PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कान्तिपुर गाथा : कनिका र पिएमको कालो बोको



किशोर नेपाल

कान्तिपुर गाथा : कनिका र पिएमको कालो बोको

देशमा प्रधानमन्त्री शेरबहादुर देउवा आफनो निजी निवासबाट सरकारी निवास बालुवाटार सरेको समाचारहरु आइरहेका थिए। निवास सरेको समाचार त के नै समाचार भयो र ? निवास प्रवेशका बेला शुभ साइतका लागि काटिएको कालो बोको समाचारमा छ। कनिका डिटेलमा स्टोरी पढ्दैछे। मरी-मरी हाँस्दैछे। समयका चरण-चरणमा, हरेक चरणमा, कालो बोकाको प्रसंगहरु आइरहेका छन्। कालो बोको भीआइपी भएको छ। कालो बोको महत्वपूर्ण भइकन पनि यति निरीह जीव हो जसको जन्म र मरणको लेखाजोखा न नगरका मेयरले राख्दछन्, न नरकका मेयरले। कालो बोकोको नागरिकता पनि हुँदैन। जन्म मितिको ठेगान अन्दाजी वर्ष यतिको भन्ने हिसाबमा लगाइन्छ। 

पाठो अवस्थादेखि गन्हाउने अवस्थासम्म बोकाहरु अनेक प्रसंगमा भेटिन्छन्। यस्ता बोकाहरु त धेरै भेटेकी छ कनिकाले। यी बोकाहरुको गन्ध तीखो भएपनि मासु स्वादिलो हुँदैन। उसले दुई वर्षअघिको एउटा घटना सम्झी। तर, निख्खर कालो बोको भनेको खोजेर मात्र पाइने जिनिस होइन। लाक्षणिक हिसाबले अलिकति मेहनत नगरी कालो बोको पाइँदैन। यसलाई यसरी बुझे पनि हुन्छ कि अरु पचासमा पाइए कालो बोकाको सिधै पचहत्तर पर्दछ।

कनिकालाई थाहा छ : नेपालका मानिसहरु स्वास्थ्योपचारका लागि जानेर वा नजानेर उपचारमा धामीझाँक्री र गुरुवालाई लगाउँछन्। जसले पनि धामी झाँक्री लगाउँछन् वा वीरको साधना गर्दछन्, तिनका लागि कालो बोको अनिवार्य हुन्छ। कालो बोको नदेखेसम्म मानिसको टाउकोमा चढेको वीर टाउकोबाट ओर्लिँदैन। अक्सर वीर जगाउनेहरु बाहुन हुन्छन् जो धोति फेरेको अवस्थामा कुखुरा खाँदैनन्। राँगो खानु परेको बेला बख्खु लगाउँछन्। भनेको बेलामा कालो बोको नपाएकै कारण कति मानिस मरेका छन्-छन्। त्यो हिसाब किताब कता राख्नु र कसले राख्नु?

कनिकालाई थाहा छ, देशको राजनीतिमा उच्चकोटीको निखार आउन थालेको छ। स्थानीय तहमा प्रतिनिधि छनौटका लागि चरणवद्ध चुनाव भएको छ। पहिलो चरणमा तीनवटा राज्यमा चुनाव भयो। अब दोस्रो चरणमा अरु तीनवटा राज्यमा चुनाव हुँदैछ। तेस्रो चरणमा बाँकी एउटा राज्यको चुनाव भएपछि चुनावका थप श्रृंखला शुरु हुनेछन्। यस्तो बेलामा कालो बोकोको चर्चा अस्वाभाविक होइन। कालो बोको पहाडेको मात्रै होइन मधेशेको पनि उत्तिकै आवश्यकता हो। 

यो पटक रिपोर्टिङका लागि मधेश जाँदा कनिकाले थाहा पाइ कालो बोको महिमा। भोजपुरी भाषा बोल्नेहरुले कालो बोको काटेर ‘भकौति’ पूरा गर्ने रहेछन भने मैथिलहरुलाई ‘मनौति’ पूरागर्न कालो बोको नै चाहिने रहेछ। मधेशमा ग्राम देवताको पूजा, कुलदेवताको पूजा र व्रतवन्धमा कालो बोको नभई नहुने रहेछ। सप्तरी जिल्लाको कंकालिनी र सखडा भगवतीदेखि कान्तिपुर दक्षिणकाली र वैतडीको त्रिपुरासुन्दरीसम्म कालो बोको जतासुकै चाहिने रहेछ।

अघिल्लो पटक कनिकालाई पुष्पकमलले राखेका केही मन्त्री मन परेका थिए। ती मन्त्रीहरु एउटै राखेनन् प्रधानमन्त्रीले। उज्यालो मन्त्री जनार्दन, उद्योगी मन्त्री नवीन्द्र र निरोगी मन्त्री गगन थापालाई मन्त्रीमा राखी दिएको भए के नै बिग्रिने थियो र? राम्रा थिए। रमाइला थिए। सबैको काम गरिदिन्थे। अब बत्तीवाला तह लाउने मन्त्रीलाई लात्तीवाल तह लाउने काममा लगाएपछि के हुन्छ? जनार्दनले छोडेपछि बिस्तारै वत्तीको पावर सकिन लागेको सुनिन थालेको छ। 

अब कांग्रेसका यी दुई फूर्तिला मन्त्रीले सरकारको डिफेण्ड गर्न थाल्नु पर्दछ। ‘कांग्रेस नेतृत्वको सरकार र प्रधानमन्त्री निवासमा बलिदानमा परेको कालो बोको’ को बारे अलिकति चेतना बढाउने खालको आइटम गगन सरबाट आउला भन्ने लागेको छ कनिकालाई। केही गरी आएन भने पनि गगन सरसँग इन्टरभ्यू नै लिने इरादा राखेकी छ कनिकाले। यो कुरा ऊ फैलाउन चाहँदिन। सुदिप्तीले थाहा पाइ भने म पनि जान्छु भनी हाल्छे। कान्तिपुरको प्रेस जगतमा गगन यति पपुलर छन कि शहरका हरेक आइटम गर्ल उनलाई आफनो व्वाइफ्रेण्ड नै ठान्दछन्। कत्रो क्रेज ! 

कनिकाले नवीन्द्रसँग भेटन पाएकी छैन। केही दिन पहिले ऊ नवीन्द्रको प्रेस कन्फरेन्समा गएकी थिइ। त्यो इभेन्ट नै डल थियो। नवीन्द्रले कनिकालाई बाल दिएनन्। झन त्यति राम्रो ग्रन्च जीन्स, कालो कमीज र आउटरमा थिइ। तर, नवीन्द्रको ध्यान तान्न कनिकाको फेशन असफल भयो। नत्र, नवीन्द्र पनि गगन भन्दा कम थिएनन्। 

जे होस, कनिकाका लागि कालो बोको इन्टरेस्टिंग नै भयो।

‘गगन र नवीन्द्रको इन्टरभ्यू चुनावपछि गर्नु पर्ला’ उसले मनमनै सोची । त्यसपछि पर्सबाट एक खिल्ली सिगरेट निकालेर स्मोकिङ एरियातिर लम्किइ।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा
कान्तिपुर गाथा : कहिले गुण्डाराज कहिले पुलिस राज

कनिकाका नजरमा प्रधानमन्त्री ​

इलेक्सनको बोरिङ अपडेट छाडेर रोमान्टिक बनेकी कनिका

कुलमानमा कनिकाको आँखा 
अदालतमा कनिका
कनिकाको मधेश यात्रा
कान्तिपुर मेयरमा बाबुराम

कनिकाको नयाँ वर्ष

महाराज महारानीको भोजमा राष्ट्रपति ​

चुनावी चक्रव्यूहमा कनिका
कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?
सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल
भ्यालेन्टाइन किसको सोसल रियाक्सन
अशान्त कान्तिपुरका केही छिद्रहरु
डस्टमाण्डूमा जारी छ चमत्कार



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell