PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विराटनगरमा मतगणना सकिन अझै पाँच दिन लाग्ने



अनन्तराज न्यौपाने

विराटनगरमा मतगणना सकिन अझै पाँच दिन लाग्ने

विराटनगरः विराटनगर महानगरपालिकाको मतगणना सकिन अझै कम्तीमा ५ दिन लाग्ने भएको छ।

मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले अहिलेकै गतिमा गणना गर्दा अझै कम्तीमा ५ दिन लाग्ने जानकारी दिएका हुन्। महानगरको मतगणना असार १५ गते बिहानदेखि सुरु गरिएको थियो।

विराटनगरका कुल १९ वडामा ८० हजार ४ सय ७७ मत खसेको छ। महानगरमा १ लाख १३ हजार मतदाता छन्। बिहीबार दिउँसोसम्ममा ४५ हजार मतगणना गरिएको छ।

मतगणना गर्न सिपालु भन्दै विराटनगरमा काठमाडौंबाट उपसचिव बिसकसेन ढकालको नेतृत्वमा ९ सदस्यीय टोली १९ गते बेलुका आएको छ। टोलीका अन्य ८ जनामा शाखा अधिकृतहरू महेश श्रेष्ठ, श्रीकुमार राई, राजेन्द्र पोखरेल, नम्रता चुडाल, देवी पाण्डे खत्री, देवीराम पाठक, दीपक पौडेल र लोकबहादुर राना छन्।

सिपालु मानिएका कर्मचारीको नेतृत्वमा १ स्थानमा ८ घण्टामा औसत ५ सय मतगणना भइरहेको छ।

राजनीतिक दलले समयमा प्रतिनिधि नपठाएका कारण र कहिले पानीले अवरोध गरेकाले गणना कार्यमा ढिलाइ हुने गरेको पोखरेलले बताए।

गणनास्थलमा खटिएका कर्मचारीले आफूलाई लामखुट्टेले पनि दुःख दिएको तर निर्वाचन आयोगको नियमअनुसार मच्छडधूप बाल्न नपाउँदा अझ कष्ट भएको गुनासो गरेका छन्।

अधिकृत पोखरेलका अनुसार हाल वडा नं. ६ र १४ को गणना १० स्थानमा भइरहेको छ। वडा नं. ६ को ६ को ६ र १४ को ४ स्थानमा गणना भइरहेको हो।

कुल ४ हजार १ सय १० मत खसेको वडा नं. १४ को आधा गणना भइसकेको छ भने ६ हजार ३ सय ७९ मतदान भएको वडा नं. ६ मा १५ प्रतिशत गणना भइसकेको छ।

विराटनगरमा हालसम्म १० वटा वडाको परिणाम प्राप्त भइसकेको छ। जसमा नेपाली काङ्ग्रेसले वडा नं. १, ३, ४ र १६ गरी ४ वडाका वडा अध्यक्षमा विजय हासिल गरेको छ।

त्यस्तै सङ्घीय समाजवादी फोरमले १५, १७ र १८ मा गरी ३ वडाका वडा अध्यक्ष जितेको छ। 

एमालेले वडा नं. २ र ५ मा तथा स्वतन्त्र हैसियतमा उठेका नेपाली काङ्ग्रेसका विद्रोहीले वडा नं. १९ मा वड आध्यक्षमा विजय हासिल गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell