PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेस नेताले गरे वृद्धभत्ता र एमालेलाई बाहुनको कुशसित तुलना



चन्द्रकान्त खनाल

कांग्रेस नेताले गरे वृद्धभत्ता र एमालेलाई बाहुनको कुशसित तुलना

रुपन्देही :  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एमालेले वृद्ध भत्ताभन्दा अरु केही गर्न नसकेरै होला खाली वृद्ध भृद्ध भत्ता–भत्ता भन्दै हिँडेको र एमालेले नजिते कांग्रेस माओवादीले नदिने भन्दै भ्रम छरेको आरोप लगाएका छन्।

गुल्मीको छत्रकोट र  रुरु गाउँपालिकामा नेपाली कांग्रेस माओवादी केन्द्रको संयुक्त चुनावी आमसभालाई सम्वोधन गर्दै उनले भने, नेपालमा वृद्ध भत्ताको परिकल्पना त कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको हो।  

‘त्यही परिकल्पना मनमोहन अधिकारी प्रधानमन्त्री  हुँदा लागु गरिएको हो,’ उनले भने, ‘ एमालेले सय रुपैयाँ बनाएको वृद्ध भत्ता कांग्रेसले एक पटक ५ सय र दोश्रो पटक कांग्रेस माओवादी सरकारमा छँदा एक हजार वृद्धि गरेको र तेश्रोबाट माओवादीका नेता अर्थमन्त्री छँदा मासिक २ हजार वृद्धि गरेको हो। 

उनले व्यङ्ग्य गर्दै भने–‘ पूजा मण्डपमा बस्दा जसरी बाहुनले यहाँ पनि कुश, उहाँ पनि कुश  र जति बेला पनि कुश..कुश..कुश ... भनिरहन्छन्, त्यस्तै एमालेको पनि चाल त्यस्तै छ। खाली वृद्ध भत्ता .. वृद्ध भत्ता मात्रै  गरिरहन्छ।  

त्यसैगरी पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले एमालेसँग पनि सहकार्य गर्न खोजिएको तर ऊ हामीसँग भन्दा पूर्व राजा ज्ञानेन्द्र र राजावादीहरुसँग साँठ गरेपछि कुरा गम्भीर हुन सक्ने लागेर देश विकास र परिवर्तनका लागि कांग्रेस र माओवादीबीच सहकार्य गरिएको बताए। 

उनले नेकपा एमालेको राष्ट्रवाद मण्डले राष्ट्रवाद भएको आरोप समेत लगाए । उनले एमाले नेताहरुलाई गफाडी , फिते र तमसुकेहरुको संज्ञा दिए।  उनले भने–‘उहाँहरु चुनावताका गाउँमा मोटरबाट र खानेपानीका पाईपहरु फिता लिएर नाप्दै हिड्ने र रातमा जनताको घरदैलोमा बसेर यस्तो गर्दिन्छौ उस्तो गर्दिन्छौ भन्दै तमसुक गर्ने तर चुनाव पछाडी भने फर्केर आउँदैनन् ,त्यस्ता फिते र तमसुकेहरुलाई अब जनताले चिन्नै पर्दछ।’

छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादी केन्द्रको तर्फबाट गाउँप्रमुखका उमेदवार अनन्तराम पौड्याल र उपप्रमुखमा रामप्रसाद पाण्डे एमालेका मधुकृष्ण पन्तको प्यानलसँग चुनावी मैदानमा छन्।  

रुरु गाउँपालिकामा कांग्रेस माओवादीको संयुक्त प्यानलबाट जिल्लाका सवै भन्दा कान्छा उमेदवार यदु ज्ञवाली प्रमुख र देवेन्द्र मल्ल उप प्रमुख उमेदवार रहेका छन्। एमालेको तर्फबाट  निलकण्ठ गौतम प्रमुख पदका उमेदवार छन्। यी दुवै गाउँपालिकामा एमाले र कांग्रेस माओवादी  गठबन्धन बीच कडा टक्कर हुने देखिएको छ ।  
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell