PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हाम्रा सबै होटल अण्डर सोल्ड छन्



हाम्रा सबै होटल अण्डर सोल्ड छन्
टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष बसन्तराज मिश्र

हाम्रो आइडेन्टिटी भनेको होटल र टेम्पल टाइगर नै हो । हामी वाइल्ड लाइफको पायोनियर पनि हौं । पार्क भित्रबाट हामीलाई बाहिर निकालियो । आइडेन्टिटी भएकै कारण रातारात बाहिर होटल बनायौं । अब हामी राजधानी भित्रै होटल बनाउछौं । यो स्टार होइन बुटिक होटल हो, काम अघि बढाइ सकेका छौं 
---
हामीसँग योजना नभएर, थाहा नपाएर बिग्रिएको होइन, कार्यान्वयन पक्ष बलियो नभएर बिग्रिएको हो । राजनीतिक इच्छा शक्ति नभएर बिग्रिएको हो । यो मेरो क्याडर हो, १२ बर्ष जेलनेल भोगेको छ, जे काम पनि गर्न सक्छ भन्ने सोच राख्नु भएन, मेरिटोक्रेसीमा जानुपर्छ
---
होटलको रेट र मुल्यलाई जोड्नु भयो भने हाम्रा सबै होटल अण्डर सोल्ड हुन नि । जग्गाको मुल्य बेचेर व्याजसहित हिसाव गर्नु भयो भने यो देखिन्छ । व्याज जतिसुकै होस न अहिले नाफा छ भने त्यसमा होटल राखेर नाफा छैन । आजभन्दा सात आठ वर्ष अघि हङकङमा ९० प्रतिसतसम्म अकुपेन्सी भएका होटल ढालेर अपार्टमेन्टमा कन्भर्ट गरिदिए, त्यसमा उनीहरुले नाफा देखे । अहिले यहाँ आफ्नै सम्पत्ती हो भनेर बनाएका छौं, भाडा तिर्नुपर्दैन
---
टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष बसन्तराज मिश्र पर्यटन क्षेत्रकै पायोनियर मानिन्छन् । जंगल सफारी र रिसोर्टमा उनको विशेष दख्खल छ । पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिन राज्यले कन्जुस्याई गरेको उनी बताउँछन् । बिजमाण्डू सम्पादक सरोज काफ्ले र प्रभात भट्टराईले मिश्रसँग सोधे, रोजगारी सिर्जना र गरिबी घटाउन पर्यटन क्षेत्रको योगदान किन थोरै ?
 
वर्षौदेखि पर्यटनलाई रोजगारी सिर्जना र गरिवी निवारणको प्रमुख माध्यम हो भनेर सरकार र निजी क्षेत्रले व्याख्या गर्दै आए । तर, व्यवहारमा पर्यटन प्राथमिकतामा देखिँदैन, रोजगारी सिर्जना र गरिवी निवारणमा पनि निकै थोरै योगदान छ ?
होइन, यसलाई तपाईले भनेजस्तो गरि मात्रै हेर्न मिल्दैन । गरिवी निवारण नभएको होइन । जुन जुन ठाउँमा पर्यटकीय गतिविधि धेरै छ त्यहाँ त मानिसहरु धनी भएका छन्, गरिवी घटेको छ । जस्तो खुम्जुङको, चितवनको, पोखराको, घान्द्रुक तथ्यांक हेरौं न । जुन ठाउँमा ट्रेकिङ रुट छन्, ती ठाउँका मानिसले आम्दानीका धेरै अवसर पाएका छन् । वर्ल्ड टुरिजम अर्गनाइजेसनको तथ्यांकले के भन्छ भने एक पर्यटक आउँदा विकासोन्मुख मुलुकमा १३ जनाले काम पाउँछन् । विकसित मुलुकमा पनि सातदेखि नौ जनाले काम पाउँछन् । हामी पनि सानै काम गरेर यहाँसम्म आइपुगेको हो । ट्रेकिङ कम्पनीका अहिलेका मालिकहरुले पहिले त्यही कम्पनीमा सानो ठूलो काम गरेका थिए । कतिले गाउँमा साना ठूला होटल चलाएका छन्, टुरिष्टले खाने होटलमात्र छैनन्, तीनका पोर्टरले खाने होटल पनि त खुलेका छन नि । यहाँबाट पनि आम्दानी भइरहेको छ । 

तर, यसको हिसाब देखिएको छैन । स्याटलाइट एकाउन्टिङ सिस्टम नभएको कारण यसको हिसाब आएन । टुरिजमबाट सोझै डलर आएको मात्रै हामी हिसाब गर्छौ, यसको ट्रिकल डाउन इफेक्ट कहाँसम्म गएको छ, गाउँका मानिसले के फाइदा पाएका छन् भनेर हामीले हेरेका छैनौं । प्रमुख सवाल के हो भने जब हामीलाई पर्यटनले फाइदा हुन्छ भन्ने थाहा हुँदाहुदै किन यी निश्चित ठाउँमा मात्रै बस्यौं त ? नेपालको त हरेक ठाउँमा पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । पर्यटनमा ठूलै विकास गरिसकेका मुलुकको भन्दा हाम्रा गाउँहरु राम्रा छन् । तर ती गाउँमा पर्यटन प्रवर्ध्दन भएन । कारण के हो भने पूर्वाधार नै भएन । यस्तो पूर्वाधार न त पर्यटन बोर्डले बनाउन सक्छ न त निजीक्षेत्रले मात्रै बनाउन सक्छ । यहाँ त सरकारले बनाइदिनु पर्छ ।
 
तपाँईको भनाई अर्थ यस्तो बुझौँ कि सरकारले पूर्वाधारमा चाहीँ लगानी बढाउँदैन तर पर्यटन रोजगारी सिर्जनाको प्रमुख माध्यम हो भनिरहन्छ ?
पूर्वाधारकै कुरा गुर्नहुन्छ भने खै त हाम्रो पर्यटनमा ठूलो विस्तार भएको ? विस्तार भएकै छैन । तर, संसारलाई नेपाल थाहा छ । यति ठूलो ब्राण्डनेम बनेको छ कि यो मुलुक त एक पटक जानै पर्ने ठाउँ हो, यति राम्रो मुलुक हो भन्ने छ । कहाँको पर्यटकलाई थाहा नहोला र नेपालमा एभरेष्ट छ, लुम्बिनी छ नौ वटा त विश्व सम्पदा सूचीमा परेका स्थान छन् । तर पूर्वाधार नभएकै कारण विस्तार भएन । भारतले दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो पटक विस्तार गरिसक्यो, बैंककले चौथो पटक, तर हाम्रो भएको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि बीसौं वर्षदेखि जस्ताको त्यस्तै छ, वैकल्पिक विमानस्थल छैन । आन्तरिक विमानस्थलको अवस्था त्यस्तै छ । क्षेत्रीय स्तरका विमानस्थल बनाउन सकेका छैनौं । यत्रो वर्षपछि बल्ल पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा गरिरहेका छौं । पर्यटक घुम्ने ट्रंक रुट पोखरा, चितवनलगायतमा जाने सडकको अवस्था निकै खराब छ । त्यसमा पनि अहिले नेपाललाई कालो सूचीमा राखिदियो । उनीहरु बैंकक र भारतसम्म आएर लामो समय बिताउने तर नेपाल आएर मात्रै फर्कने अवस्था सिर्जना भएको छ । नेपाल यत्रो ब्राण्डनेम भएको मुलुक हो त्यसैले पुग्नुसम्म पर्छ भनेर आउने तर धेरैदिन नबस्ने अवस्था छ । त्यसैले यो सबै पूर्वाधार नभएकै कारणले हो । 
 
पर्यटक भित्र्याउन पूर्वाधार चाहिन्छ भन्ने जानकारी त सरकारी अधिकारी र निजीक्षेत्र सबैलाई थाहा छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन बन्छ भनेर सरकार र निजीक्षेत्र दुबै पक्षले भन्छन तर के कारण पूर्वाधार बनेनन् ?
राजनीतिक इच्छाशक्ति नभई केही पनि हुँदैन । हाम्रोमा स्थिर सरकार कहिल्यै भएन । काठमाडौंलाई यस्तो अवस्थामा राख्न हुन्थ्यो त ? अहिलेसम्म पनि क्योटो, मिलान, फ्लोरेन्स, पेरिस, रोम त्यस्ता छन्, त्यसरी नै राखिएका छन् । हामीले काठमाडौंलाई लिभिङ म्युजियम भनेर लेखेका थियौं । ‘म्युजियम विथ आउट वाल्स’। यति सानो ठाउँमा यतिधेरै हेरिटेज साइटहरु छन् । एउटा काठमाडौं भ्यालीले अरु सात वटा यस्तै स्थान बनाउन सक्थ्यो, यसलाई मेन्टेन गरेर राख्न सकेको भए । अहिलेसम्म पर्यटनमा जति काम भएको छ, त्यसमा निजीक्षेत्रकै प्रमुख योगदान छ, म निजीक्षेत्रको व्यक्ति भएर मात्रै यसो भनिरहेको छैन । राजनीतिक इच्छाशक्ति भएन, पर्यटन विकासका लागि दृष्टिकोण पनि भएन ।

पर्यटन बोर्ड स्थापना गर्दा कस्तो उत्साह थियोल्, दक्षिण एशियामा सबैले तारिफ गरेका थिए तर आज बोर्डको अवस्था हेर्नुस त । बोर्डस्थापना कालको एउटा सदस्य म पनि हो । त्यसैले पर्यटनलाई हामीले ग्राण्टेड मान्यौं, आइहाल्छ, भइहाल्छ भनियो । तर पर्यटन भनेको त्यस्तो मात्रै होइन, संसारका अधिकांस मुलुकले यो सोफेष्टिकेटेड उद्योग हो, सफा राख्छ, रोजगारी सिर्जना गर्छ, त्यसैले यो आम्दानीको प्रमुख माध्यम पनि हो ।

चीनकै उदाहरण हेर्नुस, पछि आएर पनि उसले पर्यटनबाट सबैभन्दा धेरै लाभ लिइरहेको छ । पहिले पुर्वी युरोप थिएन, चीन थिएन, धेरै मुलुक थिएनन्, तर अहिले त हरेक मुलुकले पर्यटन प्रवद्र्धन गर्ने भनिरहेका छन् । प्रतिस्पर्धा बढ्दा पनि हाम्रो मुलुकले प्राथमिकतामा राखेन, मेगा आयोजना त सरकारले बनाउनु पर्छ । निजीक्षेत्रले मार्केटिङ गर्नसक्छ, सेवा दिन सक्छ तर ठूला पूर्वाधारका आयोजना बनाउन सक्दैन । सेवा कै कुरा गर्नुहुन्छ भने नेपाल सेकेन्ड टु नन् छ ।
सेवा र मार्केटिङमा निजीक्षेत्रले दक्षता देखाएको छ त ?
सेवामा पनि केही कुरा बिग्रिएको छ । जब श्रम कानुनमा स्पष्टता भएन त्यसले समस्या सिर्जना गरेको छ । हायर एण्ड फायरमा यस्तो समस्या छ कि यसको कुनै कानुन पनि छैन र फायर गर्न पनि सक्नुहुन्न । युनियनहरु यत्ति बलियो भए । यसको प्रभाव सेवाको गुणस्तरमा पर्यो । अन्य मुलुकमा सेवाको गुणस्तर बढ्दै गयो, नेपालमा घट्यो । यसमा युनियनका साथीहरुले चित्त नबुझाउनु होला तर यो वास्तविकता हो । मैले नेपाल उद्योग परिसंघमा पनि उपाध्यक्षको हैसियतले लेबर नै हेर्छु । यहाँ हायर एण्ड फायरले नेपालका श्रमिकलाई कुनै असर गर्दैन । किनभने नेपालमा क्वालिटी म्यानपावर नै छैन । भएको राम्रो कामदारलाई कसले छाड्न खोज्छ र ? यसले व्यालेन्स मात्रै हुने हो । को सही को गलत एकछिन छाडौं । जुन किसिमले सेवा बढ्नु पर्थ्यो त्यो भएन । राजनीनिक अस्थिरता र पूर्वाधार विस्तार पनि भएन, नीति पनि आउन सकेन । यसले मार्केटिङमा पनि समस्या भयो । हामीले आठौं पञ्चवर्षीय योजनामै आठ प्रतिसतले पर्यटक आगमन बढ्छ भनेका थियौं । त्यसरी बढेको भए अहिले २० लाख पर्यटक आउँथे । त्यसकारण हाम्रो ग्रोथ त भएको छैन । तर प्रोडक्टवाइज निजी क्षेत्रको लगानी बढेको छ । अहिले नै आठ नौ वटा होटल आउँदैछन । चितवन र पोखरामा त्यति धेरै होटलहरु आए ।तर नयाँ ठाउँमा चाहीँ जान सकेनन् । यसलाई पूर्वाधारले रोक्यो, नीतिले सम्बोधन गरेन ।
 
पर्यटकको संख्या बढेको छैन । तपाईले नै भन्नुभयो, सेवाको गुणस्तर पनि बढेको छैन । यस्तो अवस्थामा मुलुकभर निर्माण भइरहेका झण्डै एक दर्जन तारे होटललाई व्यापार पुग्ला त ?
निजीक्षेत्रले जहिले पनि जोखिम मोल्छ, उ कर्जा लिन्छ, रोजगारी सिर्जना गर्छ, कर तिर्छ । उसको स्ट्रेन्थ भनेकै एबिलिटी टु टेक रिस्क हो । उसले जोखिम मोलेर बनाएकोमा जहाँ सरकारको पनि सहयोग हुन्छ त्यहाँ सतप्रतिसत सफलता मिल्छ । होटलको रेट र मुल्यलाई जोड्नु भयो भने हाम्रा सबै होटल अण्डर सोल्ड हुन नि । जग्गाको मुल्य बेचेर व्याज सहित हिसाव गर्नु भयो भने यो देखिन्छ । व्याज जतिसुकै होस न अहिले नाफा छ भने त्यसमा होटल राखेर नाफा छैन । आजभन्दा सात आठ वर्ष अघि हङकङमा ९० प्रतिसतसम्म अकुपेन्सी भएका होटल ढालेर अपार्टमेन्टमा कन्भर्ट गरिदिए, त्यसमा उनीहरुले नाफा देखे । अहिले यहाँ आफ्नै सम्पत्ती हो भनेर बनाएका छौं, भाडा तिर्नुपर्दैन । तर, यहाँ व्यापारको कुनै संभावना छ भने त्यो पर्यटन नै हो । कल्चरल, वाइल्ड लाइफ, एड्भाञ्चर जुनसुकै टुरिजम भन्नुस हामीलाई तुलनात्मक लाभ छ । यस्तो मुलुक संसारमा कुनै पनि मुलुक छैन जहाँ आधाघण्टा उड्डा संसारको उच्च हिम श्रृखला भेट्नुहुन्छ र अर्को तिर आधा घण्टा उड्दा समुद्री सतहको चार सय मिटरमा पुग्नुहुन्छ । जंगलसफारी यही बीचमा छ, पाटे बाघ, एकसिंगे गैडा हेर्न सकिन्छ । यो छ तर यसलाई एक्स्प्लोर गर्न सकिएन, युटिलाइज गर्न सकिएन । 
 
ब्राण्डिङ गर्न सकिएन कि उपभोग गर्न सकिएन ?
ब्राण्डिङ त भएको छ नि किन छैन । हेर्नुस टुरिजममा नेपाललाई चिनाइराख्नु पर्दैन, चिनिइसकेको छ । तर नेपालका बारेमा सकारात्क संदेश नभएको कति वर्ष भयो भन्नुहोस त ? द्वन्द्वको बेलामा नेपाल अत्यन्तै अशान्त छ नजाउँ भनियो । त्यस्तै बालश्रमिक प्रयोग हुन्छ भन्ने सन्देश गएको छ, अर्को महिला बेचविखन हुन्छ भन्ने सन्देश गएको छ । मानिसहरुको पर्सेप्सन अझै नेपाल भनेको सतप्रतिसत सुरक्षित मुलुक होइन भन्ने छ । नेपालको यएर पोर्टका बारेमा नकारात्मक प्रचार भएको छ, मैले नै यस्ता लेख पढेको छु । यहाँ  आएपछि हाम्रो सत्कारले केही कुरा उनीहरु विर्सिन्छन त्यसैले केही जोगिएको छ । प्रोडक्ट, मानिसहरुको सत्कार र प्राकृतिक सुन्दरताले हामी बाँचिरहेका छौं । द्वन्द्वकै बेला पनि पर्यटन व्यवसायीहरुले मार्केटिङ गर्न छाडेनन् । तर डाइभर्सिफाइड गर्न सकिएन । समस्या यही हो । चितवन नेशनल पार्क भित्रका होटलले त्यत्रो नाम कमाएको थियो, काठमाडौं पछि चितवनमा सबैभन्दा धेरै खर्च गर्ने पर्यटक आउँथे । सरकारले होटल हटाइदियो । धेरै खर्च गर्न सक्ने पर्यटक ल्याउन हामीले सेवालाई पनि त्यही अनुसार विस्तार गर्नुपर्छ । अहिले पनि जुन प्राइस डिजर्भ गर्छौ, त्यो हामीले लिन सकिरहेका छैनौं । पर्यटकको खर्चको अर्को कम्पोनेन्ट भनेको एयर फेयर हो । हाम्रो एयरपोर्टको कारण ठूला विमान आउन सक्दैनन, फूल लोडमा आउन सक्दैनन । त्यसैले उनीहरुले फूल क्यापासिटीमा चलाउन नसक्दा वा साना जहाज उडाउनु पर्दा कस्ट हाइ भइहाल्छ । त्यसबाट हामीलाई फाइदा भएन, प्रतिस्पर्धी क्षमता कमजोर हुन्छ । होटल र सेवाले अहिले पाएको भन्दा धेरै मूल्य पाउनु पर्थ्यो।
 
युरोपेली युनियनले कालो सुचीमा राखेपछि सरकार र निजीक्षेत्रले प्रतिवाद त गर्न सकेनन् । आफ्नो कमजोरी नहुँदा चुप लागेर किन बस्नु पर्‍यो ?
नेपाली उडानलाई हामी इयुको मुलुकमा उड्न दिन्नौं भनिएको छ । यसले नेपालभित्रको जहाज सुरक्षित छैनन् भनिएको छ । त्यो कुरामा न त निजीक्षेत्र नत सरकार नै बलियोसँग प्रतिवादमा आयो । हामीमाथि लागेको प्रतिबन्ध त अहिलेसम्म नै छ । निश्चित समयसम्म आरोपको खण्डन नगर्दा यो सही भन्ने सन्देश जान्छ । अर्को कुरा के छ भने ट्राभल फेयर इन्स्योरेन्ससँग टाइअप हुन्छ । जब तपाँईको मुलुक वा डेस्टिनेशनमा अनेक किसिमका समस्या छन है, केही खतरा हुन सक्छ भनेपछि इन्स्योरेन्सको प्रिमियम पनि धेरै हुन्छ । यसले प्याकेजको मुल्य बढाउँछ । यस्तो बेला उनीहरुले त्यहाँ पछि जाउला नि त अहिले अर्कै मुलुक तिर जाउँ भन्छन्, उनीहरुलाई छनौंट धेरै छ । पहिला हामीले के बुझ्नु पर्यो भने पर्यटनमा राम्रो गर्न सके सबै नेपालीलाई यही क्षेत्रले पाल्न सक्छ । हाम्रो स्ट्रेन्थ र प्रतिस्पर्धि क्षमता, तुलनात्मक लाभ सबै यही क्षेत्रमा मात्रै छ । हामीले थाहा पाए अनुसार अहिलेको सबैभन्दा ठूलो समस्या वेरोजगारी हो । सबै राजनीतिक दललाई यो थाहा छ । द्वन्द्व सकिनासाथ हामी एकै पटक ह्वात्त माथि आयौं । तर, खोइत लगानी, नकारात्मक सन्देश रोक्ने प्रयास खोइ भएको । त्यसैले हामी द्वन्द्वको अवस्थाबाट धेरै माथी आएका छैनौं । तल गएको उद्योग केही माथि आयो तर जुन हिसावमा बढ्नु पथ्र्यो त्यसरी बढेन, चीनमा, थाइल्याण्डमा पर्यटक बढेको छ, त्यसको स्पील ओभरको लाभ पनि हामीले लिन सकेनौं । पर्यटन बोर्डमा त्यत्रो बजेट छ उसले केही त गर्न सक्छ नि, क्राइसिस म्यानेजमेन्ट गर्ने भनेको बन्द हड्तालमा बस चालउने काम मात्र त उसको होइन नि ।
पर्यटन वर्ष २०११ मनायौं, सन् २०१२लाई लुम्बिनी भ्रमण वर्ष भन्यो तर सरकारी निकायले नै यस्ता कार्यक्रमको प्रचार गर्न सकेनन्, कार्यक्रम सकिने बेलामा प्रचार गरियो, यस्तो अवस्थामा तपाईले भनेजस्तो प्रतिस्पर्धी क्षमता र तुलनात्मक लाभ भएर मात्रै त नहुँदो रहेछ ? अर्को तिर लक्ष राखे अनुसार दस लाख पर्यटक आए भने हाम्रा पुर्वाधारले नै धान्न सक्दैनन् हामी आफै भन्छौं ?
यसमा दुई वटा पक्ष छन् । एउटा योजना हो, सन् २०११ लाई पर्यटन वर्ष भन्यौ सायद प्रचार कम भयो, घोषणा नै ढिला गर्यौं । अन्तराष्ट्रिय स्तरमा ठूलो प्रचार गर्न नसकेपनि जागरण भने ल्यायो । जति लाभ लिन सकिन्थ्यो त्यति सकिएन । जे सुकै मेला गरेपनि बटम लाइन भनेको कार्यान्वयन हो । अर्को कुरा हामी कार्यक्रमको अडिट गर्दैनौं । कहाँ कमजोरी भयो, के लाभ भयो भनेर हामी हेर्दैनौं । अर्को विना टार्गेट जान्छौं । टार्गेट पुगेन भने किन पुगेन भनेर हामी इन्मान्दारिता साथ हेर्दैनौं । हेर्नुहोस न, पर्यटन बोर्ड ५२ दिन बन्द भयो । बल्ल अहिले खुलेको छ । यसरी बन्द हुँदा बाहिर जाने नकारात्मक म्याजेसका विषयमा कोही पनि सचेत भएनन् । मन्त्रालयले पनि चासो देखाएर समस्या समाधान गर्न खोजेन । आज पर्यटन बोर्डको झगडा भनेको के हो ? बजेटको झगडा होइन । जुन काम पहिले दुई तीन करोडमा हुन्थ्यो अहिले डेढ अर्ब पुगेको छ । यसलाई राम्रोसँग प्रयोग गर्न सक्यौ भने उपलब्धि हासिल हुन्छ । बोर्डको ७० प्रतिसत भन्दा बढी पैसा त मार्केटिङमा जानुपर्छ ।
 
अब पूर्वाधार थोरै छ हामी धेरै पर्यटक आए थेग्न सक्दैनौं जसले भन्छ नि तिनीहरुलाई म के भन्न चाहन्छु भने घोडाको अघिल्लतिर बग्गी राखेर त घोडाले कसरी तान्छ ? त्यसैले पहिला माग हुनु पर्यो, त्यसपछि समाधान निस्किदै जान्छ । कसैले टुडिखेल मुनि पार्किङका लागि भाडामा लिनसक्छ, कसैले मोवाईल वाथरुम चलाउला, पहिले गाह्रो काम गरौं न, पहिला ल्याउँ त्यसपछि मिलाउँला । कहिले कही होटलमा ओभर बुकिङ हुन्छ, टेन्सन हन्छ । तर यो गुड प्रोब्लम टु सल्भ हो भन्छु म । खाली खोज्न जानु भन्दा त भरिएको मिलाउन राम्रो नि । अहिले औसतमा होटलहरुको अकुपेन्सी १० प्रतिसतले घटेको छ । काठमाडौंमै ५० प्रतिसत कटेको छैन, बाहिर ३५ प्रतिसत जति होला । हालकै पूर्वाधारमा बार्षिक १० लाख पर्यटक काठमाडौंले धान्छ । 

हामी यसलाई राष्ट्रिय उद्योगको मान्यता देउ मात्र भनिरहेका छौं । सबै कुरा यहीको उपभोग हुन्छ । गाडी बाहिरबाट आउँछ तर श्रम यहीको प्रयोग हुन्छ, उत्पादन यहीको प्रयोग हुन्छ, विना आयात डलर कमाइरहेका छौं, त्यसैले यो उद्योग राष्ट्रिय उद्योग हो । 
 
पर्यटन गुरु योजना पनि बलिया भएनन, जस्तो एउटै ठाउँमा ट्रेकिङ रुट र धुले बाटो छ । दीर्घकालिन योजना नहुँदा जसलाई जे मनलाग्छ त्यही गरिएको छ ?
होइन, योजना छन् । भिजन ट्वान्टी ट्वान्टी बनेको छ, अरु योजना पनि छन् । तर खोइ कार्यान्वयन भएको ? च्याङ्माई र पोखराका लागि विज्ञको प्रतिवेदन एउटै थियो पर्यटन प्रवद्धनका लागि । उसलाई पनि यो काम गर भनेर दिइएको थियो, पोखरामा पनि यो यो कम गर भनेर एउटै समूहले सुझाव दिएको हो, म पनि त्यो समूहमा थिए । च्याङ्माईले रिपोर्टलाई पुरै कान्यावन गर्यो । जति आर्गुमेन्ट गर्नुथियो पहिले नै गर्यो, यो काम म गर्दिन भनेर पहिले नै भन्यो तर प्रतिवेदन स्वीकार गरेपछि सुझाव कार्यान्वयन गर्यो । तर हामीकोमा केही नभनि स्वीकार गरियो  तर प्रतिवेदनले भनेको एउटा पनि काम गरिएन । हामीसँग टोनी हेगनको पाला देखिका रिपोर्ट छन् हामीसँग, फ्रेन्च अनुसन्धानकर्ताले दिएको रिपोर्ट छ, अरु पनि छन् तर कार्यान्वयन कुनै पनि गरेनौं । होला कुनै क्षेत्रमा हामी बढी केन्द्रित भयौ होला, कयौ त्यो भन्दा राम्रा ठाउँमा गएनौ होला, त्यो आफ्नो ठाउँमा छ । हामीसँग योजना नभएर, थाहा नपाएर बिग्रिएको होइन, कार्यान्वयन पक्ष बलियो नभएर विग्रिएको हो । राजनीतिक इच्छा शक्ति नभएर बिग्रिएको हो । यो मेरो क्याडर हो, १२ बर्ष जेलनेल भोगेको छ, जे काम पनि गर्न सक्छ भन्ने सोच राख्नु भएन, मेरिटोक्रेसीमा जानुपर्छ ।
 
अहिले त बाह्य मात्रै होइन आन्तरिक पर्यटकलाई पनि लक्षित गरेर होटल लगायतमा लगानी हुन थालेको छ । चितवन, पोखरालगायतका स्थानमा यस्तो लगानी पनि प्रसस्त देखिन्छ ?
हो, आन्तरिक पर्यटक अहिले धेरै बढेको छ । नेपालीको आम्दानी, खर्च गर्न सक्ने क्षमता निकै बढेको छ । यसले पनि आन्तरिक पर्यटनलाई मद्दत गरिरहेको छ । ट्राभलिङ भनेको एउटा एजुकेशन पनि हो भनेर स्कूलहरुले सिकाइरहेको छन् । सरकारले पनि फोर्स लिभ दिने घोषणा गरिरहेको छ । तर, यतिले मात्रै हामीलाई पुग्दैन । समग्रमा प्रतिसतका आधारमा हेर्ने हो भने यो निकै थोरै छ, ग्यापलाई अलिकति फिलअप गर्न सक्ला । यसलाई इन्करेज गर्नुपर्छ तर सबै यसले धान्दैन ।
 
टेम्पल टाइगर ग्रुपले पनि नयाँ होटल बनाउने योजना बनाएको छ ?
हाम्रो आइडेन्टिटी भनेको होटल र टेम्पल टाइगर नै हो । हामी वाइल्ड लाइफको पायोनियर पनि हौं । चितवन नेशनल पार्कलाई एशियाको अफ्रिका भनिन्छ । पार्क भित्रबाट हामीलाई बाहिर निकालियो । आइडेन्टिटी भएकै कारण रातारात बाहिर होटल बनायौं । अब हामी राजधानी भित्रै होटल बनाउछौं । यो स्टार होटल होइन बुटिक होटल हो । काम अघि बढाइ सकेका छौं । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell