PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्व तेक्वान्दो च्याम्पियनसिपमा १० नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

विश्व तेक्वान्दो च्याम्पियनसिपमा १० नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। विश्व च्याम्पियनसिहत तीन अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली भोली दक्षिण कोरिया प्रस्थान गर्दैछ।

पहिले चरणमा नेपाली खेलाडीले असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसमा नेपालबाट १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर महरा, ६८ केजीमुनि रन्जन श्रेष्ठ, ७४ केजीमुनि निश्चलमान श्रेष्ठ र ८७ केजीमुनि सक्षम कार्कीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै महिलाको ४६ केजीमुनि रेजिना कार्की, ५३ केजीकुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा तथा ७३ केजीमाथि ओलम्पियन निशा रावलले भाग लिने छन्।

टिम प्रशिक्षकमा जे हो ली तथा व्यवस्थापकमा भानबहादुर चन्द रहेका छन्।

विश्व च्याम्पियनसिपमै सहभागी टोलीले असार १८ देखि २३ गतेसम्म छुनचियोनमा हुने छुनचियोन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने छन्।

छुनचियोनमै हुने तेश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनाउने कार्यक्रम छ। असार १७ मा हुने उक्त प्रतियोगितामा ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुँदैछ।

पुरुषको ७५ केजीमुनि रोहितहाङ राई तथा महिलाको ४९ केजीमुनि रञ्जना धामी र ५८ केजीमा पलेशा गोवर्धनले सहभागिता जनाउने छन्। टोली नेतामा कासिम मियाँ धोबी, व्यवस्थापकमा दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा छन्।

त्यस्तै विश्व तेक्वान्दो च्याम्पियनसिपको उद्घाटनका अवसरमा अभिभावकका रुपमा तेक्वान्दो संघकी सदस्य नन्दा बस्याल तथा खेलाडीद्वय सपना नेपाली र सविन कार्की सहभागी हुँदैछन्। उनीहरु विश्व तेक्वान्दो महासंघको निमन्त्रणमा सहभागी हुन लागेका हुन्।

सपना नेपाली तेक्वान्दो संघले असाहय बालवालिका संरक्षित विभिन्न ८ संस्थामा सञ्चालन गरिरहेको तेक्वान्दो प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थी हुन् भने सविन सिन्धुपाल्चोकका भूकम्प पीडित हुन्।

टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल र तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले महानगरपालिकाकै सभाकक्षमा आयोजित एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे।

कार्यक्रममा मेयर महर्जनले लामो सयमदेखि स्थानिय तह पदाधिकारी विहीन भएकोले खेलकुदमा स्थानिय स्तरमा उत्साहजनक प्रगति नभएको बताउँदै अब खेलकर्मीले खेलकुदमा परिवर्तनको आभास गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell