PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​अनिल शाहलाई अभया सुब्बाको च्यालेन्ज



​अनिल शाहलाई अभया सुब्बाको च्यालेन्ज

पहिलोपोस्ट-
काठमाडौँ : अमेरिकाबाट लोकप्रिय भएर विश्वभर भाइरलका रुपमा फैलिएको ‘आइस बकेट च्यालेन्ज’ले नेपालीलाई पनि छोएको छ। बाल्टिनभरी बरफ-पानी राखेर टाउकोमा खन्याएर अरु थप मान्छेलाई च्यालेन्ज गरिने यो काम नेपालमा बाढीपीडितहरुको सहयोगका लागि थालिएको हो। पप गायिका अभया सुब्बाले यसै क्रममा आफ्नो टाउकोमाथि पानी खन्याउँदै बैँकर अनिलकेशरी शाह, माल्भिका सुब्बा, निमा रुम्बा, सबिन राई आदिलाई चुनौति दिएकी छिन्। चुनौति पाएका व्यक्तिहरुले साधारणतया २४ घण्टाभित्र आफूले पनि टाउकोमा बरफ खन्याउने वा केही रकम चन्दा दिने प्रचलन छ।
 

यसरी सुरु भएको थियो च्यालेन्ज

टाउकोमा बरफ-पानी खन्याएर अरुलाई चुनौति दिने यो काम खासमा amyotrophic lateral sclerosis नामको रोगबारे चेतना फैलाउन र यसबारे हुने अनुसन्धानका लागि चन्दा रकम जुटाउन आयोजना गरिएको हो। यसलाई त्यसैले एएलएस बकेट च्यालेन्ज पनि भन्ने गरिन्थ्यो।

सोसल मिडियामा भाइरल भएपछि यो सबतिर फैलिएको हो। विभिन्न देशमा भिन्दाभिन्दै कामका लागि यस्तो चुनौति आयोजना हुने गरेको छ। बेलायतमा मोटर न्युरोन डिजिज एसोसिएसनका लागि यस्तो चुनौतिमा मानिसहरु सहभागी भएका थिए।

गएको जुन ३० मा अमेरिकामा मर्निङ ड्राइभ कार्यक्रममा सेलिब्रिटीहरु उपस्थित भएर गरेको आइस बकेट च्यालेन्जपछि यसले अझ लोकप्रियता पाएको हो।

अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत यसमा चुनौति दिइएको भए पनि उनले १०० डलर चन्दा दिएर च्यालेन्ज अस्वीकार गरेका थिए। पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले पनि चुनौति स्वीकारेर बिल क्लिन्टनलाई मनोनीत गरेका थिए।

नेपाली संस्करण

आइस बकेट च्यालेन्जको नेपाली संस्करण कसरी भित्रियो त ? ‘एएलएस आइस बकेट च्यालेन्ज’ बाट नै हामी प्रभावित भएका हौँ’, आफूहरुको अभियानलाई कुनै एक जनालाई मात्र क्रेडिट नदिने सहमति भएको भन्दै बेलायतमा रहेका एक युवकले पहिलोपोस्टसित भने, ‘विश्वका विभिन्न भागमा रहेका नेपालीले संयुक्त रुपमा यसलाई सुरु गरेका हौँ।‘

नेपाली संस्करणको च्यालेन्जमा सहभागी हुने पहिलो सेलिब्रिटी भने पप गायिका अभया सुब्बा हुन्। उनले शुक्रबार टाउकोमा पानी खन्याएको भिडियो फेसबुकमार्फत् सार्वजनिक गर्दै अरु सेलिब्रिटीलाई चुनौती दिएकी हुन्।

अरु सेलिब्रिटीले भने यसबारे प्रतिक्रिया जनाएका छैनन्।

त्यसैगरी गायक सरुन ताम्राकारले पनि च्यालेन्ज स्वीकार गर्दै टाउकोमा बरफ-पानी खन्याएको भिडियो सार्वजनिक गरेका छन्।
 
द स्याडोज ब्यान्डका लिड गिटारिस्ट र कम्पोजर प्रकाश रसाइलीले पनि च्यालेन्ज स्वीकार्दै भिडियो पोस्ट गरेका छन्-
 

यस्तो छ नियम

नेपाली संस्करणका लागि यसको फेसबुकमा पेजमा आफ्नै नियम राखिएको छ। यो च्यालेन्ज स्वीकार गर्दै बरफ वा पानीमात्रै आफ्नो जिउमा खन्याएको भिडियो #icebucketchallengenepal वा #slv ह्यासट्यागमा अपलोड गर्न भनिएको छ।
चुनौति स्वीकार्न २४ घण्टाको समय दिइएको छ। चुनौति स्वीकारे सय रुपियाँ चन्दा दिनुपर्नेछ भने अस्वीकार गर्नेले १ हजार रुपियाँ।
 

कहाँ जान्छ चन्दा ?

चन्दा रकम कहाँ र कसरी जम्मा हुन्छ भन्ने बारे भने अहिले आफूहरु छलफलमै रहेको यो चुनौति कार्यक्रम सुरु गर्नेमध्येका एकले बताए।
‘रकम बाढीपीडितहरुको सहयोगका लागि जानेछ। कसरी संकलन गर्ने र पठाउने भन्नेबारे हामी छलफल गरिरहेका छौँ’, उनले भने।

च्यालेन्जको फेसबुक पेजमा लेखिएको छ-  ‘यो तपाईं हाम्रो इमान्दारीको कुरा हो। त्यसैले तपाईं हामी इमान्दर छौ भने कसैलाई धोका हुन्न। तपाईं आफ्नो ठाउँमा साथीभाइसँग मिलेर चन्दा जम्मा गर्नुस्, हामी आफ्नो ठाउँमा गर्छौ। अनि नेपालमा त्यो सहयोग कसरी पुर्‍याउने भनेर तपाईं हामी सबै छलफल गरौ।  सबैको सहमतिमा कुनै विश्वासिलो व्यक्ति या संस्थामार्फत् हामी पीडितहरुसम्म पूग्न सक्छौँ।‘ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell