PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पोखराको रुपा गाउँपालिकाको बजेट २७ करोड



रासस

पोखराको रुपा गाउँपालिकाको बजेट २७ करोड

पोखरा: रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २७ करोड ३५ लाख ७६ हजार बजेट विनियोजन गरेको छ।

गाउँपालिकाद्वारा मङ्गलबार आयोजित प्रथम गाउँ सभामा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका प्रमुख नवराज ओझाले गाउँपालिकाको आर्थिक विकास सामाजिक क्षेत्र, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका क्षेत्रमा उक्त बजेट विनियोजन गरिएको बताए।

गाउँ सभाको उद्घाटन गर्दै व्यवस्थापिका–संसद् विकास समितिका सभापति रबीन्द्र अधिकारीले अबको राजनीति विकास र समृद्धिका साथै सामाजिक रुपान्तरणका क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउँदै पूर्वाधार विकाससँगै समग्र विकासका योजना साकार बन्ने बताए।

प्राकृतिक रुपमा उपलव्ध साधनस्रोतलाई पर्यटन लगायतका विविध पक्षसँग जोड्दै रुपा गाउँपालिकालाई समृद्ध बनाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवम् सरोकारवाला सबैको एकीकृत प्रयास आवश्यक हुनेमा उनले जोड दिए।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मला सुवेदीले गाउँमा नै स्वरोजगार सिर्जना गरी बढ्दो युवा पलायन रोक्नुपर्ने बताइन्। एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङले कृषि र पर्यटनलाई जोड दिँदै यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न सके आर्थिक समृद्धि र विकासमा अघि बढ्न सकिने बताए।

नेपाली काँग्रेस जिल्ला सदस्य नारायणकुमार श्रेष्ठले विकासमा राजनीति गर्न नहुने बताउँदै विकासका लागि सबै दल सकारात्मक सोचका साथ सहकार्य गर्नुपर्ने धारणा राखे।

गाउँ सभाले गाउँपालिकाभित्र सडक योजनालाई पाँचवर्षे योजनाका साथ अघि बढाउने व्यावसायिक कृषिको विकास गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य, वन वातावरण, जलाधार संरक्षण लगायतका कार्यक्रम सार्वजनिक गरेको छ।

कार्यक्रममा गाउँपालिकाका उपप्रमुख लालसुब्बा गुरुङ, कार्यकारी अधिकृत भेषराज आचार्य लगायतले गाउँपालिकाका सम्भावनालाई उजागर गर्दै विकासका मार्गमा उन्मुख गराउनुपर्नेमा जोड दिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell