PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अख्तियारले प्रकाशित गर्‍यो महत र ढकाल फरार भएको सूचना, जानकारी दिनेलाई पुरस्कार



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको समयमा बयान दिन नगएपछि कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउको सार्वजनिक सूचना प्रकाशित गरेको छ।
 

अख्तियार बिहीबार गोरखापत्र दैनिकको प्रथम पृष्ठमा सार्वजनिक सूचना प्रकाशित गरि उनीहरुलाई देख्ने या फेला पार्ने जो सुकैले आयोगको हटलाइन १०७ नम्बरमा फोन गरिदिए या नजिकको प्रहरी कार्यालयमा बुझाए उचित पुरस्कार दिने जनाएको हो। बयानका लागि उपस्थित हुन सूचना जारी गरिएकोमा महत र ढकाल फरार रहेको अख्तियारले उल्लेख गरेको छ।
 
सूचनामा ढकाल र महतको फोटो एवं स्थायी तथा हाल बसोबास रहेको ठाउँको ठेगाना समेत दिइएको छ। उनीहरुलाई वयानका लागि उपस्थित हुन अख्तियारले दुई साता अघिनै पत्र पठाएको थियो। तर, उनीहरु वयान दिन नगइ फरार भएका छन्। पत्र बुझाउन जाँदा पनि घरमा फेला नपरेको अख्तियार स्रोतले बतायो।
 
उनीहरुले आयोग मार्फत ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दा २१ अर्ब रुपैयाँ छुट दिएका थिए। सर्वसाधारणबाट उठाएको भ्याट समेत व्यापारीलाई छुट दिएकोमा सरकारी आयव्ययको अडिट गर्ने अर्को संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारले उनीहरु माथि छानविन सुरु गरेको थियो।
 
आयोगका अर्का सदस्य रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भने यस अघि नै अख्तियारले आफ्नो हिरासतमा लिइ सकेको छ। फर्छ्यौट आयोगका कागजात एवं प्रमाण नष्ट गर्न सक्ने आशंकाका आधारमा उनलाई पक्रिएर अनुसन्धान सुरु गरिएको हो। महत र ढकाल अहिले सरकारी सेवामा नरहेको हुँदा उनीहरुलाई पक्राउ गरिएको थिएन। 
 

 
महतले आफैं अडिटर रहेको एनसेललाई समेत ५० करोड रुपैयाँ बढी कर मिनाहा दिलाएका थिए। त्यस्तै नाफामा रहेका बिभिन्न कम्पनीलाई पनि ठूलो परिमाणमा कर छुट दिएको भन्दै महालेखाले पदाधिकारीलाई नै जवाफदेही बनाउनु पर्ने सुझाव दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell