PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सचिव मैनालीलाई 'चुप लगाउन' निर्वाचन आयोगको सरकारलाई गुहार, बैठकले गर्‍यो उनीविरुद्ध ६ बुँदे निर्णय



पहिलोपोस्ट

सचिव मैनालीलाई 'चुप लगाउन' निर्वाचन आयोगको सरकारलाई गुहार, बैठकले गर्‍यो उनीविरुद्ध ६ बुँदे निर्णय

काठमाडौं : निर्वाचन आचार संहिता उल्लंघन हुने भन्दै सानाभन्दा साना पदका कर्मचारीको बढुवा र सरुवासमेत रोक्ने निर्वाचन आयोग गत साता आफ्नै सचिव सरुवा गरेर विवादमा तानियो। निर्वाचन आयोगका पदाधिकारीहरुले सरकारलाई गुहारेर आयोगका सचिव गोपिनाथ मैनालीविरुद्ध उत्रिए।

आयोगका पदाधिकारीहरुको अनुचित दवावविरुद्ध जेहाद छेड्दै सरुवामा परेका सचिवले केही तथ्यहरु खुलासा गरे। ती तथ्यमा आयुक्तहरुको गाडी मोह सबैभन्दा चर्को विषय बन्यो। यो विषयलाई लिएर निर्वाचन आयोगका पदाधिकारीमाथि नै प्रश्न तेर्स्याउनेहरु बढे। जन दवाव यति पर्यो कि निर्वाचन आयोगका शक्तिशाली पदाधिकारीहरु निजामती सेवाबाट सचिव पदमा रहेका एक सरकारी कर्मचारीविरुद्ध सकेको बल लगाएर उत्रिए।

मैनालीले प्रमुख निर्वाचन आयुक्तका ज्वाइँलाई कन्सल्टेन्ट बन्न रोक लगाएको, २ करोडभन्दा बढी महँगा गाडी किन्न रोकेको र जथाभावी गर्न खोजेको खर्चको नियन्त्रण गरेवापत् सरुवा गराइएको खुलासा गरे।

पढ्नुस् सचिवको खुलासा : निर्वाचन आयोगमा विलासी गाडी र फजुल खर्च रोक्न खोजेँ, सरुवा गरियो 


उनले खुलासा गरेको विषयलाई नछोइकन निर्वाचनको एक दिन अघि आयोगका पदाधिकारीहरुले सचिवविरुद्ध ७ बुँदे आरोप लगायो। यतिसम्म कि निर्वाचन गराउन सचिवले अवरोध गरेकोसम्म भन्न भ्यायो। साथै सरकार गुहारेर सचिवका अभिव्यक्तिलाई रोक्नसमेत आग्रह गर्यो। आरोपका श्रृंखलाहरु पढ्नुस्

आरोप नं १ : तथ्यहीन समाचार 

आयोगले सचिव सरुवाको विषयमा प्रकाशित सामग्रीलाई अनर्गल, भ्रामक र तथ्यहीन भएको जनाएको छ।

आरोप नं २ : गैर जिम्मेबार अभिव्यक्ति

निर्वाचन आयोगले सचिवले मन्त्रिपरिषदबाट सरुवा भएको विषयलाई लिएर सञ्चार माध्यममा अन्तर्वार्ता दिनुलाई आचरण र मर्यदाविपरित भएको जनाएको छ। संवैधानिक आयोगविरुद्ध मिथ्या प्रचारवाजी गरेर अन्तर्वार्ता दिएको आरोप आयोगले लगाएको छ।

आरोप नं ३ : पहिलो चरणमा गरेका थिए असहयोग

निर्वाचन भएर मत परिणामसमेत सार्वजनिक भएको एक महिनापछि निर्वाचन आयोगले सचिव मैनालीले पहिलो चरणको निर्वाचनमा अवरोध गरेको कडा आक्षेप लगाएको छ। निर्वाचन सकेको यति लामो समयपछि लगाइएको आक्षेपमा भनिएको छ – आयोगका पूर्व सचिव गोपिनाथ मैनालीले नियतवस पुर्या एका विभिन्न वाधा, अवरोध, असहयोगलाई न्युनिकरण गर्दै आयोगले असहज वातावरणमा पनि प्रथम चरणको स्थानीय तहको निर्वाचन सुसम्पन्न गरेको कुरा सर्वविदितै छ।

स्मरणीय के छ भने उनले 'असहयोग गरेको' कुरा आजमात्र आयोगले खुलासा गर्दा 'सर्वविदितै' शब्द प्रयोग गरेको छ।

आरोप नं ४ :  दवाव र धम्की दिन्थे

आयोगले उनलाई आरोप लगाउँदै गैर जिम्मेबार, अव्यवहारिक, अनावश्कय धम्की दिने लगायतका आरोप लगाएको छ। उनको असहयोगका वाजुद आयोगले मतपत्र र मतदाता परिचयपत्र छापेर निर्वाचन गराउन सकेको दावी गरिएको छ।


आरोप नं ५ :  मान मर्दनमा उत्रे, भ्रम फैलाए

मैनालीले सरुवापछि आयोगका पदाधिकारीको मान मर्दन हुने गरी भ्रम फैलाएको आरोप लगाएको छ। निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र गरिमामा आघात पुर्याएको उल्लेख छ।

आरोप नं ६ : मैनालीलाई नैतिकताभित्र राख

निजामती प्रशासनको आचरणविपरित उनले भ्रामक र आधारहीन प्रचार गरेको आरोप लगाउँदै आयोगले व्यवसायिक तथा नैतिक अनुशासनभित्र राख्ने  वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ।

र, ७ : आयोगले बोलेको एक राम्रो विषय

७ बुँदामध्ये ६ बुँदा पूर्णरुपमा सचिवविरुद्ध खनिएको आयोगले अन्तिमको बुँदा भने निक्कै राम्रो लेखेको छ। अन्तिममा उसले मैनालीको प्रसङ्ग उल्लेख नगरी भनेको छ – १४ गते हुने निर्वाचनमा निर्धक्क भइ मतदानमा सरिक हुन हार्दिक अपील गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell