PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

४२ वर्षपछि क्यामेरामा कैद भयो सिलु बिरालोको पहिलो तस्वीर



४२ वर्षपछि क्यामेरामा कैद भयो सिलु बिरालोको पहिलो तस्वीर
स्वचालित क्यामरामा परेको सिलु बिरालो। अंग्रेजीमा यसलाई Spotted।insang भनिन्छ। फोटो : प्रकृतिका साथीहरु

  • राजु आचार्य 
काठमाडौँ : करिब ४२  वर्षपछि अनुसन्धान टोलीले सिलु बिरालोको प्रजाति लमजुङ र कास्की जिल्लाको सिमानामा अभिलेख गरेको छ। स्वचालित क्यामरामा परेको तस्वीर नै सम्भवत नेपालको लागि पहिलो प्राकृतिक बासस्थानमा लिएको तस्विर हो। 

करिब तीन महिना सम्म राखिएका ५३वटा स्वचालित क्यामराहरू मध्ये दुईवटामा सिलु बिरालोको तस्वीर परेको थियो। केही महिनाअघि क्यामरामा तस्वीर परेपछि अनुसन्धानकर्मीहरुको समूहले वनमै खुसियाली बाँडेका थिए।  

अनुसन्धानकर्मी यादव घिमिरेको नेतृत्वमा गएको समूहमा कौशल यादव, जीवन राई, राज प्रसाई,  प्रबल राणा लगायत८ जना स्थानीयहरू समेतले सो प्रजातिलाई क्यामरामा पार्न भूमिका निर्वाह गरेका थिए।

सन् १८७४मा बेलायती वैज्ञानिक ब्राइन हड्सनद्वारा संकलित८ वटा आखेटोपहार पछि यो प्रजातिको बारेमा नेपाल अनभिज्ञ नै रह्यो। चितवन राष्ट्रिय निकुन्जमा सन् १९७५मा देखिएको भनेर वैज्ञानिक मेल सुन्किस्टले सो प्रजाति बारे सन् १९८२ मा लेख प्रकाशित गरेका थिए।  पूर्वको लेलेप  (सन् २०११) मा देखिएको दाबी गरिएको भने पनि ठोस प्रमाणहरु  हालसम्म जुटेको थिएन। झन् प्राकृतिक अवस्थामा फोटो हुने त कुरै भएन। 

४२  वर्षपछि भेट्नुको कारणबारे टोली नेता घिमिरेले भने, ‘बीचमा लोप भएर फेरि भेटिएको होइन। वन्यजन्तु वनमै थिए। अनुसन्धानकर्मी नपुगेको मात्र हो। जेसुकै भए पनि यत्रो वर्षपछि  सो बिरालो भेटिनु खुसीको कुरा हो।’  

उनकै नेतृत्वमा पूर्वी नेपालमा गरिएको अध्ययनले १८३ वर्षपछि सुनौलो बिरालोसमेत भेटिएको थियो। उनले थपे, ‘सीमित श्रोत र भौगोलिक कारणले अनुसन्धान गाह्रो भए पनि यस्ता नतिजाहरुले सन्तुष्टि र थप काम गर्ने जाँगर चल्छ’। 

भिडियोमा हेर्नुस- सो समूहको नेपालमा अनुसन्धान गर्दाको कठिनयात्रा


अर्का अनुसन्धानकर्मी कौशल यादवले भने, ‘चार वटा क्यामेरा शिकारीले चोरेर  तनाव भएको बेला यो तस्विरले खुसी बनायो। यसकोथप अध्ययन र संरक्षणमा ढिलो गर्नु हुँदैन।‘

सिलु बिरालोको लागि पहाडदेखि तराईसम्मको भूभाग उपयुक्त बासस्थान मानिन्छ। पुराना अनुसन्धान प्रतिवेदनहरुले समुन्द्र सतहबाट  २ हजार मिटरसम्मको क्षेत्रलाई बासस्थान माने पनि अहिले भने २ हजार ७ सय मिटरसम्म भेटिएको थियो। भारतको सिक्किम क्षेत्रमा भने  ४ हजार २ सय मिटरको उचाइसम्म भेटिएको छ। यिनीहरुले  खस्रु,गुराँसका वनहरू रुचाउने  गर्छन्। छेपारो, सर्प, किरा, फट्यांग्रा, चरा, मुसा लगाएत साना स्तनधारी यिनको आहाराहरु हुन्।   

विश्वमा यो प्रजाति त्यति दुर्लभ भने होइन। नेपालमा यिनको सङ्ख्या १०० भन्दा कम रहेको अनुमान गरिएको छ। त्यसैले  नेपाल सरकारले यो प्रजातिलाई संकटापन्न प्रजाति मानेको छ। नेपालमा बासस्थान विनाश र चोरी शिकारी यिनका लागि चुनौति मानिएको छ । 

सिलु बिरालोबारे अन्य  जानकारी 

-यिनीहरु रुखमा चढेर पनि सजिलै शिकार गर्न सक्छन्।
-यिनीहरु एक्लै र राति सक्रिय हुन्छन्।
-यिनीहरुको तौल ६००-१२०० ग्रामसिम्म  हुन्छ।
-नेपालबाहेक भारत, चीन, भुटान, म्यानमार, भियतनाम , थाइल्याण्ड, लाओसमा समेत अभिलेख छन्। 
-यिनीहरु रुखको टोडको तथा भूइँमा रहेका प्वालहरुमा बस्छन्। 
-यिनीहरुले सिनो समेत खाने गर्छन्। 
- वर्षमा २ पटकसम्म बच्चाहरु हुर्काउने गर्छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell