PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुप्रो परेका बुढाबुढीले वैँश सम्झिएजस्तै हो काङ्ग्रेस : ओली



अनन्तराज न्यौपाने

कुप्रो परेका बुढाबुढीले वैँश सम्झिएजस्तै हो काङ्ग्रेस : ओली
फाइल फोटो

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस भनेको र्‍याल चुहाउँदै कुप्रो परेर लौरी टेकी हिँड्ने बुढाबुढीले बैँश सम्झेर बैँशका कुरा गरेर रमाउनेजस्तै हो भनेका छन्।

शनिबार साँझ विराटनगरमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले काङ्ग्रेसप्रति कटाक्ष गर्दै उहिलेका कुरा सम्झेर गफ गर्नबाहेक काङ्ग्रेसले केही गर्न नसक्ने आरोप लगाए।

‘पन्ध्र सालको चुनाव जितेको भनेर काङ्ग्रेस अहिले मक्ख पर्छ’, उनको भनाइ थियो, ‘हाम्रो नीति यस्तो थियो र उस्तो थियो भनेर सम्झँदै रमाउँछ । तर आज के गर्ने कुनै योजना, दृष्टिकोण र कार्यक्रम छैन।’

मञ्चमा सँगै बसेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई ओलीले भने, ‘विजयजी अहिलेका प्रधानमन्त्रीलाई तपाईंले केही भन्न मिल्दैन होला तर म भन्छु। कसैको आँखा कमजोर भयो भने चस्मा लगाउन सकिन्छ तर भित्रैदेखि कमजोर छ भने चस्माले केही हुँदैन। अहिलेका प्रधानमन्त्री पनि भित्रैदेखि कमजोर हुनुहुन्छ।’

विराटनगर कोइरालाको मात्र थातथलो र गढ नभएको दाबी गर्दै अध्यक्ष केपीले कम्युनिस्ट आन्दोलनका संस्थापक मनमोहन अधिकारीको गृहनगर पनि विराटनगर नै भएको बताए ।

सबैभन्दा पहिलो मजदुर आन्दोलन विराटनगर जुट मिलमा २००३ सालमा मनमोहनजीले नै सुरु गरेको र काङ्ग्रेस पछिबाट सामेल हुन आएको ओलीको दाबी थियो ।

यसअघि उपप्रधानमन्त्री एवम् फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विराटनगरमा एमालेसित आफ्नो पार्टीले गरेको तालमेलले ऐतिहासिक महत्व राख्ने उल्लेख गर्दै यसले मुलुकभरि नै छुट्टै तरङ्ग सिर्जना गरेको धारणा प्रकट गरे।

अध्यक्ष गच्छदारले यस गठबन्धनलाई कायम राख्नुपर्ने विचार व्यक्त गर्दै भविष्यमा एउटै चुनाव चिह्नमा चुनाव लड्ने अभ्यास गरौँ भन्ने आग्रह गरे ।
आफू पनि विराटनगरमै जन्मिएको र यहीँ राजनीति गरेर रगतपसिना बगाएको स्मरण गर्दै उनले कोइरालाहरूले मात्र विराटनगरलाई हाम्रो गढ भनेर घमण्ड नगरून् भन्ने चेतावनी दिए ।

विराटनगर महानगरपालिकामा प्रमुखमा एमालेका विनोद ढकाल र उपप्रमुखमा लोकतान्त्रिक फोरमका सुची चौधरी तालमेल गरेर उठेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell