PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हरेक वर्ष सय जनामा ११ जना दुर्व्यसनी थपिँदै



सविन ढकाल

हरेक वर्ष सय जनामा ११ जना दुर्व्यसनी थपिँदै
प्रतीकात्मक फोटो : Iconfinder.com

काठमाडौं : देशभर लागूऔषध प्रयोगकर्ताको सङ्ख्या वर्षेनी ११ प्रतिशतले थपिँदै गएको लागू ‌औषध नियन्त्रण व्युरोको तथ्याङ्कले देखाएको छ। 

अहिले देशभर कडा किसिमको लागुऔषध सेवन गर्ने प्रयोगकर्ताको सङ्ख्या १ लाख ४१ हजार ८ सय ३४ जना रहेको छ। व्युरोका प्रमुख एसएसपी धिरु बस्न्यातले २ लाख प्रयोगकर्ता दुर्व्यसनीबाट निस्कनै नसक्ने गरी फसेको जानकारी दिए। उनले भने यसरी लागू औषध प्रयोग गर्नेहरुमा १५ देखि २५ उमेर समूहका युवापुस्ता बढी छन्। सुई प्रयोगकर्ताको सङ्ख्या ५२ हजारको हाराहारीमा छन्। पछिल्लो समयको ट्रेन्ड हेर्दा पुरुषभन्दा महिला लागू औषध प्रयोगकर्ताको सङ्ख्या थपिँदै गएको छ।

कूल लागूऔषध प्रयोगकर्तामध्ये १० प्रतिशत महिला रहेको तथ्याङ्कले देखाउँछ। देशमा गाँजा, अफिम र फर्मास्युटिकल ड्रग प्रयोग गर्नेको सङ्ख्या बढी रहेको छ। अवैधरुपमा संचालन भएका ‌औषधि पसलहरुमा समेत अहिले सजिलै लागू औषध पाउने भएकाले पनि प्रयोगकर्ताहरु बढ्दै गएका छन्। एसएसपी बस्न्यात भन्छन्, 'पछिल्लो समय सबैभन्दा बढी र सजिलै पैसा कमाउन सक्ने थलो लागू औषधको कारोबार बन्दै गएको छ। २०३३ सालमा लागू भएको ऐन अहिलेसम्म परिमार्जित नहुँदा कामकारवाहीमा समेत समस्या रहेको छ। सुर्तीजन्य पदार्थ, मदिरा हुँदै लागू औषधमा पर्ने गरेको देखिएको छ। घरपरिवार र विद्यालयका शिक्षकहरुले गरेको धुम्रपान र मध्यपानको कारणले पनि युवापुस्ता अम्मली बन्ने गरेको गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले बताए। ६० जना सरकारी विद्यालयका शिक्षकहरुमा गरिएको सर्वेक्षणमा ५० शिक्षकले मदिरा सेवन गर्ने गरेको र आधाभन्दा बढीले सुर्तीजन्य पदार्थ खाने गरेको पाइएको न्यौपानेले बताए। 

न्यौपाने भन्छन्, 'घरपरिवार र विद्यालयका शिक्षकबाट नै सुधारको कदम नचालिए नेपालमा दुर्व्यसनीको सङ्ख्या कम हुँदैन।' 

लागू ‌औषधबाट छुटाउनका लागि देशभर १ सय ५० वटा पुर्नस्थापना केन्द्र संचालनमा छन्। तर, यस्ता केन्द्रमा उपचारको लागि १० प्रतिशतमात्र दुर्व्यसनी पुग्ने गरेको नार्कोनन नेपालका संचालक बसन्त कुँवरले बताए। कुँवर नेपालमा ४ देखि ५ लाख मानिसले लागू औषध सेवन गर्ने गरेको दावी गर्छन्। पछिल्लो समय प्रेमीबाट १० प्रतिशत युवती औषधि सेवन गर्ने गरेको उनले बताए। 'विद्यालयस्तरमा नै लागू औषध सम्बन्धि विषय समेटिए प्रयोगकर्ताको सङ्ख्या कम गर्न सकिने बताउँछन् उनी। लागू औषध प्रयोगकर्तामा ६० प्रतिशत चिकित्सक र ५० प्रतिशत इन्जिनियर समेत रहेको उनले बताए। 

६ वर्षमा १७ हजार पक्राउ

लागू औषध प्रयोगकर्ता बढेसँगै लागू औषध कारोबारमा संलग्नहरु पक्राउ परिरहेका छन्। तर, यसरी पक्राउ पर्नेहरुमा मुख्य नाइकेभन्दा पनि भरियाहरु बढी रहेको प्रहरी बताउँछ।

प्रहरीले लागू औषध कारोबारीको जरैसम्म पुग्ने बताए पनि अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय गिरोह भने पक्राउ पर्न सकेका छैन।
सन् २०११ देखि २०१७ को तीन महिनामा कूल १७ हजार ४ सय ८४ लागू औषध ओसारपसारमा संलग्नहरु पक्राउ परेका छन्। 
सन् २०१६ मा सबैभन्दा बढी ३ हजार ६ सय ९६ जना कारोबारी पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा १ सय १३ जना भारतीय छन् भने २६ जना अन्य देशका रहेका छन्।

सन् २०१७ को मार्चसम्म ७ सय ६७ जना पक्राउ परिसकेका छन्। सन् २०११ मा २ हजार १ सय ७४, २०१२ मा २ हजार ६ सय, २०१३ मा २ हजार ६ सय ७३, २०१४ मा २ हजार ९ सय १८ र २०१५ मा २ हजार ६ सय ५६ लागू औषध ओसारपसारमा संलग्न र प्रयोगकर्ता पक्राउ परिसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell