PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरुको 'लभ सेक्स और धोका' : सुन्दर अनुहारभित्र लुकेको डरलाग्दो अपराध 



सविन ढकाल

सरुको 'लभ सेक्स और धोका' : सुन्दर अनुहारभित्र लुकेको डरलाग्दो अपराध 
प्रतीकात्मक फोटो : www.theodysseyonline.com

काठमाडौं : 'म सरु केसी बोलेको। कामको खोजीमा छु,' मलिन स्वरमा सरुको कल व्यवसायीको मोबाइलमा सुनिन्थ्यो, 'मलाई रोजगारी दिन सक्नुहुन्छ? जस्तो काम पनि गर्न तयार छु।' 

१९ वर्षीया किशोरी। मधुर आवाज सुनेपछि व्यवसायीको चासो बढ्ने नै भयो। सरुको आवाजले व्यवासायीलाई रेस्टुरेन्टतिर तान्थ्यो। त्यसपछि उनले 'जस्तो काम पनि गर्न तयार छु' भन्ने बोलीले लठ्याउँथ्यो। त्यसपछि सरुको रुपले तान्थ्यो। 

उनको रुप र यौवन देखेपछि त्यसपछि उनले फोन गर्न पर्दैन थियो। उल्टै फोन आउँथ्यो 'जागिर दिन्छु।' त्यसपछि सुरु हुन्थ्यो प्रेमलाप। सरुसँग रुम सेयर गरिरहँदा प्रहरी आइपुग्यो। हथकडीसहित। प्रहरीले समात्थ्यो। व्यवसायमा संलग्न भएको व्यक्ति युवतीसहित पक्राउ परेपछि के गर्छ? त्यो पनि जागिर दिने प्रलोभनसहित। व्यवसायीले डिलको ट्राइ गर्थ्यो। प्रहरी पनि मिल्थ्यो। र, हुन्थ्यो ठूलै लेनदेन। 

यो क्रम चलिरह्यो सरुसँग लठ्ठिने र सरुसँगै प्रहरीले पक्राउ पर्नेक्रम व्यापारीहरुबीच सामान्य हुँदै गयो। प्रहरीले थर्काउँदा उनी 'मलाई जबर्जस्ती ल्यायो' पनि भन्न भ्याइदिन्थिन्।

सरु अर्थात् आसिका

दुई वर्ष अगाडि दाङको घोरहीबाट जागिर खाने अनि केहि समयमा विदेश जाने भन्दै उनी काठमाडौं आइपुगिन्। उनकै गाउँका ३१ वर्षीय दाई कोमानन्द खड्काले काठमाडौंमा जागिर लगाइदिने भन्दै ल्याएका थिए उनलाई। काठमाडौं ल्याएपछि खड्काले नै उनको बसोबासको व्यवस्था मिलाए। 

खाने बस्ने व्यवस्था मिलाए पनि काठमाडौं आएको केही समय भइसक्दा पनि उनले भने जस्तो जागिर भने पाइनन्। नत विदेश नै उडाइदिए कोमानन्दले। एसलएसीमात्र पास गरेकी उनलाई जागिर पाउन पनि मुस्किलै थियो। समयक्रमसँग उनले रुपको सुन्दरतालाई 'प्रयोग' गर्दै एउटा नाटकीय भूमिका पाइन्। जिम्मेवारी दिए उनै कोमानन्दले। यो रोलमा उनी छिट्टै फिट भइहालिन्।

र, उनको नियमित ड्युटी नै बन्यो धनाढ्य ब्यापारीलाई कल गर्ने। जागिर माग्ने। नाम बन्यो सरु केसी। सक्कली नाम आसिका परियार।

नक्कली पुलिस नक्कली प्रेमिका

केही दिनको परिचय र बोलचालपछि जोकोही पनि उनको माया जालमा फस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। होटेलको चिया कफीबाट उनी 'सिकार' लाई कोठामा लग्थिन्। कोठा रहँदा रहँदै सिकारलाई तर्साउन अपरिचित व्यक्ति आउँथे। तिनका साथमा प्रहरीको संचार सेट, हत्कडी र पेस्तोल समेत हुन्थ्यो। आफूलाई सिआइवी प्रहरी भएको बताउँथे। 

राजीखुसी कोठामा ल्याएको व्यक्तिलाई 'जवर्जस्ती गरेको भन्दै' सुनाउन पछि पर्दैन थिइन्। प्रहरी नक्कली भन्ने कुनै आधार छैन र युवतीको जालमा फसिसकेपछि 'सिकार' पनि चल्न चटपटाउन सक्दैन। 

त्यही रकम दिँदै डिल समाप्त गर्ने वा थुनामा पर्नु 'सिकार'को बाध्यता हुन्थ्यो। 

अन्तत: नक्कली प्रहरी सक्कलीको फन्दामा

केन्द्रीय अनुसन्धान व्युरोले नक्कली सिआइवी बन्दै ठगी तथा अपहरण गर्ने चार जनालाई पक्रेको व्युरोका एसपी मिरा चौधरीले बताइन्। आसिकाको काम नै फोन गरेर व्यपारीलाई आफ्नो रुप र माया जालमा पारी कोठासम्म ल्याउने रहेको उनले बताइन्। 

सुरुमा अपराधमा लाग्न नचाहे पनि कोमानन्दको अपराधको जालोमा फस्दै गएको चौधरीले बताइन्। उनी गिरोहका कुविन भनिने कोल बहादुर थापा मगरको प्रेमिका समेत भएको खुलेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell