PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'संशोधन नभई मधेशमा चुनाव हुन्न, र दिन्नौं भन्ने अतिवादी तर्क हुन्'



सूर्य खड्का

'संशोधन नभई मधेशमा चुनाव हुन्न, र दिन्नौं भन्ने अतिवादी तर्क हुन्'
तस्बिर : उज्यालो अनलाइन

नेकपा एमालेका सांसद लालबाबु यादव टेक्निकल्ली एमाले सांसद् देखिए पनि उनी वौद्धिक राजनीतिक विश्लेषक पनि हुन्। पेशाले प्राध्यापन र भुगोलका हिसाबले तराई मधेशको प्रतिनिधित्व गर्ने यादव चर्चामा रहिरहन्छन्। बढी चर्चामा यसकारण आउँछन् कि उनी तराई मधेशको मामलामा एन्टी करेन्ट तर्क र बहसमा उत्रिन्छन्। धेरैले तराई मधेशमा राजपाको चुनावी सहभागिता नहुनुलाई सरकारी कमजोरी भनिरहेका बेला यादव भने राजपाकै कमजोरीले उ चुनावी रेसमा छुटेको बताउँछन्। तराई मधेशमा चुनाव सफल हुने तर्क गर्ने यादवसँग पहिलोपोस्टका लागि सूर्य खड्काले गरेको कुराकानी :


निर्वाचन आयोगले असार ४ गते प्रदेश १, ५ र ७ मा भएको उम्मेद्वार मनोनयनलाई उत्साहजनक भनेको छ । के साँच्चै हो? यसले के संकेत गर्छ?

राम्रो सन्देश गएको छ। जनता चुनाव चाहन्छन् र जनतलाई भोट हाल्न हतारो छ भन्ने सन्देश हो मनोनयनमा देखिएको उत्साह। जुनजुन पार्टीले स्थानीय चुनावको विरोध गरे, उनीहरु उनीहरुकै कारण एक्लिने अवस्था रहेको पनि जनताले देखाइदिएका छन्।

राष्ट्रिय जनता पार्टीले केन्द्रमा सरकारलाई आन्दोलनको दबाब दिए पनि स्थानीय जनतासँग राजपाले विश्वास जित्न सकेको छैन भन्ने देखियो। केन्द्रमा तपाईँ ठूलाठूला माग गरेर सरकारलाई अप्ठ्यारो पारेँ भन्नुहुन्छ, तर स्थानीय तहमा जनतालाई त्यो कुराको सरोकार नै हुँदैन। राजपाको आन्दोलन वा विरोध बन्दका कुनै कार्यक्रम जनतासँग जोडिएका छैनन् भन्ने पनि देखायो।

जनतालाई आफ्नो गाउँ, टोल समाजमा विकास र परिवर्तन चाहिएको छ। आफ्नो कुरा सुनिदिने मानिस चाहिएको छ। अब 'भोट हालेँ मैले भने मेरो हक पाउँछु' भन्ने जनतामा चेतना आएको छ। यसकारण जनता बढी नै चुनावमा भोट हाल्न आतुर रहेका छन् भन्ने मनोनयनको शान्तिपूर्ण वातावरणले देखाउँछ। जनताको चुनावी क्रेज प्रमाणित भएको छ।

अर्को कुरा राजपा केन्द्रमा जति ठूलो र शक्तिशाली देखिए पनि ग्रासरुटमा उसको प्रभाव र पहुँच कम रहेछ भन्ने पनि उत्साहपूर्ण मनोनयनले देखाएको छ। मनोनयनको घटना केन्द्रीय मधेशवादी दलहरु भर्सेज ग्रासरुटका स्थानीय जनताको शक्ति परीक्षा जस्तो पनि भयो। स्थानीय समस्याको सरोकारमा ग्रासरुटका जनता सचेत छन् र उनीहरु अब चुनावबाटै स्थानीय सरकार छान्न उत्सुक छन् भन्ने पनि देखिएको छ।


राजपाले भन्छ मधेशका तमाम समस्या र उनीहरुका माग नै सम्बोधन नगरेकाले जनताले चुनाव चाहेका छैनन्। सरकारले जबर्जस्ती गर्यो भन्ने राजपाको गुनासो छ नि?

के तपाईँ मलाई राम्रोसँग चिन्नुहुन्छ? म को हुँ? मलाई मधेशका कुरा थाहा छैन होला? मैले समस्याको समाधानका लागि पहल नगरेको होला? तपाईँले मलाई तराई मधेशकै प्रतिनिधि भनेर यो कुरा गरिरहेको हैन?

पहिचान, पहुँच र प्रतिनिधित्वको ठूलो समस्या छ मधेशको। यो समस्या आजको भोलि जादु शैलीमा समाधान हुने पनि होइन। क्रमशः समस्या सुल्झँदै पनि जान्छ, समाधान गर्दै जानुपर्छ। तर, मधेशका पहिचान, पहुँच र प्रतिनिधित्व समस्याका समाधानको रोडम्याप र यो स्थानीय तह चुनावबीच कुनै सम्बन्ध छैन।

सरकारले अधिकारसम्पन्न स्थानीय तहमा निर्वाचित स्थानीय सरकार चयनको बाटो खोलेको छ। तराई मधेशका जनता त्यो अवसर उपयोग गर्न तयार देखिएका छन्। सरकारले जनताको भावना बुझेर नै चुनाव गर्न खोजेको हो।

जनताको सेन्टिमेन्टभन्दा ठूलो माग के हुन्छ तपाईँ नै मलाई भनिदिनुहोस न ल। जनताको खोजेको शान्ति र विकास। कति धेरै विकासका अवसरबाट बन्चित छन् जनता। चुनावमा भोट गरेपछि आउने सरकारले हामीलाई विकास दिन्छ भन्ने जनताको सेन्टिमेन्ट्स बनेको छ।


राजपाले मागेअनुसार संविधान संशोधन लगायतका काम त सत्तारुढ दल र सरकारले पूरा नगरिदिएको हो नि। राजपा सरासर गलत हो त?

यो सब बकबास हो। संविधान संशोधन र स्थानीय चुनावबीच कुनै सम्बन्ध नै छैन। संविधान संशोधन हुँदा र नहुँदा मैले के पाउछु वा के गुमाउछु भन्नेमा ग्रासरुटका जनतालाई मतलब नै छैन। संविधान संशोधनले ग्रासरुटमा के दिन्छ भन्नेमा हैन, भोट हाले मेरो कुरा सुन्ने मान्छे आउँछ भन्नेमा जनताको आस्था र विश्वास बढेको छ।

तपाईँहरुले के कुरा बुझिदिनु पर्‍यो भने मधेशका लागि संविधान संशोधन र स्थानीय चुनाव भनेका तरकारी र पाइजामा जस्ता दुई फरक वस्तु हुन्। यिनीहरुको आपसमा कुनै सम्बन्ध छैन र तिनको प्रयोग पनि भिन्न भिन्न अवस्थामा मात्रै हुन्छ। मधेशी जनतालाई अहिले चाहिएको विकास हो। विकासको बाटो चुनाव हो।

म धेरै जिल्लामा भर्खरै पनि घुमेर आएको छु। जनताको कुरा सुनेको छु। ग्रासरुटका मानिसलाई संविधान संशोधनसँग मतलब छैन। विकास चाहिएको छ, परिर्वतन होस्, सुख पाइयोस् भन्ने चाहना बढी छ। मधेशी जनतालाई देखाएर संविधान संशोधन नभई चुनाव हुन्न, हुन दिन्नौं भन्ने सबै अतिवादी तर्क हुन्।


सरकारले राजपालाई चुनावमा जाने वातावरण नै तयार नगरिदिएर घुमाउरो पारामा चुनाव बाहिर राख्ने षड्यन्त्र गर्यो भन्ने पनि त केही विश्लेषकहरका तर्क र राजपाका नेताहरुको चित्त दुखाई छ नि?

हेर्नुस् चुनाव भनेको के हो? चुनाव भनेको जनताको मत र विश्वास लिने हैन? जनताको विश्वास लिन कोही कसैले रोकेर रोकिन्छ? निहुँ खोज्नलाई यहाँ हजार बहान छन्। तर चुनावमा भाग नलिने, चुनाव हुनै दिन्न भन्ने र जनताको नाममा सधै चुनाव विरोधी रवैया देखाउने काम जजसले गरे, उनीहरु नै आफै एक्लिँदै बहिस्करणमा पर्दै गएको त स्पष्टै छ नि।

जनता भन्दा ठूलो र शक्तिशाली शक्तिको स्रोत कोही हुँदैन। जनताको भावना बुझेर अघि बढ्ने दलले नै जनमत पाउने हो। केन्द्रमा सरकारसँग, अन्य दलसँग जत्राजत्रा ठूला माग दाबी गरे पनि राजपाले किन आफ्नो घोषित बन्द र विरोधको कार्यक्रम बीच पनि उम्मेद्धवार मनोनयन रोक्न सकेन त? उसले जनभावना बुझेर विरोध गरेको भए त जनता नै मैदानमा विरोधमा गइहाल्थे। किन जनता विरोधमा गएनन् भन्ने अब उसले बुझ्नुपर्छ।

नवलपरासी, रुपन्देही लगायतका स्थानीय तहमा किन राजपाकै नेता कार्यकर्ता स्वतन्त्र बनेर उम्मेद्वार बनेका हुन त? पार्टी आन्दोलन र विरोधमा छ भन्ने ती उम्मेद्वार बन्नेहरुलाई वा प्रस्तावक समर्थकलाई थाहा थिएन?  उनीहरुले जनताको भावना बुझे र चुनावमा स्वतन्त्र हैसियतमा जाने निधो गरे। सर्वेन्द्रनाथ शुक्ला ठूला नेता हुनुहुन्छ, बुझेको नेता पनि हो । तर उहाँले किन स्थानीय तहमा कार्यकर्तालाई जानबाट रोक्नु भएन? यसको अर्थ के हो भने राजपाका केही सीमित नेताले मात्रै चुनाव नचाहेको हो। त्यहाँभित्र पनि चुनाव पक्षधरको बाहुल्यता छ।


असार १४ मतदानको दिन पनि त राजपाको बन्दसहितको विरोध छ । १४ मा पो राजपाले असली शक्ति देखाइदिएर चुनाव विफल पार्ने हो कि?

केही फरक पर्नेवाला छैन त्यो बन्दले। जनता झन् धेरै संख्यामा असार १४ मा मतदान गर्न जानेछन्। उनीहरुले भोट हाल्न नपाएकै २ दशक भैसक्या छ। जनताले चाहे पछि चाह्यो चाह्यो। कसैले रोक्न, छेक्न सक्छ भन्नेमा विश्वास गर्दिन।

राजपा पनि स्थानीय चुनावमा सहभागी होस् भनेर उसैलाई रिझाउन सरकारले २ नम्बर प्रदेशको चुनाव असोजसम्मका लागि सारेको छ। तै पनि राजपा चुनावमा आउने निश्चित छैन। अब के होला २ नम्बर प्रदेशको भविष्य?

सरकारले २ नम्बर प्रदेशको मात्रै चुनाव सारेर गल्ती त गरेकै हो। यही असार १४ मा नै गराउने हिम्मत गरेको भए पनि त्यहाँ चुनाव हुन सक्ने थियो। किनभने त्यहाँका जनतालाई पनि भोट हाल्ने रहर छ। अब सरकारले असोजमा पनि त्यहाँ कुनै पनि बहानामा चुनाव गराएन भने त स्थानीय जनताले भोट हाल्न पाउँ भनेर नाराजुलुश नै गर्ने छन्। हेर्नोस् जनताको लेभलमा उनीहरुका ठूला गुनासा र विद्रोहका कुरा छैनन्। मात्रै अवसर हामीले पनि पाउनुपर्छ भन्ने हो। जनताले मागेपछि त त्यहाँ चाहिँ चुनाव नगरेर हुन्छ र? २ नम्बरमा झन् अन्त भन्दा धेरै भोट खस्छ र शान्तिपूर्ण हुन्छ भन्ने मलाई लाग्छ।


तपाईँले भनेजस्तै सत्तापक्ष र सरकारले सबै ठीकठाक अवस्थामा तराई मधेशलाई राखिदिएको भए राजपा सधै किन असन्तुष्ट बन्थ्यो त? नागरिक समाज, अधिकारकर्मीहरु किन आन्दोलित हुन्थे? सीकेलाल स्तरका वौद्धिक तप्का पनि त आन्दोलनमा सडकमा त्यसै उत्रेका होइन होला नि?

मैले अघि नै भने नि पहिचान, पहुँच र प्रतिनिधित्वका हिसाबले तराई मधेशका जनता उपेक्षामा छन्। तर स्थानीय चुनाव बहिष्कार गरेर समाधान हुने समस्या होइनन् यी। अर्को कुरा ग्रासरुटका मधेशी दाजुभाइ दिदीबहिनीका दिनदिनका समस्या हामी जस्ता स्थानीय जनप्रतिनिधिलाई थाहा हुन्छ कि राजधानीमा बस्ने सीकेलालजीहरुलाई थाहा हुन्छ?

रियल मधेशीको भाषा, संस्कृति, परम्परा, रहनसहनको सिकेलालहरुले वास्तविक प्रतिनिधित्व गर्नुहुन्छ त? तपाईँ मिडियावालाहरुले ठूलो मान्छे बनाइदिएकाले मात्रै सिकेलालहरु ठूला बन्नु भएको हो। ग्रासरुटका मधेशीका वास्तविक पीडा नै उहाँहरुलाई थाहा हुन्न। सीके लालजीका छोराछोरी रातोबंगलामा पढ्छन्, उहाँ युरोपिएन युनियनको टोपी, अमेरिकन कोट, भारतीय पाइन्ट लगाउने अनि मधेशीको पक्षमा भाषण गर्ने गर्नुहुन्छ। यसले त्यो गरिब मधेशीको जीवनमा के फरक पार्छ? उहाँहरुले अंग्रेजीमा मधेशीका कथा व्यथा लेखेर, बेचेर के कुनै मधेशीको उत्थान र प्रगति भएको छ कि अब हुन्छ? ग्रासरुटको मान्छेको भावना त पहिले बुझिदिनुस् अनि मात्रै उसको ठेक्का लिनुस् तपाईँ। तपाईँको सुविधाको लागि तराई मधेशलाई कार्ड बनाएर क्रान्तिकारी हुन पाउनुहुन्न तपाईँ मिडियावालहरु पनि।


राजपा पनि स्थानीय चुनावमा नजाने भएपछि डा. सीके राउतपन्थीहरु तराई मधेशमा हावी हुन्छन् भन्ने पनि छ नि?

तपाईँ तराई मधेश क्षेत्रमा कति जाने गर्नुहुन्छ ? कतिजनासँग यस विषयमा बहस, छलफल गर्नुभएको छ? स्थानीय मान्छेको कुरा कति सुन्नु र बुझ्नु भएको छ? खाली काठमाडौंमा बसेर भनिदिने कि अब यसो हुन्छ उसो हुन्छ? यदि सिके राउतहरुले भनेको जस्तो हुने भए आइतवाको मनोनयन त पूरै भाँडिनुपर्ने नि। किन भाँडिएन? कहाँ देखियो त उनको प्रभाव? सिके राउत पनि मिडियाले बनाएका बाघ मात्रै हुन्। तराई मधेशका जनता हतियार वा अशान्ति गर्ने पक्षमा छैनन्। उनीहरु अतिवादका पक्षधर हुन सक्दैनन्। हिंसालाई तराई मधेशले स्वीकृति दिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell