PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चाहियो : विराटनगरमा मत गन्ने मान्छे, दिनमा ५ सय मत गने २३ सय रुपैयाँ भत्ता



सविन ढकाल

चाहियो : विराटनगरमा मत गन्ने मान्छे, दिनमा ५ सय मत गने २३ सय रुपैयाँ भत्ता
फाइल फोटो

काठमाडौँ : सोमबार दिउँसो काठमाडौँबाट आठ जना व्यक्ति विराटनगर विमानस्थलमा उत्रिए। उनीहरु सिधै पुगे आदर्श माध्यमिक विद्यालय जहाँ विराटनगर महानगरपालिकाको मतगणना भइरहेको थियो। 

निर्वाचन आयोगले निर्वाचन भएको साता दिनभित्र सबै स्थानीय तहको मतपरिणाम आइसक्ने दावी गरे पनि आज आठौँ दिन पनि मतगणना जारी छ। 

दोस्रो चरणमा निर्वाचन भएको एक मात्र महानगरपालिका विराटनगरमा मतगणना कछुवाको गतिमा छ। त्यसै त मतदान सकिएको २४ घण्टा पछि मात्र गणना सुरु भएको, त्यसमाथि सुस्त गति। 

आत्तिएको क्षेत्रीय निर्वाचन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै भन्यो- लौ न अनुभवी मतगन्न सक्नेहरु आइदिनुपर्‍यो। 

क्षेत्रीय निर्वाचन कार्यालयकै आग्रह अनुसार काठमाडौँमा मत गनिसकेका ती आठ जना अनुभवी गणकहरु सोमबार विराटनगर पुगेका हुन्। 

विराटनगर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले मतगणना सुस्त भएपछि अनुभवी ब्यक्तिको खोजी गरेको  बताए। 
'मतगणना एकदमै ढिलो भयो र अनुभवी मतगणकले गन्दा केही चाँडो हुने देखिन्छ,' उनले भने। 

काठमाडौँको टोली पुगेपछि मतगणना केही छिटो भएको उनले बताए। भन्छन्, 'उहाँहरु अनुभवी हुनहुन्छ र यहाँ खटिएका मतगणक पनि पाको हुँदै जानुभयो अब चाँडो होला।' 

८ घण्टामा ५ सय थान मत गन्नैपर्ने शर्त

मतगणनाको सुस्त गतिले दिक्क भएको क्षेत्रीय निर्वाचन कार्यालयले असार १७ गते नै सार्वजनिक सूचना जारी गरी एउटा लचिलो निर्णय गरेको थियो- मत गन्न जो आए पनि हुने। पत्र पनि नचाहिने। परिचयपत्र मात्र भए पुग्ने। एउटै शर्त- एक सिफ्ट अर्थात् ८ घण्टामा ५ सय थान मत गन्नै पर्ने। 
अदालत, सरकारी कार्यालयहरु, सरकारी स्वामित्वका संघसंस्थाहरु, बोर्ड र समितिहरुका कर्मचारीमात्र मान्य हुने पनि क्षेत्रीय निर्वाचन कार्यालयको अर्को शर्त थियो। 

गणनामा खटिनेले सरकारको नियमअनुसार १६ सय र थप ७ सय गरी २३ सय रुपैयाँ प्रतिदिन भत्ता पाउँछन्।

कार्यालयले सरकारी स्वामित्वका बैँकका कर्मचारीहरुको पनि निवेदनको आशा गरेको थियो। तर आर्थिक वर्षको अन्त्य हुन लागेकाले उनीहरुको आवेदन नपरेको पोखरेलले जानकारी दिए। ‘पैसा गनेको जस्तो मत गणना गर्न त सजिलो छैन तर पनि केहि छिटो होला भनेर आह्वान गरेका हौं’, उनले भने। 

विराटनगरको आदर्श माध्यमिक विद्यालय, शहिद रंगशालामा अहिले १० टोली बनाएर मतगणना भइरहेको छ। एउटा टोलीमा ६ जना खटिएका छन्। मंगलबार दिउँसोसम्म २२ हजार मतगणना भइसकेकाले अबको साता दिन भित्र मतगणना भइसक्ने उनले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell