PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सेनाले किन राख्यो ३ अर्ब रुपैयाँको 'डिल' गुपचुप?



उमेश श्रेष्ठ

सेनाले किन राख्यो ३ अर्ब रुपैयाँको 'डिल' गुपचुप?

काठमाडौं : नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयमा गएको शुक्रबार टाइसुट र चश्मामा सजिएका एक व्यक्तिले जंगी पोशाकमा रहेका मेजर जनरल पूर्णबहादुर सिलवाललाई एउटा सानो नमूना जहाज हस्तान्तरण गरे। 

खेलौना जस्तो जहाज दिने बुडी सान्तोसो इन्डोनेसियाली विमान कम्पनी पिटीडिआईका प्रेसिडेन्ट डाइरेक्टर थिए। तर, यो खेलौना मात्र थिएन। यसमा थियो अर्बौँ रुपैयाँको ‘डिल’। 

नमूना जहाज हस्तान्तरण गर्नुअघि सान्तोसो र सिलवालबीच सिएन २३५-२२० एम मोडलको सैनिक जहाज खरिद गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। हस्ताक्षर भएका कागजात साटासाट गरेर फेरि अर्को फोटो खिचियो। 



अर्को फोटोमा नेपाली सेनाका तर्फबाट पाइलट मेजर जनरल सुधीर श्रेष्ठ र पिटिडिआईका कमिसनर इसफान फाजर साट्रियो पनि देखिए। 
 

किन राखियो गोप्य?

सार्वजनिक चासोको विषय हुँदाहुँदै पनि शुक्रबारै भएको यो सम्झौताबारे नेपाली सेनाले न कुनै समाचार वा विज्ञप्ति जारी गर्‍यो, न कुनै फोटो नै। जबकि सेनाले सानो-सानो विषय समेत विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने गर्छ।  

त्यसो त इन्डोनेसियाली कम्पनीले भोलिपल्ट शनिबार फोटो र सम्झौता भएको जानकारी सार्वजनिक गर्‍यो। यद्यपि, त्यो धेरैको नजरमा पर्न सकेकै थिएन। इन्डोनेसियाली मिडियामा समाचार आएपछि भने यो सम्झौताको रहस्य अझै गहिरियो।  

नेपाली सेनासित गोप्य सम्झौता?

इन्डोनेसियाली अनलाइन ‘सुआरा पेम्बारुआन’ले बुधबार प्रकाशित गरेको खबरअनुसार नेपाली सेनाले MGO / Fixed Wing / 073/74/65 नम्बरको कन्ट्र्याक्ट इन्डोनेसियाली कम्पनीलाई दिएको हो। सेनाको आधिकारिक साइटमा भने कन्ट्र्याक्ट अवार्ड गरेको बारे कुनै पनि जानकारी बुधबार साँझ यो समाचार तयार पार्दासम्म अपडेट गरिएको छैन।  

अझै शंकास्पद के छ भने इन्डोनेसियाली मिडियाका अनुसार कति रकमको कन्ट्र्याक्ट हो भन्नेबारे कम्पनीले कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ।

किन?

कम्पनीले भनेको छ - नेपाली सेनासँग गोपनीयताको सहमति (सेक्रेसी एग्रिमेन्ट) भएको छ। किन जरुरी भयो सेनालाई यस्तो सेक्रेसी एग्रिमेन्ट?
सोही मिडियाका अनुसार सेनेगलमा यही मोडलको एउटा जहाज ३ करोड १० लाख अमेरिकी डलर (३ अर्ब २० करोड रुपैयाँ) मा कम्पनीले बिक्री गरेको थियो। 

रकम गोप्य राखिए पनि नेपाली सेनासँगको डिल यही हाराहारीमा भएको अनुमान छ। 

कमिसन अफर गर्ने कम्पनी

नेपाली सेनाले खरिद गर्न लागेको इन्डोनेसियाली पिटिडिआईको रेप्युटेसन भने कमिसन अफर गर्ने कम्पनीका रुपमा बद्नाम छ। 

१६ वर्षअघि सन् २००१ को जुनमा पाकिस्तानी सेनाले यही कम्पनीसँग सिएन २३५-२२० जहाज ६ वटा खरिद गर्न डिल गरेको थियो। पाकिस्तानी पत्रिका ‘डन’ को सन् २००२ मार्च ८ मा प्रकाशित रिपोर्ट अनुसार कमिसनको कुरा नमिलेपछि ४ वटामात्रै जहाज खरिद गर्न खोजियो। 

‘कमिसन बाँड्ने मोडालिटीमा विवाद भएपछि सुरुवाती डिल परिवर्तन भएको थियो,’ डन अगाडि लेख्छ, ‘इन्डोनेसियाली सप्लायर्सले पाकिस्तानी ब्रोकरहरुलाई चार वटा जहाज खरिद गर्न ३९ लाख अमेरिकी डलर (हालको विनिमय अनुसार ४० करोड २५ लाख) कमिसन अफर गरेका थिए।'

पत्रिकाले कागजातका रुपमा रहेको प्रमाणलाई समेत उल्लेख गर्दै इन्डोनेसियाली कम्पनी पिटिडिआईका एजेन्ट प्राइमा नियागाका सूर्यन पदमा अब्दुर रहमानले कमिसन अफर गरेको खुलासा गरेको थियो। 

‘उनीहरुले हामीलाई एजेन्सी फी = ३ प्रतिशत, पाकिस्तान फाइनान्स एन्ड डिफेन्स डिपार्टमेन्ट = ५ प्रतिशत कमिसन फी दिने कन्फर्मेसन दिएका छन्(अफ द रेकर्ड)’, डिलसँग सम्बन्धित डकुमेन्टलाई उद्धृत गर्दै डनले लेखेको थियो। 
 

पूर्वराजाका अंगरक्षकका छोरा 'लोकल एजेन्ट'

सेनाले गत वर्ष सेप्टेम्बर ४ मा हेलिकप्टर र एरोप्लेन खरिदका लागि प्रकाशित गरेको सूचीमा १० वटा कम्पनीको नाम उल्लेख थियो। त्यसमध्ये एक रहेको इन्डोनेसियाली विमान कम्पनी पिटिडिआई र नेपाली सेनाको सम्पर्क सूत्रका रुपमा कालधारास्थित सूर्य एयर सपोर्ट प्राइभेट लिमिटेड लोकल एजेन्ट रहेको पहिलोपोस्टलाई प्राप्त कागजातमा उल्लेख छ। 

यो कम्पनी तत्कालीन राजाका अंगरक्षक (मानार्थ शाही पार्श्ववर्ती) जर्नेल भरतकेशर सिंहका छोरा अजय सिंहको हो।  “गणतन्त्र र धर्मनिरपेक्षता त ज्यान गए पनि मान्दिनँ !” भन्ने गरेका भरतकेशर विश्व हिन्दु महासंघका अध्यक्ष पनि थिए। कालधारामा जन्मिएका सिंहलाई सानैदेखि सेनामा जागिर खाने रहर थियो। तत्कालीन युवराज वीरेन्द्र बेलायतको इटन कलेजमा पढ्दा उनी लण्डनको नेपाली दूतावासमा सैनिक सहचारी थिए। 

२०४२ सालमा उपरथी पदबाट सेवानिवृत्त सिंह पछि मानार्थ शाही पार्श्ववर्ती नियुक्त भएका थिए। ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि चलेको आन्दोलन चर्कँदा उनले टिप्पणी गरेका थिए, “लट्ठी नपुगेको हो, एउटा जङ्गबहादुर चाहिन्छ।”

श्री ३ जुद्धशमशेरकी छोरी रानी चैतन्यका छोरा भरतकेशर सिंहका तीन छोरा अनन्त, अमर र अजय सिंह हुन्। 

२०६२/६३ को जनआन्दोलन चलिरहेकै बेला २०६२ चैत २ गते उद्योग विभागमा एकल कम्पनीका रुपमा अजय सिंहका नाममा दर्ता भएको सूर्य एयर सपोर्ट फिक्स्ड बेस अपरेटर हो। सेनासँग पिताको पुरानो सम्बन्धलाई उपयोग गर्दै अजयले युएन पिसकिपिङ फ्लाइटसको ८० प्रतिशत उडान आफ्नै मध्यस्थतामा गर्ने गरेको आफ्नो वेबसाइटमा दावी गरेको भेटिएको छ।

हाल सञ्चालनमा नरहेको यो कम्पनीको वेबसाइटको आर्काइभमा नेपाली सेनाको शान्ति रक्षक कार्यालय विभाग (डिपिकेओ), नेपाल प्रहरी र सशस्त्र प्रहरी आफ्नो क्लाइन्ट रहेको पनि उल्लेख छ।
  

प्रवक्ताले प्रतिक्रिया दिएनन्

इन्डोनेसियाली कम्पनीसँग भएको विमान खरिद सम्झौताबारे बुझ्न नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतसित सम्पर्क गर्न खोज्दा उनी टेलिफोनमा सम्पर्कमा आउन चाहेनन्। ‘पछि कुरा गर्छु’ भनेर एसएमएसमा जवाफ फर्काए पनि पटक पटकको प्रयासमा पनि उनी सम्पर्कमा आएनन्। 

अपडेट : यो समाचार प्रकाशित भइसकेपछि सम्पर्कमा आएका प्रवक्ता कडायतले इन्डोेनेसियाली कम्पनीसँग विमान किन्ने सम्झौता भएको पुष्टि गरे। सैनिक र सैनिक सामान बोक्न विमान प्रयोग हुने उनले जानकारी दिए। कति रकमको डिल हो भन्नेबारे चाहिँ आफूलाई थाहा नभएको उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell