PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

२० वर्षपछिको निर्वाचनमा २३ वर्षीया अस्मिताको सफल कमान्ड



सविन ढकाल

२० वर्षपछिको निर्वाचनमा २३ वर्षीया अस्मिताको सफल कमान्ड

काठमाडौ : अस्मिता ओझा २० वर्षअघि स्थानीय निकायको निर्वाचन हुँदा ३ वर्षकीमात्र थिइन्। यसपाला स्थानीय तहको निर्वाचन हुँदा उनको उमेर २३ वर्षको भयो। यतिखेर उनी निर्वाचनमा सक्रिय भइन् – मतदान अधिकृतका रुपमा। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उनी सम्भवत सबैभन्दा कम उमेरका मतदान अधिकृत हुन्। 

धनकुटा नगरपालिकाको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको 'क' मतदान केन्द्रमा कमान सम्हालेकी उनी निर्वाचन कुनै व्यवधानविना सम्पन्न गराउन सकेकोमा दङ्ग छिन्। कम उमेरमा परिपक्व हिसाबले निर्वाचन गराउन सकेकोमा उनको चर्चा पनि राम्रै चलेको छ।  

'एकदमै शान्तिपूर्ण र रमाइलो रुपमा निर्वाचन सम्पन हुँदा खुशी छु,' पहिलोपोस्टसँग उनले आफ्नो अनुभूति सेयर गरिन्। २० वर्षपछि स्थानीय तहमा निर्वाचन गराउन पाउनु उनका लागि जति अवसर थियो त्यति नै चुनौति पनि। तर, मतदानप्रति जनताको जागरुकतालाई उनलाई सघायो। भनिन्, '२० वर्षपछि स्थानीय तहको निर्वाचन भएकाले जनताको उत्साहजनक सहभागिता रह्यो। यसले मलाई निर्वाचन गराउन कुनै गाह्रो भएन।' 

काठमाडौंको नोबेल कलेजबाट स्नातक तह पास गरेपछि उनले केही समय सेभ द चिल्ड्रेनमा काम गरिन्। त्यत्तिकैमा उनी लोकसेवाको तयारी गरिरहेका थिइन्। अन्तत: उनले जनस्वास्थ्य अधिकृतमा नाम निकालिन्। गत माघ ५ गते उनी शाखा अधिकृतमा नियुक्ती बोकेर पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य  निर्देशनालय पुगिन्। 

सरकारी जागिरे भएको पाँच महिना नहुँदै उनलाई गहन जिम्मेवारी आइलाग्यो चुनावको। अहिलेसम्म एकपटक पनि मतदान नगरेकी अस्मितालाई कसरी निर्वाचन गराउने भन्ने थियो सुरुमा। 

'एक किसिमको उत्सुकता र चुनौती पनि थियो तर आयोगले तालिम दिएपछि र मतदान केन्द्रमा पुगेपछि छुट्टै हिम्मत आउँदो रहेछ,' उनले सुनाइन्। 

मतदान अधिकृत बनेकी उनले यसपाला पनि भोट हाल्न भने पाइनन्। तर, हजारौं जनताको मत खसाल्ने अधिकारको लागि वातावरण बनाउन सफल रहिन्। 

कम उमेरको भएकाले कुनै वाधा भएन? 

'यस्तो काम भनेको टिम वर्क हुँदोरहेछ सबैको साथ पाए सजिलै गर्न सकिने,' उनले भनिन्।

सुदूर पश्चिमको धनगढी स्थायी घर भएकी अस्मिता अहिले पूर्वको धनकुटामा छिन्। कम उमेरमा नै गहन जिम्मेवारी पूरा गराएकोमा घरपरिवार आफन्त, साथीभाइले शुभकामना दिइरहेका छन् उनलाई। 

निर्वाचनको क्रममा धेरै जिल्लामा झडप र विवादका घटनाहरु भए। कतै निर्वाचनमा धाँधली भएका खबर पनि आए। तर, उनको नेतृत्वमा निर्वाचन हुँदा त्यस्ता घटना भएनन्। अधिकृत ‌ओझा राजनीतिक दल र सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गरे निर्वाचनमा कुनै समस्या नै नहुने बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell