- रामहरी तिम्सिना
भर्खरै मनसुन लागेको छ, बिहान बेलुका मुसलधारे पानी अनि दिउँसो टाउको नै फुट्ला जस्तो टनटलापुर घाम त्यसै माथि काठमान्डौ को सडक, गल्ली पानी पर्दा हिलो अनि घाम लाग्दा धुलो, २-४ घण्टा बाहिर निस्केसि रुघा खोकि अनि भाइरल ज्वारोले समाति हाल्ने।
तै पनि सबैलाई आ-आफ्नो रोजि रोटिको व्यबस्था त गर्नै पर्ने, बिहान बेलुकाको चुलो बल्नै पर्यो।
विचरा !
सहरको गल्लिमा हिड्ने कुकुरको जति पनि भ्यालु छैन मान्छेको यो राजधानी काठमाडौंमा।
बिहान चिट्टिक्क परेर घरबाट निस्कन्छन त बेलुका रुजेको बिरालो जस्तो भएर घर फर्कन्छन।
आज बिहीबार बिहानैदेखि आकाश सफा देखिएको छ। घाम चर्को लागेको छ। म हातमा गिफ्टको झोला लिएर बागबजारको सडक पेटिमा उभिएको छु कसैको प्रतिक्षामा।
थाहा छैन मलाई कुन तत्वले आकर्षण गरेको छ, बिहानै देखि यस सडक पेटीमा उभ्याउन बाध्य बनाएको छ, कुनै सेक्युरीटी फोर्सको सेक्युरिटी गार्ड जस्तै एक तमामले उभिएको छु। उनी आउने बाटो तिरै गएको छ मन, ध्यान अनि आँखा एक नासले।
भोलि उनको जन्म दिन, भोलि हाम्रो भेट नहुने हुनाले आजै भेट्ने योजना बनाएका थियौं। हाम्रो योजना अनुसार हामी बिहान १० बजे बागबजारमा भेट्ने थियो तर म १० बजे अगाडि नै त्यहाँ पुगेको थिएँ त्यसैले मलाई कुर्नु पर्ने भयो। मलाई मान्छे कुर्न भने पछि धेरै रिस उठथ्यो तर आज परिस्थिती भिन्न छ। आज मलाई रिस उठेको छैन, म एकदमै उत्साहित छु किनकी मैले उनलाई भेट्नु छ जो मेरो मनमा बसेकी छिन र भोलीको साटो आजै जन्म दिनको शुभ-कामना दिनु छ अनि सबैले भन्दा पहिले उपहार दिनु छ जुन उपहार उनको सबभन्दा स्पेसियल होस भन्ने सोचेको छु।
भोलि उनको जन्म दिन उनको घरमा मनाउँदै गर्दा उनलाई मेरो याद आओस र सबको भन्दा भिन्न उपहार मेरो लागोस। उनको मन, ध्यान अरुको उपहारमा नजाउन्, सबैको भन्दा उत्कृष्ट मेरो उपहार होस अनि कल गरेर फेरि भनुन धन्यवाद! सबैको भन्दा उत्कृष्ट उपहारको लागी।
हाम्रो भेट ३ बर्ष अगाडि भएको थियो फेसबुकमार्फत, मैले उनलाई फेसबुकमा एड गरेको थिएँ र उनले पनि मलाई तत्कालै एसेप्ट गरेकी थिईन्। हामी छिट्टै एकदम घनिष्ट साथी भएका थियौं। हामी फेसबुकमा घण्टौसम्म गफिन्थौं, कल गर्थ्यौँ। हामीले हाम्रो मोबाइल नम्बर पनि साटि सकेका थियौं। हामी मेसेजमा, कलमा धेरै कुराहरु साटासाट गर्थ्यौँ।
यसरी नै दिनहरु बित्दै गए। दिन, हप्ता, महिना अनि वर्ष, यसरी नै बित्दै गए हाम्रो कुराकानी अनि समय।
३ वर्षको बीचमा हामी मुस्किलैले ३-४ पटक भेट्यौं होला काम विशेषले तर अनौपचारिक रुपमा हाम्रो देखभेट भैरन्थ्यो बेला बखत किनकी हामी एउटै कलेजमा पढथ्यौँ। उनी म भन्दा जुनियर थिईन् तर पनि देखभेट भैरहन्थ्यो।
जति हामी फेसबुकमा, कलमा गफ गर्थ्यौँ। भेटमा खासै नजिक भएर कुरा गर्दैन थियौं।
तीन बर्षको अन्तरालमा यो मेरो दोस्रो उपहार थियो उनको जन्म दिनको। लास्ट इएर पनि हामी कलेज टाइम पछि भेटेका थियौं तर उनको जन्मदिन भन्दा धेरै पछि, किनकी हामी दुबैलाई उपयुक्त समय मिलेको थिएन। त्यो दिन पनि मैले आजको जस्तै उपहार बोकेर गएको थिएँ।
हामी कलेजबाट न्युरोड गएका थियौं। हामी न्युरोडको एउटा क्याफेमा बसेर धेरैबेर गफ गरेका थियौं। छुट्टिने बेलामा मैले झोलाबाट उनको लागि लगेको उपहार झिकेर दिँदै ढिलै भए पनि जन्मदिनको तपाईलाई धेरै धेरै शुभ-कामना भूमिका जी! भनेको थिएँ।
उनी निकै खुशी देखिन्थिन्।
त्यस दिन उनको अनुहारमा खुशीका रङ्ग प्रष्ट देखिएको थियो तर उनको मन कति को खुशी थियो मलाई थाहा थिएन।
आजसम्म भनेकी छैन उनी कति खुशी छिन् भनेर तर म पनि निकै खुशी थिएँ किनकी मन परेको साथीलाई उपहार दिएको थिएँ।
जब उपहार दिएँ, धन्यवाद! तपाईको उपहारको लागि भनिन्।
अनि उनी र म छुट्टियौं।
त्यसपछि हाम्रो भेट भएको छैन एक बर्ष सम्म। अनलाईनमा कुरा हुन्छ कहिले काहिँ अनि कल गर्छौं कहिले काहिँ बस यति नै हो। १ बर्षको अन्तराल पछिको भेट मनमा उत्साह त हुने नै भयो।
रातभरि पनि राम्रोसँग सुतेको थिईन, कहिले उज्यालो हुन्छ भनेर छिनछिनमा मोबाईलमा टाईम हेरेको हेरै गरेर रात कटाएँ।
मनमा अनेकौ कुरा खेलाउँदा खेलाउँदै म त कहाँ पुगेछु। यसो घडी हेरेको त १० होइन ११ नै बजिसकेछ तर उनी आइनन्। न कल न मेसेज उनी आउने अत्तो पत्तो केहि थिएन, मेरो उत्साहित मन अनि खुशी अनुहार सबै एक्कासी मुसलधारे पानी पर्न लागेको बेलाको आकाश जस्तो हुँदै गयो। मनमा डर र त्रास बढ्दै गयो। मैले खल्ति बाट मोबाइल निकालेँ र कल गर्न लागेँ। उनको नाम कल हिस्ट्रीमा सबैभन्दा अगाडि नै थियो किनकी मैले हिजो बेलुका अन्तिम कल उनलाई नै गरेको थिएँ।
भुमिका शर्मा !
जस्को प्रतिक्षामा आज म बिहानै देखि यो सडक पेटीमा २ घण्टादेखि लगातार उभिरहेको छु।
मैले उनलाई कल गरेँ तर उनको मोबाइल अफ थियो।
म छाँगाबाट खसे जस्तो भएँ। मलाई रिङगटा लागे जस्तो भयो। मैले सबै तिर मधुरो देख्न थालेँ।
अनि त्यहि सडकको पेटीमा टुसुक्क बसेँ।
म सपनीबाट ब्युँजेको जस्तो झल्याँस भएँ। चारैतिर आँखा डुलाएँ। दायाँ बायाँ थुप्रै बिरामी अनि बिरामी कुरुवाहरु देखेँ। म यहाँ कसरी आई पुगेँ अचम्म मान्दै नजिकैको एक जना दाइलाई सोधेँ।
दाइ यो कुन हस्पिटल हो? म यहाँ कसरी आई पुगेँ?
उनले भने- यो गङ्गालाल मुटु हस्पिटल, बाँसबारी हो भाई तर तिमी कसरी आयौ मलाई थाहा छैन। हिजोदेखि यो बेडमा छौ।
कहाँ हुन्छ हिजोदेखि म अघि सम्म बागबजारमा साथी कुरिरहेको थिएँ। झुट नबोल्नुन दाइ।
हो तपाई हिजोदेखि यही बेडमा हुनुहुन्छ।
म झनै आश्चर्य मा परेँ। म कसरी यहाँ आई पुगेँ मलाई नै थाहा छैन।
एक छिन पछि एक जना नर्स र एक जना डक्टर म भएको ठाउँमा आए र सोधे-
कस्तो छ तपाईलाई?
मैले भनेँ- म ठिक छु। म कसरी यहाँ आई पुगेँ? किन मलाई यहाँ ल्याएको? कसले ल्याएको?
मेरो प्रश्न एक्कासी बर्सियो।
तपाई बेहोस हुनुहुन्थ्यो यहाँ आउँदा, तपाईँ लाई एक जना केटीले यहाँ ल्याएकी थिईन।
अनि उनी खै त? मैले उनलाई भेट्नु छ,छिटो बोलाई दिनुन।
डक्टरले भने- उनी अहिले यहाँ छैनन्, हिजै तपाईलाई यहाँ भर्ना गराएर गईन्। उनी को हुन हामी लाई थाहा छैन।
अहिले तपाईको आफन्तहरु आईसक्नु भएकोछ। तपाई यस बेडमा हिजो बिहानदेखि भर्ना हुनुभएको हो। तपाईको होस भर्खर आएको हो। तपाई धेरै कमजोर हुनु भएकोछ। तपाईलाई हृदयघात भएको थियो। धेरै तनाव नलिनु होला। अहिले सबै कुराहरु नर्मल छ। सबै ठिक हुन्छ। अब तपाईको होस आईसकेको छ। हामी तपाईको लागि केहि औषधीहरु लेखिदिन्छौ, त्यसलाई निरन्तर सेवन गर्नु होला।
आजै बेलुकासम्म तपाई डिस्चार्ज हुनुहुन्छ। आफ्नो ख्याल राख्नुहोला।
डक्टरले आफ्नो डिउटी पुरा गरेर गयो। मलाई भने मनमा खुल्दुली हुन थाल्यो, को हो त्यो केटी जस्ले मलाई यहाँ भर्ना गराएर गई।
अनि मैले उनको लागी लगेको उपहारको झोला खोजे तर कतै पनि देखिन।
एक छिन पछि मेरो बाबा, आमा, आफन्तहरु सबैजना आउनुभयो। सबैको अनुहार दिनभरी काम गरेर थाकेको जस्तो देखिन्थ्यो सायद मेरो चिन्ताले गर्दा होला तर अहिले सबै जना खुशी हुनुहुन्छ। मेरो होश आइसकेको छ त्यसैले।
मेरो ध्यान भने मलाई हस्पिटल ल्याउने को होला भन्ने तिर जान थाल्यो।
मैले सबै जना लाई सोधेँ। सबैले थाहा छैन भने।
फेरि मैले म सँग एउटा झोला थियो खै भनेर सोधेँ, कसैले नि थाहा छैन भन्नुभयो। म झनै आश्चर्यमा परेँ।
हस्पिटल बाट कल गए पछि सब जना यहाँ आउनु भएको रे।
एक्कासी मेरो ध्यान फेरि भुमिका तिरै गयो, कतै मलाई हस्पिटल ल्याउने केटी उनी नै त होइनन्।
मैले मेरो मोबाइल खै भनेर सोधेँ।
मोबाइल बाबासँग रहेछ, छिटो छिटो फेरि भुमिकाको मेसेज आएको छ कि भनेर मेसेज बक्समा गएँ। मेसेज कसैको पनि आएको थिएन।
कल हिस्ट्रिमा गएँ। कल पनि आएको रहेनछ। २-४ जना साथीहरुको मिसकल मात्र देखेँ।
अनि छिटो-छिटो भुमिकालाई कल गरेँ तर मोबाइल अफ नै थियो।
फेरि मोबाइल डाटा अन गरेँ। अनि मेसेन्जर मा गएर हेरेँ, केहि पनि देखिन अनि टेक्स गर्न खोजेँ तर "दिस पर्सन इजन्ट एभाइलेबल राइट नाउ" भनेर देखायो। मलाई बल्क नै गरी सकेकी रहिछिन्।
मलाई फेरि तनाब हुन थाल्यो। मुटु कटक्क दुख्यो। श्वास फेरि छिटो-छिटो बढ्न थाल्यो। जसो तसो आफूलाई सम्हालेँ।
उनकै यादमा दिन बित्यो।
बेलुकी मलाई डिस्चार्ज गरी दियो। केही औषधि लेखेको पेपरको साथ। मनमा अनेक कुरा खेलाउँदै, मन भारी बनाउँदै घर पुगेँ।
सरा सर रुममा गएर बेडमा पल्टिएँ।
अनि मनमनै धेरै धेरै धन्यबाद दिएँ जस्ले मलाई हस्पिटल लगेर मेरो लाईफ बचाई। अनि याद आई रह्यो कस्ले मलाई हस्पिटल पुरायो अनि मैले लगेको उपहारको झोला कहाँ गयो।
पुनः नेट अन गरेर उनको फेसबुक वाल हेर्न खोजेँ। "सरी, सम थिङ्ग ओइन्ट रंग एण्ड उइ कुडन्ट लोड दि पेज" भनि रह्यो।
कल गरेँ, अहिलेसम्म अफ नै थियो।
मन मस्तिष्क सबै तिर उनकै तस्बिर झल्किरह्यो। उनको यादमा तड्पीरहेँ, उनकै कल, मेसेज आउँने प्रतिक्षामा। घरी घरी आँखा मोबाइलको स्क्रिनतिर गईरहन्थ्यो तर न उनको कल आयो न मेसेज नै।