PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किचलोको चेपमा परेको कांग्रेसको विराटनगर जितको अन्तर्कथा



पहिलोपोस्ट

किचलोको चेपमा परेको कांग्रेसको विराटनगर जितको अन्तर्कथा

काठमाडौं : पहिलो चरणको निर्वाचनमा काठमाडौं र पोखरामा जस्ता शक्तिशाली दुई महानगरपालिकामा नराम्ररी पराजयको पीडा बेहोरेको सत्तासीन मुख्य घटक नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनको एकमात्र महानगरपालिका विराटनगरको जितले थोरै भए पनि राहत मिलेको छ। दुई ठूला महानगरको हारका कारण पनि विराटनगरको चुनावलाई कांग्रेसले प्रतिष्ठाको विषय बनाएको थियो।
 
बीपी र गिरिजाप्रसादको गृहनगर विराटनगर नेपाली कांग्रेसको आधारभूमि पनि हो। आफ्नो पक्षमा व्यापक जनमत भएर पनि यस पटकको स्थानीय चुनाव कांग्रेसका लागि त्यति ढुक्क हुन सकेको थिएन। अन्तर्कलहले गाँजेका कारण उम्मेदवार छनौटमा सुरुदेखि नै विवाद रह्यो। कोइराला परिवारको उत्तराधिकारीका रुपमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र महेश आचार्य भूमिका एकातिर थियो भने स्थानीय राजनीतिमा युवा पुस्ताका अमृत अर्याल आशावादी नेताका रुपमा आमनेसामने देखिए। जसका कारण कांग्रेस विरुद्धको सम्भावित मोर्चाबन्दीलाई ध्यानमा राखेर पहिलो चरणको चुनावका क्रममा विराटनगरको मेयरमा उनै अर्याल निर्विकल्प उम्मेद्वारका रुपमा अघि सारिने चर्चा थियो। तर, कोइराला परिवारका लागि अमृतको उम्मेद्वारी स्वीकार्य भएन। केन्द्रीय सदस्यद्वय शेखर र महेशले सभापति शेरबहादुर देउवालाई भेटेरै भीम पराजुली बाहेक अरुलाई स्वीकार्य नहुने अडान राखे। 

अर्याललाई ‘ग्रिन सिग्नल’ दिएका सभापति देउवाले निर्णय सच्याउँदै अन्ततः भीमको नाममा सहमति जनाए। कोइराला र आचार्यले भीमको नाममा सहमत गराए भने उपमेयरमा इन्दिरा कार्कीको नाम अघि बढ्यो। मधेसी समुदायको बाहुल्य भएको जिल्लामा मेयर र उपमेयर दुवैमा पहाडे अनुहार अघि सारेपछि कोइराला र आचार्यमाथि कांग्रेसी नै आक्रमक बने। मारवाडी समुदायको बलियो उपस्थिति रहेको विराटगरमा टिकट वितरणमा यसको ख्याल गरिएन। मेयर र उपमेयर त टाढाको विषय वडा अध्यक्षमा समेत विभेद भयो भन्ने गुनासो सबैभन्दा बढी रह्यो।  

चुनावको मुखैमा त्यसले उब्जाएको आक्रोश अनुसार कतिपय वडामा विद्रोही उम्मेद्वार उठाएर कांग्रेसीले विरोध जनाए। ५ नम्बर वडामा कांग्रेसको हार यसैको कारण बन्यो जहाँ महेश आचार्य पक्षका उम्मेदवार थिए।
 
कांग्रेस विरुद्धको मोर्चाबन्दी गरेका दलहरु चुनावमा एकढिक्का भएर जनताका घरदैलो जाँदा कांग्रेसजन जित सुनिश्चित भन्न सक्ने अवस्थामा थिएनन्।

विराटगरको चुनावी माहोल नजिकबाट नियालिरहेका बरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तिम घडीमा पूर्वमा पार्टीको साख जोगाउन विमलेन्द्र निधिलाई मोरङको चुनावी कमाण्डर बनाउने निर्णय गरे। 

पार्टीको निर्देशन बमोजिम असार ९ गतेमात्रै विराटनगर विमानस्थल उत्रिँदा उनको स्वागतमा आएका कार्यकर्ता हतास देखिएका थिए। मेयरका उम्मेद्वार भीम पराजुली साहराबिहीन जस्तै देखिए। नेता निधि एयरपोर्टबाट सिधै महेश आचार्य र मीनेन्द्र रिजालको चुनावी क्षेत्र मोरङ–५ को ग्रामथान गाउँपालिकाको लखनतरी पुगेर आयोजित चुनाबी सभालाई सम्बोधन गरे। त्यसक्रममा उनले टिकट वितरणमा भएका असन्तुष्टि थाँती राखेर कांग्रेसको आधारभूमि मोरङमा कांग्रेसका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे।  

भोलिपल्ट असार १० गते बिहानैदेखि निधि मोरङ कांग्रेसका सभापति डीकबहादुर लिम्बू, नेता अमृत अर्याल र मेयरका उम्मेद्वार भीम पराजुली एक भएर घरदैलोमा सक्रिय भएपछि परिस्थिति केही फरक देखियो। चुनावी सभा र मारबाडी सुमदायको घरघरमा पुगेर कांग्रेसका पक्षमा जनमत बलियो बनाउन सफल रहे। 

मारबाडी समुदायका अगुवासँग निधिसहितको टीमले अन्तिम समयमा कडा मेहनत गर्योा। टिकट वितरणमा भएको कमजोरी स्वीकार्दै आगामी दिनमा यस्तो हुन नदिने प्रतिवद्धता जाहेर गरेपछि माहोल सहजतातिर धकेलियो। 

मौन अवधि सुरु भएपछि कांग्रेसभित्र गुम्सिएको अन्तर्द्वन्द्वलाई मेटाउने प्रयास सुरु भयो। विराटनगरका मारवाडी समुदायका घर घरमा भेला गराएर कांग्रेस नेताहरुले उनीहरुको कुरा सुने। उनीहरुको एउटै गुनासो थियो - विराटनगरमा कांग्रेसले आफूहरुलाई बेवास्ता गर्यो।
असार १२ गते बिहान पार्टी कार्यालयमा केन्द्रीय देखि स्थानीय तहका नेताहरुलाई एकै ठाउँमा राखेर नेता विराटनगरको चुनाब सिंगो पार्टीको प्रतिष्ठासँग जोडिएकोले आपसी मतभेद छाड्न निधिले आग्रह गरे। 

एक सातासम्म विराटनगर बसेका निधिसँगै अभियानमा जिल्ला पार्टी सभापति डिकबहादुर लिम्बू, अमृत अर्याल, मिनेन्द्र रिजाल र डिला संग्रैलासम्म सक्रिय रहे।     

कांग्रेसको किल्ला ठानिएको विराटनगरबाट हराउन देशभरि फरक सन्देश जाने ठानेर कांग्रेसका बिरुद्ध मोर्चाबन्दी भएका थिए। मधेशी जनताप्रति सधैं आक्रामक हुने एमालेले कांग्रेस उम्मेद्वार हराउनका उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरमसँग तालमेल गरेको थियो भने माओवादी केन्द्र र फोरम लोकतान्त्रिकबीच अर्को तालमेल थियो। कांग्रेस हराउने मुख्य उद्देश्यका साथ गरिएको तालमेल अन्ततः अन्तिम समयमा भएका सक्रियताले विफल भयो। विराटनगर महानगरको प्रमुख र उपप्रमुखसहित ७ वटा वडाध्यक्षमा कांग्रेस उम्मेद्वार विजयी भए। 
कांग्रेसका भीम पराजुलीले ५ हजार ७ सय १० मतले एमालेका विनोद ढकाललाई पराजित गरे। पराजुलीले २३ हजार ३१ र ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरे। उपप्रमुखमा काग्रेसकै इन्दिरा कार्कीले २० हजार १ सय ४६ मत प्राप्त गरी विजय हासिल गरिन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell