PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोशी पारी उत्सव र नाचगान, वारी सुनसान (प्रदेश १ बाट स्थलगत रिपोर्ट)

कोशी पारी उत्सव र नाचगान, वारी सुनसान (प्रदेश १ बाट स्थलगत रिपोर्ट)

उमेश श्रेष्ठ/पहिलोपोस्ट


लहान :  पूर्वपश्चिम राजमार्गबाट झापा, मोरङ, सुनसरी हुँदै आइतबार सप्तरी प्रवेश गर्दा दुई फरक किसिमको वातावरण हेर्न पाइयो। प्रदेश मात्र हैन परिवेश नै फरक। कोशी पारी उत्सवजस्तै माहौल र नाचगान। वारी भने बिल्कुल सुनसान।

बिहान ८ बजेदेखि दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको थियो। एकाबिहानै हामी मनोनयन दर्ताको रमझम हेर्न पुगेका थियौँ झापाको बिर्तामोड नगरपालिका। ८ बज्न बाँकी रहेकोले त्यहाँ मनोनयन दर्ता भइसकेको थिएन। नजिकैको अर्को भद्रपुर नगरपालिका पुग्दा ८ बजिसकेको थियो। तर ठूला दल कुनै पनि त्यहाँ आइसकेको थिएन। 

नजिकैको चियापसलमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिका उम्मेदवारहरु भेला भइरहेका थिए। पार्टीका एक पदाधिकारी मनोनयन दर्ता फारामहरु रुजु गर्दै थिए। 'दर्ता गर्ने पहिलो दल त हामी नै हुन्छौँ होला,' उनी भन्दै थिए। 

ठूला दलहरु नआए पनि स्वतन्त्र उम्मेदवारहरु भने फर्स्ट भइसकेका थिए उम्मेदवारी दर्ता गर्नमा। जिल्ला विकास समितिको भवनमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मेयरको पहिलो उम्मेदवारमा स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद भट्टराईले मनोनयन दर्ता गरे। 

चन्द्रगढी गाविसमा एमालेका तर्फबाट पूर्व अध्यक्ष रहेका भट्टराईले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। साविकको महेशपुर, चन्द्रगढी र पृथ्वीनगर गाविस गाभेर भद्रपुर नगरपालिकामा बनाइएको थियो। 

भट्टराई दङ्ग थिए। निर्वाचन आयोगका कर्मचारीले भट्टराईले गोजीमा हालिसकेको मनोनयन पत्र फेरि निकाल्न लगाएर फोटो सेसन पनि गराए।
त्यस्तै ८० वर्षका वृद्ध हीरालाल डंगोलले पनि वडाध्यक्षमा उम्मेदवारी दर्ता गरे। 


दलका भने कोही आएका थिएनन्। बाहिर भने संघीय समाजवादी/नयाँ शक्तिकी उपमेयर उम्मेदवार शर्मिला आङदेम्बे फेवादिन लिम्बु भेटिइन्। पहिचान झल्कने पोशाकमा सजिएकी उनले संघीयता समाप्त पार्ने षड्यन्त्र भएकोले आन्दोलनकै रुपमा आफ्नो पार्टीले निर्वाचनलाई उपयोग गरेको बताइन्। 

दलगत उम्मेदवारी किन ढिला भयो भन्ने जवाफ भने बिर्तामोडतिर फर्कँदै गर्दा भइरहेको माइकिङले प्रष्ट भयो, 'उम्मेदवारी दर्ता गर्न जाने कार्यक्रममा सहभागी भइदिन अनुरोध छ।'

झापादेखि कञ्चनपुरसम्मकै उम्मेदवारी दर्ता गर्ने कार्यक्रमलाई प्रभावित पार्नका लागि बन्दको घोषणा गरे पनि राजपा नेपालको उपस्थिति झापामा देखिएन। सुरक्षाकर्मीले राजगढ र सताश्रीधाममा केही हुनसक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। 

राजगढ यसअघि सिके राउत पक्राउ परेको ठाउँ थियो भने राजमार्गसित जोडिएको सताश्रीधाममा नेत्रविक्रम चन्द 'विप्लव'को प्रभाव देखिन्छ। यद्यपि दुवै ठाउँमा शान्तिपूर्ण रुपमै उम्मेदवारी दर्ता सम्पन्न भएको खबर पछि थाहा पाइयो। 

जुलुस, नाचगान र उत्सव

झापाबाट मोरङ र सुनसरी हुँदै जाँदा राजमार्गका ठाउँठाउँमा जुलुस, नाचगान र उत्सव देख्न पाइयो। जहाँ जहाँ निर्वाचन अधिकृतको कार्यालय छ, त्यहाँ वरपर नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका जुलुस देखिन्थे। अधिकांशले आफ्नो पार्टीको चुनाव चिह्न अंकित टिसर्ट लगाएका थिए। कतिपय ठाउँमा उनीहरु नारा लगाइरहेका पनि हुन्थे। यी तीन दलले उम्मेदवार घोषणा सभा पनि राखेका थिए।

बाहिरी वातावरण हेर्ने हो भने मुख्य प्रतिस्पर्धा यिनै प्रमुख तीन दलको देखिन्छ। त्यसबाहेक उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम/नयाँ शक्तिको नगण्य उपस्थिति देखिन्छ। विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरमको उपस्थिति त्योभन्दा कम देखिन्छ। 

मधेस आन्दोलनमा सहिद भएकाहरुको स्मृतिमा बनाइएको सहिद गेटबाट भित्र प्रवेश गरेर इनरुवा नगरपालिकाको मनोनयन दर्ता सहज र शान्त ढंगले भइरहेको दृश्य हेरियो। बन्दले यहाँ कुनै प्रभाव पारेको थिएन। 

सुनसरीको लौकहीको कोशी गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न भारतीय नम्बर प्लेट भएका गाडीमा एमाले र संघीय समाजवादी फोरमको झण्डा गाडेर समर्थकहरु आएका थिए। अलि अव्यवस्थित यो ठाउँमा अँध्यारो कोठामा सहजताका साथ उम्मेदवारी दर्ता भइरहेको थियो। मधेसी उम्मेदवारहरु लाइन लागेर उम्मेदवारी दर्ता गराउँदै थिए। 

कोशी तरेपछि सुनसान

कोशी नदी पारीको रमझम वारी पुगेपछि सुनसानमा परिणत भयो। बन्द घोषणा गरिएको हुनाले हाइवेमा गाडी खासै कुदेका थिएनन्। सप्तरी जिल्ला प्रवेश गर्ने बित्तिकै एक ठाउँमा राष्ट्रिय जनता पार्टीको झण्डा बोकेका आन्दोलनकारी सडकमा देखिए। 

कोशी पारी घरघरमा चुनावी झण्डा फहराइएको देखिन्थ्यो। यता भने कतै पनि चुनावी झण्डा देख्न सकिन्न। 

सिराहाको लहान चोकमा साँझ एउटा कोणसभा भइरहेको थियो जसमा एक महिला आन्दोलनमा अनुशासन र धैर्य अपनाउन आग्रह गर्दै थिइन्।

शायद् यो आजको आन्दोलनको विसर्जन सभा थियो। हरेक रात आन्दोलनकारी घर फर्किएपछि राजमार्ग ब्युँतन्छ। दिनभर शान्त रहेको हाइवेमा गाडीहरु हुँइकिन थाल्छ। राजपाले आजै एउटा अर्को विज्ञप्ति जारी गरेको छ- जसमा आन्दोलन र बन्दका कार्यक्रम जारी रहने भनिएको छ। रमजानको अघिल्लो दुई दिनमात्र बन्द खुल्ला हुनेछ। 
    
 
म्यादी प्रहरीको सुरक्षा
भद्रपुरमा उम्मेदवारी दर्ता गर्दै।
भद्रपुरका स्वतन्त्र मेयर उम्मेदवार भट्टराई।
झापामा सेनाको गस्ती।
इनरुवा नगरपालिकाका उम्मेदवारहरु


ट्रेन्डिङ पोस्ट

Ncell