PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बम डिस्पोजर अर्थात् हवल्दार राना : यसरी बने सुरक्षाकर्मी सेलिब्रिटी



सविन ढकाल

बम डिस्पोजर अर्थात् हवल्दार राना : यसरी बने सुरक्षाकर्मी सेलिब्रिटी
फोटो : रासस

'तिमीले राम्रो काम गरेछौं खुशी लाग्यो। तिमीलाई पुरस्कृत गर्छु,' गृहमन्त्री जनार्दन शर्माले फोनबाटै भने, 'राम्रो काम यसरी नै गर्नु।'

प्रहरी संगठनभित्र राजनीति गरे नछाड्ने चेतावनी दिएर आक्रमक ढंगमा प्रस्तुत भएका गृहमन्त्री शर्माको स्यावासीसहितको फोन कल थियो हवल्दार दुर्गाबहादुर रानालाई। 

गृहमन्त्रीको कल रिसिभ गरेका राना वुधबार एकाएक चर्चित बने। हवल्दार पदमा रहेर निर्वाचनमा खटिँदा उनले पूरा गरेको ड्युटीले नै उनलाई चर्चितमात्र बनाएन विभागीय मन्त्रीको प्रसंसासमेत मिल्यो। 

'मन्त्रीज्युको फोन आयो,' दङ्ग परेका रानाले फोनबाटै सुनाए, 'एकदमै खुशी लाग्यो सर। तपाईँलाई धन्यवाद है।'

निर्वाचनको दिन प्रदेश नम्बर ५ को दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका संकटपूर्ण स्थितिबाट गुज्रिँदै थियो। मतदानका लागि उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको श्री माध्यामिक विद्यालयमा उत्साहजनक रुपमा मानिसहरु भोट हाल्न जम्मा भइरहेका थिए। त्यहीँ चुनाव भाड्न सक्रियहरु कुनै पनि समय ठूलो दुर्घटना गराउने दाउमा थिए। र, एकाएक प्रतापकोटमा रहेको यो स्कुलकै छेउ बम फ्याँकियो। फ्याँकिएको बम भूईमा झर्न नपाउँदै समात्न भ्याए सुरक्षामा खटिएका हवल्दार रानाले। प्रहरीले हानिएको बम समातेर खुला ठाउँमा फ्याँकेको खबर चुनावी रिपोर्टसँगै मिडियामा फैलिइहाल्यो। खबर फैलिँदा हिम्मतिला रानाले क्रेडिट पाएका थिएनन् – प्रहरीले सुरक्षामा देखाएको तदारुकताको तारिफ भइरहेको थियो।

स्वभाविक रुपमा पनि प्रहरीको भूमिका तारिफयोग्य थियो। यहीनेर ती प्रहरी को थिए भन्ने थाहा पाउने हुटहुटी चल्यो र सुरु भयो बलिउडको चर्चित फिल्म 'सिंगम'को हिरोले जस्तै ड्युटी निर्वाह गर्ने प्रहरीको खोजी। 

सुरक्षा बिटमा काम गरिरहेकाले मेरो बुझाईमा पछिल्लो समय प्रहरीको छवी धमिलिँदै गएको थियो। यतिखेर यस्तो बहादुरी देखाउने प्रहरी को होला?  

सम्पर्कका सुत्रहरु फेला पार्दै उनीसामु नपुगी रोकिन सकिएन। अन्तत: उक्त बुथमा कमाण्ड सम्हालिरहेका गोपाल शर्मासँग सम्पर्क भयो। उनीसँग छोटो कुरा भएपछि म हवल्दार राना उर्फ 'रियल सिंगम'सँग कुरा गर्न आतुर थिएँ। शर्माले सहजै बोलेको सुनेँ।

'ओइ राना यता आइज। पहिलोपोस्टबाट सविन सरले खोज्नुभएको छ।'

प्रहरीले निर्वाचन केन्द्रलाई भयरहित बनाइरहेको समाचार सार्वजनिक भइसकेको अवस्थामा पत्रकारबाट फोन आएकाले उनी उपस्थित भए। रानासँग कुराकानी भयो। उनीसँगैको कुराकानीमा आधारित भएर समाचार तयार पनि भयो 'सिङ्घम' बनेका हवल्दार भन्छन्- ‘जनताको रक्षा गर्नु नै मेरो धर्म थियो, त्यसैले बम समातेर फालेँ।’ 

'सिङ्घम' बनेका हवल्दार भन्छन्- ‘जनताको रक्षा गर्नु नै मेरो धर्म थियो, त्यसैले बम समातेर फालेँ’

समाचार लेख्ने जिम्मेवारी त पूरा भइसकेको थियो। पेशागत जिम्मेवारी पूरा भए पनि उनी मात्र एउटा समाचारको पात्र नबनुन् भन्ने लाग्न थाल्यो। धेरैको जीवनरक्षा गर्ने सुरक्षाकर्मी राष्ट्रसेवकलाई सम्मान कसरी गर्न सकिन्छ? मनमा तुलबुल तुलबुल हुन थाल्यो।    

राज्यले उनको बहादुरीलाई कसरी हेर्ला? उनको कामको मूल्याङ्कन त हुन्छ? प्रश्नहरु उठिरहे। अनि अन्तत: पत्रकारिताबाहेक एक्टिभिस्टको भूमिका पनि निर्वाह गर्न मन लाग्यो – एउटा राम्रो प्रयासका लागि। 

गृहमन्त्रीका एक सहयोगीलाई फोन गरेँ। हवल्दारको बहादुरी सुनाएँ। गृहमन्त्रीलाई यसबारे ब्रिफ गर्न अनुरोध पनि गरेँ। नजिकका मित्र भएकाले यति भन्नु कर्तव्य नै ठानेँ।

एकैछिनमा गृह मन्त्रालयबाट तिनै मित्रले फोन गरे। उनका अनुसार त्यसपछि गृह मन्त्री शर्माले तत्कालै दाङका प्रहरी  प्रमुखबाट थप विवरण लिएछन्। 

गृह मन्त्रीले ब्रिफ सुनेर फोन गर्न थालेको खबरले खुशी यसकारण पनि बनायो कि यी मन्त्री शर्मा अघिल्लो सरकारमा हुँदा उर्जा मन्त्रालय सम्हालिरहेका थिए। र, उनकै नेतृत्वमा लोडसेडिङ समाप्त भएको थियो। यिनले काम गर्नेलाई राम्रैसँग प्रोत्साहित गरेका थिए त्यतिखेर। अहिले पनि यिनले केही न केही गर्छन् भन्ने लागेको थियो।

फेरि हवल्दार रानासँग कुरा भयो। उनी गृहमन्त्रीसम्म कुरा पुगेको सुनेर दङ्ग परेका थिए। त्यसको डेढ घन्टामा त उनी आफैँले गृह मन्त्रीसँग कुरा गर्न भ्याए।  

गृह मन्त्रीसँग कुरा गर्न पाएकै कारण उनले मलाई धन्यवाद दिइरहेका थिए। तर, उनले जोखिम मोलेर जे गरे त्योभन्दा ठूलो जिम्मेवारी त कसैले दिएको पुरस्कार वा आस्वासनसँग तुलना गर्न सकिन्न। फेरि पनि उनलाई कर्तव्यपालनका लागि धन्यवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell