PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एक वर्षमा त्रिशूली नदीमा ४४ को मृत्यु, १९ बेपत्ता 



रासस

एक वर्षमा त्रिशूली नदीमा ४४ को मृत्यु, १९ बेपत्ता 

चितवनः त्रिशूली नदीको चितवन खण्डमा एक वर्षको अवधिमा १९ जना बेपत्ता भएका छन्। नारायणगढ–मुग्लिन सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटरको सडक त्रिशूली नदीको किनारैकिनार पर्दछ। 

उक्त सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूली नदीमा खस्ने र चालक तथा यात्रुको मृत्यु तथा बेपत्ता हुने गरेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा सो खण्डमा २७ वटा ठूला दुर्घटना भएका छन्। जसमा ४४ जनाले ज्यान गुमाएका छन् –भने १९ जना बेपत्ता भएका छन्। ९१ जना घाइते भएका छन्। 

नदीले एकै आर्थिक वर्षमा १९ जनालाई बेपत्ता बनाएको हो। विगतका वर्षमा यो तथ्याङ्क निकै कम देखिन्छ। गत आर्थिक वर्षमा सोही क्षेत्रमा तीनवटा मात्र दुर्घटना भएका थिए।

जसमा दुई जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा सात वटा दुर्घटनामा सात जनाको मृत्यु, ९ जना घाइते र तीनजना बेपत्ता भएका थिए। 

चालु आर्थिक वर्षको साउन ४ गतेबाट त्रिशूली नदीमा गाडी खसेर सुरु भएको दुर्घटना शुक्रबार सोही सडक क्षेत्रमा पहिरो खसेर नेपाल प्रहरीको भ्यानसहित दुई बेपत्ता र दुई जनाको मृत्यु भएको छ।

चालु आर्थिक वर्षकै भदौ १० गते रौतहटको गौरबाट पोखरा तर्फ जाँदै गरेको रात्री बस कालिखोला नजिकै त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता र १६ जना घाइते भएका थिए। 

यस्तै, असोज ९ गते पूर्व गृहमन्त्री माधव घिमिरेसमेत सवार जिप त्रिशूलीमा खस्दा घिमिरेसहित दुई जना अझै बेपत्ता छन् भने चारजनाको मृत्यु र एकजना घाइते भएका थिए। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त बाटो फराकिलो बनाउने क्रममा पहाड थर्किएको र गत वर्षको भूकम्पले हल्लाएकाले समग्र सडक क्षेत्र नै हल्लिएका कारण पहिरो खस्दा दुर्घटना बढेको बताउँछन्।

सडकको इन्जिनियरिङ अवस्था कमजोर, चालकलाई सचेतना दिन नसकिएको, चालकको लापरर्बाही बढेको लगायतका कारण दुर्घटना बढेको उनले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell