै कक्षाकोठामा भए पनि पढाउन अनुरोध गरेको त्यो दिन सम्झिँदै भावुक हुन्छन्। 

‘आज भवन उस्तै छ। तर स्कुल भवन भत्केर मर्छु कि भन्ने डर कम भएको छ’ उनी भन्छन्। नियतिले सबैलाई बाध्य बनाउँदो रहेछ।   

२०७२ वैशाख १२ गते शनिबारको महाभूकम्पले डेढ शताब्दी पुरानो दरबार हाइस्कुल तहसनहस बनायो। 

दरवार हाइस्कुल भएको भवनकै दोस्रो तलामा संचालन भइरहेको संस्कृत विद्यालयका विद्यार्थी पनि कक्षाकोठाविहीन विद्यार्थी बने। 
१४० वर्षपछिको राणाकालीन इतिहासबारे चर्चा हुँदा छुट्दै नछुट्ने नाम हो ‘दरवार हाइस्कूल’। 

यति मात्र हैन दरवार हाइस्कूल नेपालको राजनीति, अर्थ, शिक्षा, साहित्य आदि क्षेत्रमा उच्च नाम आर्जन गरेका ब्यक्तिहरुको अध्ययन थलोको रुपमा पनि परिचित नाम हो।

तर, त्यही दरवार हाइस्कुल आज निरीह बनेको छ। भवनको अधिकांश क्षेत्र काम नलाग्ने भएको छ भने कक्षा कोठाहरु ठाँउठाउँमा चिरा परेका छन्। 

भूकम्पको दुई वर्ष पुगिसक्दा पनि ऐतिहासिक विद्यालय जस्ताको तस्तै हुनु विडम्वनाको कुरा भएको स्कुलका शिक्षकहरु बताउँछन्।  
 
भूकम्पपछि दरवार हाइस्कुल भवनको अगाडि लगाइएको रातो स्टिकर हराएसँगै विद्यार्थीहरुको मनमा डर पनि हराउँदै गएको छ।

स्कूलमा विद्यार्थीहरु रातो स्टिकर लगाइएको कक्षाकोठामा अध्ययन गरिरहेका छन्, शिक्षकहरु अध्ययन गराइरहेका छन्।  

भूकम्पले भवनलाई पूर्णरुपमा क्षति पुर्‍याएपछि विभिन्न निकाय तथा ब्यक्तिहरुले टहरा निर्माण गरिदिए। 

त्यसपछि संस्कृत माध्यमिक विद्यालयको कार्यालयदेखि सम्पू्र्ण कक्षाहरु टहरामै संचालन हुने गरेका छन् भने भानु माध्यामिक विद्यालयका केही कक्षा टहरा र केही रातो स्टिकर (खतराको सूचीमा परेको) लगाइएका कक्षाकोठामा संचालन हुने गरेका छन्।


भगवान भरोसामा अध्ययन अध्यापन? 

काठमाडौं उपत्यका लगाएतका क्षेत्रहरुलाई भूकम्पको उच्च जोखिमका क्षेत्रको रुपमा विज्ञहरुले परिचित गराउँदै आएका छन्। तर, काठमाडौंकै मुटुमा रहेको दरवार हाइस्कुल त्यस्तो  सरकारको मातहतको निकाय हो जहाँ शिक्षक तथा विद्यार्थीले जोखिम मोल्दै पढाउनु तथा पढ्नु परेको छ। अहिले वर्षा सुरु हुँदा चर्किएको भवन भत्किने झन् जोखिम बढेको शिक्षकहरु बताउँछन्।  

कसरी भूकम्पको अत्याधिक जोखिममा हरेको काठमाडौंमा रातो स्टिकर अंकित खतराको सुचीमा परेको भवन भित्र अध्ययन अध्यापन गराइरहनु भएको छ?

प्रधानाध्यापक बद्रीप्रसाद दहाल भन्छन्,  ‘भगवानको भरोसामा !’ 


अवलोकन सबैले गरे काम कसैले गरेनन्

दरबार हाइस्कुल (भानु माध्यामिक विद्यालय) ले हिजो असार २९ गते १४० औं वार्षिकोत्सव मनायो। स्कुलको समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्य। 

स्कूलका प्रधानाध्यापकका बद्री प्रसाद दहालका अनुसार जिशिअले पटक पटक आएर स्कुलको अवलोकन गरे पनि उनको मुखमा एउटै उत्तर झुन्डिएको हुन्छ,  त्यो हो - ‘म के गर्न सक्छु र।’

त्यतिमात्र होइन प्रधानाध्यापक दहाल भन्छन्, ‘ स्कुलमा आएर मन्त्रीले समेत अवलोकन गरेका छन् तर, खोई अहिलेसम्म केही गरेनन्।’
कुनै बेला स्कुलको पुननिर्माण चीनले गरिदिने हल्ला आएपनि त्यो कुरा अहिलेसम्म हल्लामै सीमित रहेको उनी बताउँछन्। 

निम्नवर्गीय विद्यार्थीको रोजाई

कुनै बेला कुलीन परिवारका सदस्यमात्र पढ्न पाउने दरवार हाइस्कुल अहिले निम्नवर्गीय विद्यार्थीको रोजाई बनेको छ। 

सामान्य मजदुरी गर्ने अभिभावकका छोराछोरी मात्र दरवार हाइस्कुलमा अध्ययन गर्न आउने गरेको प्रधानाध्यापक दहाल बताउँछन्। 

१६ जना शिक्षक रहेको दरवार हाइस्कुल (भानु माध्यामिक विद्यालय) मा ६ कक्षादेखि १० कक्षासम्म अध्ययन अध्यापन हुने गर्दछ।  सँगै रहेको संस्कृत माध्यामिक विद्यालयमा २२ जना शिक्षक र  एक सयको हाराहारीमा विद्यार्थी रहेका छन्। 
   
 


ट्रेन्डिङ पोस्ट

Ncell