PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सेलिब्रिटी म्यादी प्रहरी पूजन जसले आफ्नो तलब प्रहरी कोषमा बुझाए



सविन ढकाल

सेलिब्रिटी म्यादी प्रहरी पूजन जसले आफ्नो तलब प्रहरी कोषमा बुझाए

काठमाडौः स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका ७५ हजार म्यादी प्रहरीमध्येका एक थिए १९ वर्षीय पूजन बराल। हजारौँ म्यादी प्रहरीमध्ये उनी आकर्षणको केन्द्र बने। 

पूर्वआईजीपी, पूर्वसांसद तथा पूर्वराजदूत हजुरबुबा खड्गजित बरालका नाति, डा. रञ्जित बराल र आमा प्रा.डा. ज्योति बरालका छोरा थिए पूजन। पूर्व आइजीका नाति म्यादी प्रहरी! यही पैतृक पहिचानले उनलाई सेलिब्रिटी बनाएको थियो। 

उनी भने आफ्नो छुट्टै पहिचानको खोजीमा थिए। केही गर्छु, सिक्छु अनि अनुभव लिन्छु भन्ने उनलाई लागि नै रहन्थ्यो ।  उनलाई सँधै हजुरबाले भन्ने गर्थे, 'नेपाल आमालाई चिन्नु है बाबु।‘ 

हजुरबाले के भनेको होला, कसरी चिन्ने होला नेपाल आमालाई- उनी सँधै सोच्ने गर्थे। तर अहिले उनी भन्छन्- ‘नेपाल आमालाई चिन्ने अवसर पाएँ।‘

म्यादी प्रहरीको रुपमा स्थानीय चुनावको सुरक्षामा खटिने क्रममा उनले नेपाल आमालाई चिनेको बताए। 

पूजन भन्छन्, 'काम कुनै ठूलो सानो हुँदैन। मेहनत गर्नुपर्छ भनेर नै म्यादी प्रहरीमा भर्ना भएको हुँ।' काम गर्न केही गाह्रो भएपनि रमाइलो र निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरेको उनले बताए। 

हजुरबा पूर्वप्रहरी भएकाले पनि उनले प्रहरीलाई पहिलेदेखिनै नजिकबाट बुझ्ने अवसर पाएकै थिए। तर ग्रासरुटका प्रहरीलाई बुझ्न भने म्यादी प्रहरीमा हुँदा पाएको उनले अनुभव सुनाए।

‘प्रहरीमा दुःख हुँदो रहेछ। घामपानी, भोकतिर्खा केही भन्न पाइँदो रहेनछ,' उनले भने। 

करिब ९० दिन खटिँदा केही दिन सुत्न नपाएको र राति अबेरसम्म डियुटी गर्नु परेको उनले सुनाए। 

वैशाख ३० गते उनी लगायतका सुरक्षाकर्मी शंखपार्कमा राति १० बजे सुतिरहेको थिए। अचानक सुकेधारामा बम राखेको खबर आयो। अनि हतारहतार डुयुटीमा जानु पर्‍यो। रातभर खटिए। 

घरपरिवारले सँधै आफूलाई काम गर्न प्रेरित गरेको उनले बताए। दुःखकष्ट गरेर उनले ९० दिन राष्ट्रसेवाको नाममा काम गरे। 

सरकारले अरु म्यादी प्रहरीलाई जस्तै उनलाई पारिश्रमिक र भत्तावापत  ७८ हजार ८ सय ६३ रुपैयाँ दियो। पूजनको जीवनमा यो पहिलो आफ्नो मेहनतको आम्दानी थियो। तर यो रकम उनले आफ्नो लागि प्रयोग गरेनन्।
 
सोमबार प्रहरी प्रधान कार्यलय नक्साल पुगेर यो रकम उनले प्रहरी कल्याण कोषमा जम्मा गराए। पूजन भन्छन्, 'कोषमा रकम जम्मा गराउन पाउँदा एकदमै खुसी लागेको छ। आफ्नो मेहनत अरुको लागी होस् भन्ने हो।' 

सेन्ट जेभियर्स कलेजबाट भर्खरमात्रै ‘प्लस टू’ सकेका पूजन अध्ययनको लागि मंगलबार भारत जाँदैछन्।  

म्यादी प्रहरीको अनुभव त बटुलियो। भविष्यमा प्रहरी बन्ने हैन त?

पूजन भन्छन्, ‘पढाइ सकेर मन लाग्यो भने प्रहरी संगठनमा लागेर जनतालाई सुरक्षा प्रदान गर्नेछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell