PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाल्पा रामपुरका मतदाता भन्छन्– पानी दिनेलाई भोट



रासस

पाल्पा रामपुरका मतदाता भन्छन्– पानी दिनेलाई भोट

पाल्पाः पाल्पाको रामपुर नगरपालिका– ४ मौलाथरका मतदातालाई चुनाव भन्दा पनि पानी खोजेर जीविकोपाजर्न गर्ने चटारो छ। 

यहाँ दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन्। विकास निर्माण लगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् तर यहाँका मतदाताले पानी दिनेलाई मात्र मतदान गर्ने सोचाईमा पुगेका छन्। 

मतदाताले विगतका वर्षको निर्वाचनलाई सम्झिदै भन्छन् ‘हामीलाई झुट्टा आश्वासन चाहिएको छैन, गाउँलाई विशाल सहर बनाउन पनि जरुरी छैन, हामी गाउँका गरिब दुखी जनतालाई प्रलोभन नदेखाऊ, सक्छौ भने हामीलाई प्यास मेटाउने पानी देऊ, अनिमात्र पाउँछौ भोट।’

मौलाथरका ७१ वर्षीय फत्तबहादुर थापाले भने,‘हामी झुपडीमा बस्ने गरिबलाई महलको सपना नदेखाऊ, विगतका निर्वाचनमा जस्तो यस पटकको झुट्टा आश्वासनमा नेपाली जनता भुल्ने छैनन्, कागजको खोस्टोमा झुट्टा कुरा कोरेर गाउँ नपस, गाउँमा पानी लिएर आएका छौं भोट पाउँछौ।’ 

गाउँको खानेपानी सडक लगायतको सामान्य भौतिक पूर्वाधारको विकास गराइदिने राजनीतिक दलको समर्थनमा उनले विगतका निर्वाचनमा सहभागी भई भोट हाले तर निर्वाचन सकिएपछि कुनै पनि दलका नेता कार्यकर्ता र उम्मेदवारले गाउँ नफर्किएको उनले गुनासो गरे । 

यस क्षेत्रका स्थानीयवासीको पहिलो माग भनेको नै प्यास लाग्दा पिउने पानीको रहेको छ, स्थानीयको एउटै आवाज र माग छन् – ‘पानी देऊ अनि मात्र भोट दिन्छौ ।’  

यहाँका वासिन्दाले दैनिक घण्टौं लगाएर खानेपानीको जोहो गर्दै आएका छन्। ३३ घरपरिवार बसोवास रहेको मौलाथरवासीले बाबुबाजेको पालादेखि नै हिउँदमा होस् या वर्षायाम बाह्रैमहिना दिनमा एक दुई घन्टाको समय लगाएर डोकोमा पानी बोकेर गुजारा चलाउँदै आएको स्थानीय पदमबहादुर थापा बताउँछन्। 

गाउँको धारादी, झर्लेङदी पधेराबाट उनीहरु पानी भर्दै आएका छन् । खडेरीयाम सुरु भएपछि कुवा, खोल्सीका पानी सुक्न थालेपछि पानी खोज्दै हिँड्दा दिनै वित्ने गरेको छ।

मौलाथरमा मात्र होइन साविक दर्छा गाविसको गैलुकलगायतका क्षेत्रका पनि खानेपानीको समस्या उस्तै छ। 

गैलुक क्षेत्रमा मात्र ४२ घरपरिवार बसोवास गर्दै आएको छ। गाउँमा जताततै खानेपानीको हाहाकार छ। खडेरीका बेला गाउँका पुराना कुवा, खोल्सीमा पानी खोज्नेको लर्को नै हुन्छ। 

यहाँका मतदाताले दलगत नभई विकासप्रेमी विवेकशील उम्मेदवारलाई मतदान गर्ने पक्षमा रहेको गैलुकका स्थानीय रुद्र मल्ल बताउँछन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell