PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संगीत दिवस स्टुडियोमै मनाउँदै राजनराजले भने 'कुटुमा कुटु' गीत लेख्नुको कथा



पहिलोपोस्ट

संगीत दिवस स्टुडियोमै मनाउँदै राजनराजले भने 'कुटुमा कुटु' गीत लेख्नुको कथा

काठमाडौं: रिलिज भएको एक वर्षपछि एक करोड भ्युज बटुलेर युट्युबमा नेपाली संगीतको इतिहास बनायो गीत 'सुर्के थैली खै?' ले। मौलिक शब्द र संगीत प्रयोग गरिएको गीत नेपाली फिल्मको लागि नयाँ प्रयोग थियो। गीत यसरी चलिदियो कि 'वडा नं छ' निर्माण युनिटले आफ्नो नयाँ फिल्म 'छक्कापञ्जा'मा पनि उस्तै मौलिक गीतको प्रयोग गरे। गीत थियो 'पूर्व पश्चिम रेल'। उक्त गीत पनि स्रोताले रुचाए। एकाएक चर्चामा आए संगीतकार राजनराज शिवाकोटी।



बुधबार संगीत दिवसको उपलक्ष्यमा राजनराज शिवाकोटी गीत रेकर्डिङमै व्यस्त रहे। भन्छन्, 'संगीतकारका लागि आफ्नो हरेक रेकर्डिङको दिन विशेष हुन्छ।'

प्राय सांगीतिक कार्यक्रममै व्यस्त रहने भएकाले दिवसको अवसरमा पुन: सांगीतिक कार्यक्रम नै गर्न आवश्यक उनलाई लाग्दैन। बरु सांगीतिक क्षेत्रमा परिवर्तनको लागि योगदान पुर्याउनुलाई उनी महत्वपूर्ण ठान्छन्।

भने, 'मौलिक शब्द र संगीतको प्रयोगमा म जोड दिंँदै छु र हाम्रो मौलिक शब्द, संगीत ट्रेन्ड बन्नु सकारात्मक परिवर्तन हो।'

हालै सार्वजनिक शिवाकोटीको नयाँ गीत 'कुटुमा कुटु' पनि रुचाइएको गीतमध्ये एक हो। सार्वजनिक भएको एक महिना नपुग्दै गीतले पचास लाख पचास हजार बढी हिट्स बटुलेको छ। कुटुमा कुटुमा पनि मौलिक शब्द र संगीत प्रयोग कै फर्मुला अपनाए राजनराज शिवाकोटीले। लोक भाकाको नाममा एउटै खालको गीत सुन्दा स्रोताले नरुचाउने डर छैन? भन्ने प्रश्नमा भन्छन्, 'हरेक शब्द र हरेक गीतको विशेषता हुन्छ। मेरा सबै गीतको विशेषता फरक छ। उस्तै लाग्ला तर प्याट्रन फरक छन्।'



फिल्म दुई रुपैयाँमा समावेश गीत 'कुटुमा कुटु'को चर्चा चलिरहँदा हामीले उनलाई गीत सफल हुनुको खुसी बारे सोध्यौं।

'आफूले लेखेर राखेको गीत अचानक फिल्मको लागि चुनिनु र चल्नुले खुसी त पक्कै दिन्छ,' उनले बताए।

राजनराज शिवाकोटीले ३ वर्ष अघि नै तयार गरेको गीत हो यो। उनले 'धुमपान स्वास्थ्यको लागि हानिकारक छ' भन्ने संदेश दिन गीत लेखेको उनले जानकारी दिए।

भने, 'गाउँमा धेरै मान्छे खैनी, चुरोट खान्छन्। उनीहरुले गीत सुनुन् र केही मनन् गरुन् भन्ने लागेको हो।'

राजनले खैनी, चुरोट खानेहरुको दाँतमा फोहोर र ओठ कालो भएको देखेरै शब्द रचना गरेका थिए।

'मेलोडी भर्न केही समय लाग्यो र रेकर्ड गर्ने भन्दा भन्दै के के भयो,' उनले गीत लेख्नुको पृष्ठभूमि बताए।

दुई रुपैयाँ युनिटले लोक भाकाको गीत मागेपछि उनले आफूले साँचेको गीत देखाए। फिल्म युनिटले पहिलो पटकमै राख्ने भएपछि उनले टिमअप गरे।

यसरी घटना, अवस्था र भोगाइलाई नै गीत बनाउँछन् उनी।

'घटनालाई गीतमा उतार्दा आम मान्छेको भोगाइसँग मेल खान्छ जस्तो लाग्छ,' उनले भने। आमाको थैलीबाट पैसा चोर्न खोज्दा च्यतिएको थैली सम्झिएर लेखेको सुर्के थैली उनको बुझाईको प्रमाण हो। जुन गीतले हरेक उमेर समुहकोलाई छोयो। संगीतकार राजनराज शिवाकोटीको सामाजिक संदेश र मनोरञ्जन दिने प्रयास एक हदसम्म सफल भयो।

राजनराज शिवाकोटी गीतमा शब्द र मेलोडीको भूमिकालाई विशेष मान्छन्। भन्छन्, 'शब्द र संगीतले कसैको मनलाई खुसी बनाएपछि गीत सफल हुन्छ।'

र, फिल्मको प्रचारमा गीतको योगदानमा पनि उनी विश्वास गर्छन्।

अर्का युवा संगीतकार अर्जुन पोखरेल पनि राजनराज शिवाकोटीको मतमा सहमत छन्। भन्छन्, 'फिल्म लाग्नुभन्दा अघि प्रचारका लागि गीतले निकै योगदान पुर्याउछ। फिल्म प्रदर्शनपछि भने फिल्मको कन्टेन्टको पनि भूमिका रहन्छ।'

पछिल्लो समय प्रेम गीत, आइटम गीत र मौलिक भाकाका गीत फिल्मको प्रयोग हो। तर अर्जुनको बुझाई लभ सङले धेरैको भावनालाई छुने रहेको छ।


अर्जुन पोखरेल 

पुराना संगीत दिवसहरुमा संगीत विशेष कार्यक्रममा सहभागी अर्जुन यो वर्ष भने निर्माणको क्रममा रहेका फिल्मका गीतहरुमा संगीत भर्न व्यस्त छन्।

भन्छन्, 'अब त दैनिकी यही नै बनिसक्यो।'

अर्जुन पोखरेल नेपाली संगीतमा व्यवसायिक विकास भएको विश्वास गर्छन्।

'अहिलेमात्र होइन पहिलेदेखि नै संगीतमा लागेका धेरैले संगीतनै गरेर जीवन खुशी खुशी अगाडि बडाएका छन्। निरन्तरता नदिनेहरुले चाहिँ राम्रो संदेश नछोडेको हुन सक्छ।' संगीतमा भविष्य छैन भन्ने कुरा उनी मान्दैनन्।

व्यस्त संगीतकारमध्ये पर्छन् उनी। उनले संगीत दिएको गीत 'भन्छु आज मनका कुरा' सर्वाधिक रुचाइएको लिस्टमा पर्छ।



प्रेमगीत, संगीतमा राम्रो गर्दै गरेका उनी भन्छन्, 'प्रेमगीतले जस्तो आइटम वा अन्य गीतले दर्शक तान्छ जस्तो लाग्दैन।'

यो उनको व्यक्तिगत धारणा हो। संगीतमा उनी रमाउँछन्। त्यसैले संगीत र संगीत क्षेत्रबारे अनावश्यक हल्ला गर्नेहरुसँग उनलाई समस्या छ।

'साइड बिजनेस गरेर संगीतको रहर मात्र पूरा गर्नेले संगीतमा लाग्न चाहनेलाई निरुत्साहित गर्छन्,' उनी आफ्नो भोगाइ यसरी बोल्छन्, 'संगीतमा गर्न चाहनेले धेरै केही गर्न सक्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell