PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गुरुपूर्णिमा (कविता) : गुरुका आज्ञाकारी विद्यार्थी



आकाश क्षेत्री

गुरुको आज्ञामा रमेशले तिखार्दै ल्याएको लठ्ठीले

सन्तोषको पिठ्ठ्युँमा लहरे सुम्ला उठायो,

 

छुट्टी हुँदा सन्तोषले रमेशलार्इ च्याप्प अङ्गालो हालेझैँ

दुर्इ हातले छाती र घाँटीमा छड्के तरिकाले कस्यो

रमेशले सन्तोषको खुट्टामा आफ्नो खुट्टाले कैँची मार्‍यो,

 

कक्षामा राती देखेको सपनाको वर्णन गरिरहँदा

राजुको टाउकोमा गुरुको चक बजारियो

हरि पनि डस्टरले टाउकोमा बनाएको टुटुल्को छाम्दै

किताबमा घोप्टीयो,

 

गुरुले बटारेका राता कानलार्इ काँधले छुँदै गर्दा

समिरका आँसुले किताब भिजायो,

छेवैमा बसेको आकाशले टाउको होर्इन

आँखा मात्र उठाएर गुरुलार्इ हेर्‍यो,

 

कालो पार्इन्टमा कालो पेटीले

सेतो सट च्यापेका गुरुको आवाज

बाघको भन्दा ठूलो त थिएन

तर, त्यही आवजले मुटु थर्कमान भयो

र, गुरु हाँस्दा पनि मन डरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell