PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

के तपाईँलाई 'अल्लाहु अकबर’को अर्थ थाहा छ?

के तपाईँलाई 'अल्लाहु अकबर’को अर्थ थाहा छ?

आकाश क्षेत्री/पहिलोपोस्ट


काठमाडौं :  ‘अल्लाहु अकबर’ 

उर्दु वा अरबी भाषाको कुनै नारा जस्तो लाग्ने यो शब्दको अर्थ के होला? 

प्रश्न सोध्न गएको व्यक्तिलाई प्रश्न गर्छन् र उत्तरको अपेक्षा नगरिकन मुस्कुराउँदै भन्छन् – ‘विश्वमा तपाईँ जस्ता कैयनलाई यसको अर्थ थाहा छैन।’

‘हिन्दु, इसाई, बौद्ध, इस्लाम आदि धर्मका मान्यताहरु सबैलाई थाहा नहुन सक्छन्। धर्मले गलत कहिल्यै सिकाउँदैन। गलत बाटो सिकाउँछ भने त्यो अधर्म हो। कुनै पनि धर्मको भित्री मान्यता थाहा नपाएरै धर्म राम्रो र नराम्रो छुट्याउनु भने गलत हो। हामी सबैका भगवान एउटै हुन्,’ उनले कुनै प्रवचन दिएका होइनन्। एउटा प्रश्नसँगै धर्मको भावना प्रस्ट्याएका मात्र।    

नेपालको सबैभन्दा पुरानो मस्जिद मौलाका मौलाना फज्रे (नमाज पढाउने मुख्य गुरु) तनहुँ जिल्लामा जन्मिएका मोहमत फजीर मियाँ हुन् यिनी। काठमाडौंको कमलादीस्थित ७ सय वर्ष पहिले लिच्छवीहरुले निर्माण गरेको मस्जिदका आलम कादरीसमेत हुन् मोहमद फजीर।

रमजान सिकिनै लागेको छ। प्राय:  मुस्लिमहरु रोजा (व्रत) बस्ने गरेका छन् यतिखेर। रोजा बसेका मानिसहरुलाई दिनमा तीन पटक कुरान पढाउने उनले इस्लामिक धर्मग्रन्थ अध्ययनमा भारतको फैजुरसुल ब्राउनसरिफ इस्लामिक मदरसाबाट स्नातकोत्तर पूरा गरेका छन्।     

‘बुद्धम शरणम गच्छामी, नाम: शिवाय,  द ग्रेट इशु हाम्रा सम्मान फरक छन् तर, भाव एउटै हो। हाम्रा धर्म फरक छन् तर हामी सबै एउटै हो,’ उनको बोलीमात्र होइन शब्दहरु पनि सुन्दर लाग्छन्। 

धर्म के हो? 

पहिलो प्रश्न। उनलाई धर्मको परिभाषा दिन कुनै समस्या थिएन तर एकछिन रोकिएर छोटो उत्तर दिए, ‘संसारमा हुने सबै राम्रो काम धर्म हो।’
उनको 'पज' पावरफुल थियो। 

‘कुनै पनि धर्म आफैँमा नराम्रो भन्ने हुँदैन। जुनसुकै धर्म हिन्दु, इसाई, इस्लाम आदिका धर्मग्रन्थमा अपराधलाई राम्रो भनेको छैन्,’ उनी धर्मलाई राम्रो कामको मार्गदर्शक भन्छन्।       

'झुटो बोल्छ, चोरी गर्छ, कुरा काटेर कलह उत्पन्न गराउँछ, हत्याहिंसामा संलग्न हुन्छ, आतंकवादलाई बढावा दिन्छ अनि अल्लाहको नाममा कुरआन पढ्छ वा भगवानलाई पूजा गर्छ भने के अर्थ?' 

तपाईँको अगुवा धर्म कि गुरु?  

मौलाना फज्रेले दिेने कैयौं उत्तरमा धेरै प्रश्न मिसिएका हुन्छन्। सायद, प्रश्न गर्दा उनी उल्टो प्रश्न गर्न रुचाउँछन्। 

जहाँ मानिसले गर्ने सम्मानको कुरा आउँछ। त्यहाँ धर्म मिसिएको हुन्छ। जहाँ धर्म हुन्छ त्यहाँ सम्मान हुन्छ। मौलाना फज्रे धर्मलाई सबैभन्दा माथि ठान्छन्। धर्मलाई सम्मान गर्नु भनेको गुरुलाई पनि सम्मान गर्नु हो। 

उनी भन्छन्, ‘हामी मानिसले शिव, इशु, बुद्ध जसलाई माने पनि आखिरमा हामी मानव जातिको देव एउटामात्र हुन्छ।’  

पवित्रताको पर्याय  


मोहलाना फज्रे कमलादीको पञ्चकश्मिरी मस्जिदमा बिहान सूर्य उदाउनुभन्दा पहिले नमाज पढ्छन्। धर्मालम्वीहरु रमादानको महिनाभरि नै रोजा (ब्रत) बस्ने गर्दछन्।

रोजा बसेका मानिसहरु बिहानै नमाज पढ्न आउने भएकाले उनी मौलानाको हकले सबैलाई नमाज पढाउँछन्।

रमादानको पूरै महिना रोजा बस्ने गरेका मानिसहरु सफा हुनुपर्ने धर्मको नियम छ। रोजा बसेका मानिसहरुले पवित्र नमाजलाई दिनमा तीन पटक पढ्नुपर्छ। नमाज पढ्नेका हातमा नङ पलाएको हुनुहुँदैन। नमाज पढ्नुभन्दा अगाडि नाक कानसम्मको फोहोर सफा गर्नुपर्ने मौलाना फज्रे बताउँछन्।   

उनी भन्छन, ‘नमाज पढ्नुभन्दा पहिले पवित्र हुने कार्यले मानिसलाई ब्यवहारिक रुपमा पनि सफा हुने ज्ञान दिन्छ।’

मानिस एउटा यस्तो प्राणी हो जसले जानी नजानी कुनै न कुनै पाप कर्ममा सहभागी हुन्छ। त्यसैले  मानिसले गर्ने अनेकन पापहरुको भागेदार भएकाले नै दान दिन्छन्, अल्लाह तालाको नाममा ब्रत बस्छन्। 

मौलाना फज्रेका अनुसार रमादानको महिनामा रोजा बसेको मानिसले पवित्र भोजन गर्नुपर्ने हुन्छ, यसका साथै मानिसले गरिब दीनदु:खीलाई दान दिनुपर्ने हुन्छ। कसैलाई नराम्रो बचन बोल्नु हुँदैन। हत्या हिंसामा सहभागी हुनु हुँदैन।      

रोजा बसेका बेला धर्मको मापदण्ड बिपरित काम गरेमा के हुन्छ?

उनी भन्छन्, 'रोजा बसेको मानिसले ईस्लाम धर्मको मापदण्ड विपरित काम गरेमा उसलाई अल्लाह तालाले कहिल्यै स्वीकार गर्दैन्।’  
धर्मको मापदण्ड विपरित काम गर्ने मानिसहरुलाई ईस्लाममा 'हराम' भन्ने गरिन्छ। हराम मानिसको साथ अल्लाहले कहिल्यै साथ दिँदैन।

शिक्षाको भिक्षा मागेँ

‘म नेपालबाट आएको हुँ, मलाई पढ्नु छ, मेरो परिवार गरीब छ मलाई पढाइदिनुस्,’ लखनउका कैयौं मदरसामा पसेर सयौं मानिसलाई पुकार गरे मोहलाना फज्रेले। तर, धेरैले सहयोग गर्न चाहेनन्। अन्तत:  एकजना धर्मात्मी ब्यक्तिले उनलाई मस्जिदमा राखेरै पढाए।    

मौलाना फज्रे तनहुँको भानु नगरपालिकाको सामान्य परिवारमा जन्मिएका हुन्। बुबा सामान्य किसान भएकाले उनलाई महँगो स्कुलमा पढाउन सक्ने क्षमता थिएन। 

उनले कक्षा ३ सम्म अध्ययन स्थानीय बालविकास प्रथामिक विद्यालयमा गरे। 

बालविकास विद्यालयमा अध्ययनपछि उनी पुरुकोट माध्यामिक विद्यालयमा भर्ना भए त्यहाँ कक्षा ५ सम्मको अध्ययन पूरा गरे। त्यसपछि चितवनको अलजामे अतुवरकातिया उर्दु स्कुलमा अध्ययन गरे। उक्त मदरसामा अध्ययन गरिरहँदा उनलाई उर्दु अरबी भाषाको शिक्षाले तानिसकेको थियो।  

उनलाई पढ्नु मात्र थियो। पढ्नु बाहेक केही गर्नु थिएन। नेपालमा त्यतिबेला उर्दु अरबी मदरसा धेरै कम थिए जहाँ तल्लो तहका कक्षाहरु मात्र संचालन गर्दथे। 

त्यसैले शिक्षा हासिल गर्नु उनको घर छोड्नुको कारण बन्यो। उनी रित्तो गोजी र दिमाग लिएर भारतको लखनउ पसे। नौलो ठाउँ, लखनउमा उनले न कोही चिनेका थिए न कोही आफन्त नै थिए त्यहाँ। त्यसैकारण उनी केही दिन लखनउको सडकमा सुत्न बाध्य भए।
उनलाई पढ्नु थियो। त्यसैले उनी लखनउका पदरसामा शिक्षाको भिक्षा माग्न थाले। उनले कैयौं मदरसामा गएर शिक्षाको भिक्षा मागे। मागेकै शिक्षा र आफ्नो मेहेनतले आज मोहलाना फज्रे यो स्थानमा छन्। 

भूकम्पले जुराएको साइनो

कमलादीस्थित मस्जिदमा उनको कार्यालय भित्र छिर्दा त्यहाँ कुनै फाइल थिएन। अत्तरको मगमग बास्ना छोडिएको थियो। र्‍याकमा भरिभराउ किताब।

किताबका आवरणमा लेखिएका लिपीले स्पष्ट हुन सकिन्थ्यो ती किताबहरु उर्दु अरबी भाषाका किताबहरु हुन्। उनको कार्यालय एउटा पुस्तकालय नै लाग्दथ्यो। 

नेपालको सबैभन्दा पुरानो मस्जिदसम्मको यात्राबारे भन्न सुरु गर्दा उनी फेरि लखनउलाई नै सम्झिन्छन्। 

लखनउमा अध्ययन पूरा गरेपछि उनलाई नेपालमै केही गर्नुपर्छ जस्तो लाग्यो। उनी नेपाल फर्किए। नेपालमा मओवादी बिद्रोह चलिरहेकै थियो। 
पाएको ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले उनी गोर्खामा गएर एउटा कुटीमा विद्यार्थीलाई पढाउन थाले। नेपालमा चलिरहेको मओवादी बिद्रोहले उनलाई केही असर गरेन। उनी सबैको प्यारो भएर बालबालिका लागि उर्दु अरबी भाषाको ज्ञान दिन थाले। 

गोर्खापछि उनी फेरि आफ्नै गृह जिल्ला तनहुँ फर्किए। तनहुँमा एउटा मदरसा चलाएर विद्यार्थीलाई पढाइरहेका थिए, देशमा ठूलो भूकम्प गयो।
२०७२ को भूकम्पले तनहुँलाई पनि बाँकी राखेन। तराई, काठमाडौं र विदेशीका केही धनाढ्यसँग उनको उठबस थियो। त्यही सम्बन्धको फाइदा उठाएर उनले आफ्नो जिल्लाको लागि राहत संकलन गर्न थाले।

त्यही क्रममा उनी काठमाडौं आइरहनु पर्ने हुन्थ्यो। उनी नेपालकै पुरानो पञ्चकस्मिरी मस्जिद ब्यवस्थापनको समितिको नजरमा परे। 
उनी पञ्चकस्मिरी मस्जिदको मौलाना फज्रे हुनु र काठमाडौंसँग सम्बन्ध जोडिनुकोको श्रेय भूकम्पलाई दिन्छन्। 

उनलाई बेलुकी ५ बजेको नमाज पढ्नु थियो हामी बिदा माग्ने तरखरमा थियौं। उनले भने- ‘केही छुटाउनु भयो।’

हामीले केही छुटाएका थिएनौं। 

मौलाना फज्रेले हाँस्दै भने, ‘अल्लाहु अकबरको अर्थ ईश्वर तिमी सबैभन्दा महान छौ हुन्छ।’


ट्रेन्डिङ पोस्ट

Ncell