PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकाको ट्विन टावरसँग माओवादीको जनयुद्ध कनेक्सन? प्रचण्डको खुलासा



रमेश वाग्ले

अमेरिकाको ट्विन टावरसँग माओवादीको जनयुद्ध कनेक्सन? प्रचण्डको खुलासा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरिक कारणले ढिला सुरु भएको जनयुद्ध बाह्य कारणले अन्त्य गर्नुपरेको स्वीकार गरेका छन्। पत्रकार उजीर मगरको पुस्तक 'अंश'को विमोचनमा अध्यक्ष प्रचण्डले अधिकांश समय पत्रकार युवराज घिमिरेले उठाएका र उठाउँदै आएका प्रश्नको जवाफमा खर्चिए। 

'नेपाल र नेपालीको हितमा हुने जुनसुकै आन्दोलन र परिवर्तन नेपाल र नेपालीकै क्रियाशीलतामा हुनुपर्छ भन्ने मान्यता राख्छु,' पत्रकार घिमिरेले भनेका थिए, 'त्यसैले पछिल्ला परिवर्तनप्रति मेरा आफ्ना तर्कहरु राख्दै आएको छुँ र त्यसको सुनुवाई नभए पनि इतिहासमा आर्काइभ हुन्छन भनेर आफ्ना धारणाहरु राखी नै रहने छु।'

घिमिरेले आफनो स्तम्भमा समेत सधैँ उल्लेख गर्ने तर्क प्रचणड प्रमुख अतिथि भएको कार्यक्रममा दोहोर्याैएपछि दाहालले करिब आधा घण्टा बोल्दा त्यसको दुई तिहाई समय उनकै प्रश्नको जवाफमा खर्चिए। 

प्रचण्डले पत्रकार घिमिरेको प्रश्नको आशय जनयुद्धको सुरुवात पनि नेपालमा थिएन भन्ने विषयबाट कुरा अघि बढाए। एकता केन्द्रको महासचिव हुँदा २०४४ सालमा जनयुद्ध सुरु गर्न भनेर हतियार र बिष्फोटक पदार्थसहित गोर्खाको सिरानचौरमा तालिम लिएको खुलासा गरे उनले।

'जनयुद्ध प्रचण्ड र बाबुरामको सनकका कारण सुरु भएको थियो भनेर व्याख्या गरियो भने त्यो संकुचित विश्लेषण हुन जान्छ। जनयुद्ध समयको माग थियो र धेरै राष्ट्रिय पक्षहरु (विकास, राजनीतिक, सामाजिक सांस्कृतिक, आर्थिकसहितका)को एकमुष्ट अभिव्यक्ति पनि थियो,' प्रचण्डले भने, 'यदि त्यस्तो हुँदैनथ्यो भने त्यो बीचमै निमोठिन्थ्यो र त्यसले यो उचाइ पनि प्राप्त गर्न सक्दैनथ्यो।'

जनआन्दोलनले रोकेको जनयुद्ध

'सिरानचौरमा तालिम सकेपछि एक दुईवटा चौकी आक्रमण गर्न सक्ने हैसियतमा हामी त्यसबेला पनि पुगेका थियौं,' प्रचण्डले भने, 'तर त्यतिबेलासम्म जनआन्दोलन सुरु भइसकेको थियो। आक्रमण गरेमा पञ्चायतलाई नै सहयोग पुग्छ र पञ्चायतकै मतियार भएको ठहर्छ भनेर मैले नै रोकेको हुँ।' 

उनले समयकै मागका कारण जनयुद्ध सुरुवात भएको भन्दै समयकै चापमा त्यसको अन्त्य पनि गरिएको बताए। राष्ट्रिय आवश्यकताबाट सुरुवात भएको जनयुद्ध अन्तर्राष्ट्रिय कारण अन्त्य गर्नैपर्ने भएकाले १२ बुँदे हुँदै शान्ति प्रक्रियामा टुंगिएको उनले बताए।

उनले जनताको साथ सहयोग लिएर उचाइमा पुगेको आन्दोलन बाह्य घट्नाक्रमका कारण रोक्न बाध्य भएको भन्दै घट्नाक्रम सुनाए। 

'यहाँ जनयुद्धले जनताको समर्थन समेत लिएर राम्रै उचाई हासिल गरेको थियो, त्यही समयमा अन्तर्राष्ट्रिय रुपमा केही घटनाक्रमहरु भए,' प्रचण्डले भने, 'त्यसमध्ये ट्वीन टावरको हमलापछि आतंकवाद विरुद्धको अभियान भन्दै विश्वभर साम्रज्यवादीहरुले शिर उठाउने मौका पाए।' उनले त्यसरी साम्रज्यवादी राष्ट्रहरुले सबैलाई आतंकवादीको टोकरीमा राखिदिँदा माओवादी युद्ध पनि संकटमा परेको बताए। 

'ट्वीन टावर हमला पछि जनस्तरमा पनि आतंकवाद अन्ततः घातक हुन्छ भन्ने धारणा बन्न पुग्यो,' प्रचण्डले भने, 'हामीसँग कि त युद्ध जारी राखेर पूरै सकिने वा पूरै जित्नेमध्ये एउटा मात्र बिकल्प बाँकी रह्यो।' 

उनले त्यसो गरेको भए अन्य देशमा जस्तै एक डेढ लाख मानिसले ज्यान गुमाउनुपर्थ्यो भने।

राजनीतिक रुपमा गरौं भन्दा दलहरुले सकेनन्

प्रचण्डले दलहरुसँगको वार्ता भएर पनि उनीहरुले नसकेपछि 'मालिक'सँग सिधै बार्ता गर्ने भनेर विज्ञप्ति जारी गरेको सुनाए। 'रोल्पाको लुसिबाङमा पहिलोपटक वार्ता भएको थियो। त्यहाँ एमालेका बामदेव गौतम र युवराज ज्ञवाली लगायत नेताहरु गएका थिए। तर, कांग्रेसका थिएनन्,' प्रचण्डले भने, 'त्यसको लगत्तै भारतको सिलगढीमा माओवादीकै आयोजनामा बैठक बसेको थियो। त्यहाँ रोल्पा वार्ताकै आधारमा कांग्रेस बाहेकका दलका प्रतिनिधि गएका थिए। तर, उनीहरुले संविधानसभाको माग पूरा गर्न तयार नुहुँदा समस्या समाधान हुन सकेन।'

त्यसपछि मालिकसँग वार्ता

दलहरुसँग कुरा गरेर पार नलागेपछि अब नोकरसँग हैन मालिकसँग सीधा बार्ता गर्ने भनेर विज्ञप्ति जारी गरेको उनले बताए। 'हामीले अब नोकरसँग हैन सीधा मालिकसँगै बार्ता गर्छौ भनेर विज्ञप्ति जारी गरेकै हौं,' उनले भने, 'कान्छो चै'को नाम के अरे (धीरेन्द्रसँग) वार्ता भइसकेकै थियो। तर, त्यसको लगत्तै जेठ १९ मा दरबार हत्याकाण्ड भयो।' उनले वीरेन्द्र धेरै सकारात्मक हुँदाहुँदै पनि वार्ता गर्न नै नपाएको गुनासो गरे।

ज्ञानेन्द्र नक्कली राजा भएकाले गर्न सकेनन्

'सक्कली राजा र नाटकीय ढंगले आएका नक्कली राजामा पनि फरक हुँदो रहेछ, राजकुमार दिक्पालको नक्कली र सक्कली कहानी जस्तै,' प्रचण्डले भने, 'हामीले पनि स्वदेशमै समस्या समाधान होस् भनेर ज्ञानेन्द्रसँग पनि वार्ता गर्दा हुन्छ कि भनेर प्रयास गर्यौंछ तर हुन सकेन।' 
उनले राजा वीरेन्द्रसँग ज्ञानेन्द्रको तुलनासम्म पनि हुन नसक्ने बताए।


ज्ञानेन्द्रमा नेतृत्व क्षमता नहुँदा दिल्लीमा १२ बुँदे

कुनै कुरालाई कसरी लिने र समस्या समाधान गर्ने भन्ने कुरा पनि नेतृत्वको क्षमतामा भर पर्ने भन्दै त्यही क्षमता ज्ञानेन्द्रमा नहुँदा १२ बुँदे सम्झौता दिल्लीमा गर्नुपरेको बताए। 

'ज्ञानेन्द्रमा नेतृत्व क्षमता भएन। त्यसैले उनी इतिहास बनाउने अवसरबाट चुके,' प्रचण्डले भने, 'त्यसैले युद्धलाई रोक्नै पर्ने अन्तर्राष्ट्रिय परिस्थिति र शान्ति प्रक्रियाको दवावले हामी दिल्ली पुगेर १२ बुँदे सम्झौता गर्न बाध्य भयौं।' 

उनले २९ मिनेट गरेको भाषणमा पटक पटक युवराज घिमिरेलाई सम्बोधन गर्दै 'युवाराज जी नोट गर्नुस्, जनयुद्धलाई निरपेक्ष ढंगले विश्लेषण गरेर त्यसको मर्मलाई बुझिँदैन' भन्दै ध्यानाकर्षण गराएका थिए। प्रचण्डले नोट गर्नुस् नोट गर्नुस् भनेपछि पत्रकार घिमिरेले नोट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell