PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लिम्बु राजनीतिको अन्त्य : किशोर नेपालको डेटलाइन फिदिम



किशोर नेपाल

लिम्बु राजनीतिको अन्त्य : किशोर नेपालको डेटलाइन फिदिम

फिदिम बजारमा अहिले दुई थरि मौसम छ। मनसूनको मौसमले वर्षाको आगमनको संकेत दिएको छ भने चुनावले समेटेको छ नाचगानको मौसम। स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवारका लागि भोट माग्दै, जनता रिझाउन वडा-वडा र टोल-टोलमा दिनहुँ नाचगानका कार्यक्रम भै रहेका छन्। पार्टीका चुनाव चिह्न छापिएका टी शर्ट लगाएका कार्यकर्ताहरु चुनाव प्रचारका सन्दर्भमा संगीतवध्द गरिएका विभिन्न गीतका रेकर्ड बजाएर नाच्दछन्। आफनै रचनाका गीतहरु धक फुकाएर नाच्नेहरुको पनि कमी छैन। नाचमा कांग्रेसका कार्यकर्ताभन्दा एमालेका कार्यकर्ता दक्ष देखिन्छन्। संख्यात्मक हिसाबले पनि एमालेका कलाकारहरुको उपस्थिति बाक्लो छ। कांग्रेस कलाकारहरुको नृत्य नराम्रो होइन। तर उनीहरुको उपस्थिति थोरै देखियो। जोशका हिसाबले दुवै पार्टीका टोली बराबर नै छन्। नाच कसको राम्रो थियो? चुनावको नतीजाले बताउने कुरा हो। यसका लागि केही समय पर्खिनै पर्दछ। चुनाव कसले जित्ला ? अहिलेको चासो यत्ति नै हो।

फिदिम नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका ओनाहांग नेम्वांग, एमालेका राजकुमार भण्डारी र माओवादीका राधाकृष्ण न्यौपानेले मनोनयनपत्र दाखिल गरेका छन्। मेयरको दौडमा संघीय समाजवादी फोरमका विष्णु लावती र राप्रपाका देवी सिवाकोटी पनि सामेल छन्। जातीय पहिचानका लागि संघर्ष गर्ने लिम्वुवानका तीनवटा दल, संघीय लिम्वुवान मन्च, राष्ट्रिय जनमुक्ति पार्टी र संघीय लिम्वुवान पार्टी, नेपालका बीच संयुक्त रुपमा चुनाव लडने सहमति भए अनुसार मेयर पदका लागि लिम्वुवान मञ्चका मवीन तुम्वापुले मनोनयन दाखिल गर्दैछन्।
 
दोश्रो जन–आन्दोलनको सफलतादेखि संविधान निर्माण र स्थानीय चुनावसम्म आइपुग्दा लिम्वुवानले राजनीतिक परिवर्तनको एउटा पूरै गोलचक्कर घुमिसकेकोछ। जातीय पहिचान र राजनीतिक परिवर्तनका विषयलाई चर्को ढंगले उठाउँदैै आएको लिम्बुवान आन्दोलन अहिले शिथिल भैसकेको छ। आन्दोलनका क्रममा खुलेका लिम्वुवानका दर्जनौं संघ संस्था समूह र दलहरुको अस्तित्व खुम्चिइ सकेको छ। लिम्बूहरुले जुन जोशका साथ पहिचानको संघर्षमा काम गरेका थिए त्यो जोश लिम्वुवानका विभिन्न शक्तिहरुसँगै पराजित भइसकेको छ । फिदिम बजारको विस्तारसँगै लिम्वुवानका कार्यसूची बदलिएका छन्।
 
यतिबेला, लिम्वुवानको केन्द्रका रुपमा रहेको फिदिममा नेपाली कांग्रेस र एमाले आ–आफनो वर्चस्वका लागि भिडिरहेका छन्। चुनावी प्रतिस्पर्धा मूलधारका यी दुईवटा दलहरुको बीचमा छ। यी दुई दलको प्रतिस्पर्धाको एकछेउमा माओवादी केन्द्र देखिएकोछ भने अर्को छेउमा छ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम।

एमालेका प्रतिष्ठित नेता अशोक राई पार्टी परित्याग गरेर फोरममा आएपनि उनको राजनीतिक शक्ति खुम्चिएको छ। फिदिममा राप्रपाका पनि उल्लेखनीय नेता देखिएका छैनन्। मेयर पदमा अन्य दलसँग राप्रपाको चुनावी तालमेल अहिले पनि असम्भव देखिँदैन।
 
फिदिम नगरपालिकाको मेयर पदका लागि एमालेका उम्मेदवार राजकुमार भण्डारी निकै उत्साहित छन्। मध्य पहाडी राजमार्गमा बन्न लागेका दशवटा ‘स्मार्ट सिटी’ मध्ये फिदिम पहिलो हुनेछ। स्मार्ट सिटीको परिकल्पना र अवधारणाले निकै प्रभावित भण्डारी यो शहरको विकासका लागि आफूले सय वर्षे योजना बुनेको चर्चाग र्दै भन्दछन, ‘हामी फिदिमलाई शिक्षाको ठूलो केन्द्र बनाउन चाहन्छौं, जहाँबाट प्रतिवर्ष दश हजार शिक्षित जनशक्तिको निर्माण होस्। हामीले यो शहरमा स्वास्थ्य क्षेत्रको पूर्वाधारको विकास गर्न सक्छौ। उर्जा क्षेत्रको विकासका लागि पहल गर्नेछौं। याङनामदेखि तुम्फावुंगसम्मको प्राकृतिक भूभागमा पर्यटन विकासको सम्भावना निकै धेरै छ । हामी प्याराग्लाइडिंग शुरु गरेर स्वदेश र विदेशका पर्यटकहरुलाई आकर्षित गर्नेछौं। हामीले इतिहासबाट सिक्नु पर्दछ  फिदिममा हामी गुरु फाल्गुनन्द सेन्टर खोल्ने छौंँ।’

भण्डारीको सपना वृहत्त छन्। यतिमात्रै हो, फिदिम शहरले ती सपनालाई धान्न सक्छ कि सक्दैन।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार ओनाहान नेम्वांग उमेरले सत्तरी वर्षका छन्। राजनीतिको आदर्शवादी परिवेशबाट आएका नेम्वांगको लोकप्रियता र जातीय प्रभावलाई सन्तुलित तुल्याउने क्षमताकै कारण कांग्रेसले उनलाई मेयर पदको टिकट दिएको ठहर छ फिदिमका बौध्दिक वर्गको। नेम्वांग सरल छन्। उनले सपना पनि ठिकै आकारका देखेका छन्। सडक, नमूना शहर, वातावरणको संरक्षण र खानेपानी फिदिमका समस्या हुन्। यी समस्या समाधान गर्नसके शहरी विकासको एक चरणको काम पूरा हुनेछ।

नेम्वाङको नजर सन २०१८ सम्म प्रादेशिक र संघीय चुनाव गरेर सम्विधानको कार्यान्वयन गर्नुपर्ने समस्यामा टिकेकोछ। नेम्वांग भन्छन, ‘कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति भएकोले संविधानमाथिको चुनौतिको सामना कांग्रेसले नै गर्नु पर्नेछ। एमाले कांग्रेसलाई पराजित गर्न खोज्दछ। हामीले त २००३ सालतिरै संविधान सभा मांगेका हौं। यताका जनताले यो कुरा राम्ररी बुझेका छन्।’

‘विकासका लागि जनप्रतिनिधिहरुमा इमान हुनु पर्दछ’ नेम्वांगको भनाइ छ, ‘जनप्रतिनिधिमा इमान भएन भने विकास कहिल्यै हुन सक्दैन।’

आन्दोलनपछिका १० वर्षमा निकै खारिएको छ लिम्वुवान । लिम्वुवानको राजनीतिमा धेरैले एकाधिकार स्थापित गर्न खोजे पनि सफल हुन कोही सकेनन्। लिम्वुवान आफनै मौलिक स्वरुप र मान्यताको साथमा अविजित रह्यो। स्थानीय तहको चुनावपछि पद्धतिको विकास हुने र देशमा ‘केही’ हुने आशा जागेको छ जनतामा। केही होला वा नहोला, यो अलग विषय हो। स्थानीय चुनावले जनतालाई उत्साहित गराएको छ, यो नै राम्रो संकेत हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell