PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बर्डफ्लुबाट क्षति बेहोरेका चितवनका किसानले ७० प्रतिशत थप राहत पाउने



रासस

बर्डफ्लुबाट क्षति बेहोरेका चितवनका किसानले ७० प्रतिशत थप राहत पाउने

चितवन : बर्डफ्लुबाट कुखुरा नष्ट भएका चितवनका किसानका लागि ७० प्रतिशत थप राहत रकम आएको छ। 

जिल्ला पशुसेवा कार्यालय चितवनकाअनुसार यहाँका १५ जना कुखुरा व्यवसायीका लागि राहत आइपुगेको हो। कार्यालयका प्रमुख डा. डिल्लीराम सेढाईंले राहत रकम आइपुगेको जानकारी दिए । उनले  आवश्यक कागजात र प्रमाण सङ्कलन गरेपछि उनीहरुको खातामा रकम पठाइदिने बताए।

उनका अनुसार यस वर्ष १५ जना किसानका लागि ७८ लाख ९० हजार रुपैयाँ आएको छ। क्षति पुगेका किसानले विगतमा सरकारले उपलब्ध गराएको राहत रकमको ७० प्रतिशत रकम पाउने सेढाईंले बताए।

२०७० सालमा चितवनमा विभिन्न १५ वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको थियो। ती फार्मबाट सरकारी निकायले मात्रै ७१ हजार ६८० कुखुरा नष्ट गरेको थियो। 

यस्तै, तीन लाख २५ हजार अण्डा र १५ टन दाना नष्ट गरिएको थियो। सो समयमा पीडित व्यवसायीलाई एक करोड २४ लाख राहत वितरण गरिएको तत्कालीन पशुसेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्की बताउँछन्। 

त्यसबेला आशा पोल्ट्री फर्म भरतपुरका सबैभन्दा धेरै कुखुरा नष्ट गरिएको थियो । उक्त फार्मले सुरुमा ३४ लाख ४८ हजार २५० राहत रकम पाएको थियो।

अहिले पहिले प्रदान गरिएको राहतको ७० प्रतिशत रकम सरकारबाट थप आएकाले अब उक्त फार्मले २४ लाख १३ हजार ७७७ पाउने पशुसेवा कार्यालय चितवनले जनाएको छ। 

यस्तै, मेघा ग्रुप अफ पोल्ट्री फार्मले १६ लाख पाउने भएको छ भने अन्य कुखुरा व्यवसायीको सात लाखभन्दा तल राहत रकम आएको छ।

अहिले पीडित व्यवसायीबाट आवश्यक प्रमाणसहित निवेदन आउने क्रम जारी रहेको र प्रमाण पुगेपछि रकम पठाइने कार्यालयले जनाएको छ।

निवेदन दिन भरतपुर आएका पश्चिम चितवन मङ्गलपुरका निशाल पोल्ट्रीका सञ्चालक राजेन्द्र हमालले अझै राहत रकम नगन्य भएको बताए। 

त्यसबेला हमालका सात हजार कुखुरा नष्ट गरिएको थियो। सरकारी तवरमा जम्मा तीन हजार २०० मात्रै कुखुरा नष्ट भएकाले अरु बाँकी मरेका कुखुरा पूरै घाटा लागेको उनी बताउँछन्।

 उनीसँगै न्यू एसएस पोल्ट्रीका कृष्ण पाण्डेको पनि आजै पशुसेवा कार्यालयमा निवेदन आएको छ। एक हजार ४०० कुखुरा नष्ट गरिएको उनले   एक लाख २९ हजार रुपैयाँ राहत पाउँदैछन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell