PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

उद्योगी बगडिया बने रङ्गेलीको प्रमुख, उपप्रमुखमा विवाद भएपछि पुनः मतगणना



अनन्तराज न्यौपाने

उद्योगी बगडिया बने रङ्गेलीको प्रमुख, उपप्रमुखमा विवाद भएपछि पुनः मतगणना

विराटनगरः मारवाडी समुदायको औद्योगिक घरानाबाट मोरङको एक नगरपालिकामा नेतृत्व हुने भएको छ।  

मोरङको पुरानो सदरमुकाम रङ्गेलीको प्रमुख पदमा मारवाडी कुलमा जन्मिएका एवम् उद्योगी पृष्ठभूमिका दिलीप अग्रवाल बगडिया निर्वाचित भएका छन्।
बगडिया ८ हजार ८२ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मोदराज घिमिरेले ६ हजार २ सय ५० मत प्राप्त गरे। रङ्गेली नगरपालिकामा बगडिया माओवादी केन्द्रबाट प्रमुख पदमा आकांक्षी थिए।

मोरङका १७ स्थानीय तहमध्ये माओवादी केन्द्रले प्रमुख पदमा एकमात्र रङ्गेलीमा विजय हासिल गरेको हो।

बगडिया नेपालकै सबैभन्दा ठूला इँटा उद्योगी मानिन्छन्। उनको सञ्चालनमा मोरङ र सुनसरीमा गरी ‘आनन्द’ ब्रान्डका ११ वटा इँटा उद्योग छन्। उनी चर्चित ‘म्याजिक’ छाप जुत्ताचप्पल उद्योग र आनन्द कत्था इन्डस्ट्रिज नामको खयर उद्योगका सञ्चालकसमेत हुन्।

यसबाहेक उनले आनन्द स्न्याक्स एन्ड स्पाइसेज नामको फास्टफुड र मसला उद्योग पनि सञ्चालन गरिरहेका छन्।

मोरङको पुरानो सदरमुकाम भएपनि विकास निर्माणमा रङ्गेली पछि परेको उल्लेख गर्दै उनले आगामी ५ वर्षमा यसको कायापलट गर्ने प्रतिबद्धता प्रकट गरे।

‘यहाँ धेरै नेता आए र चुनाव लडेर गए’, उनले भने, ‘तर सबैले रङ्गेलीको शोषणमात्र गरे, केही दिएनन् । म रङ्गेलीको पुनर्निर्माण गर्ने सोचले आएको छु।’

के विवाद भयो  उपप्रमुखमा ?

रङ्गेलीको उपप्रमुख पदका लागि वडा नं. ६ को मतगणना दाहोर्याइएको छ। निर्वाचनमा खटिएका कर्मचारीले माओवादी केन्द्रका केशवकुमारी खराललाई वडा नं. ६ मा जबर्जस्ती जिताएको भन्दै काङ्ग्रेस कार्यकर्ताले पुनः मतगणना गर्न माग गरेका हुन्। काङ्ग्रेसको मागबमोजिम पुनः मतगगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका खरालको ५ हजार ७ सय २० र कांग्रेसकी राधादेवी मण्डलको ५ हजार ७ सय ८ मत छ ।
निर्वाचन कार्यालयको योगफललाई काङ्ग्रेस कार्यकर्ताले नमानेपछि पुनः मतगणना गरिएको हो।

रङ्गेलीका कुल ९ वडामध्ये काङ्ग्रेसले ३, माओवादी केन्द्रले ३, सङ्घीय समाजवादी फोरमले २ तथा एमालेले एउटा वडामा वडा अध्यक्ष जितेका छन्।

काङ्ग्रेसले वडा नं. २, ३ र ९, माओवादी केन्द्रले वडा नं. १, ५ र ७, संघीय समाजवादी फोरमले ४ र ६ तथा एमालेले वडा नं. ८ मा वडा अध्यक्ष जितेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell