PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एउटा अनौठो फ्युजनले जन्माएको सेलिब्रिटी पाल्साङ 



स्वेच्छा राउत

एउटा अनौठो फ्युजनले जन्माएको सेलिब्रिटी पाल्साङ 

काठमाडौं : जुन ११ मा साहित्यकार बुद्धिसागरले आफ्नो ट्विटरमा तीन युवतीको फोटो पोस्ट गर्दै लेखे 'यो साता नयाँ पुस्ताका तीन युवतीले ठूलो प्रभाव पारे। लेखनमा शोभा शर्मा, अभिनयमा रोजिसा शाही र संगीतमा पाल्साङ लामा।' 

तीन मध्येकी एक पाल्साङलाई उक्त ट्विट बारे जानकारी दिँदा आश्चर्य पर्दै सोधिन्,'बुद्धिसागर? कर्णाली ब्लुजको राइटर?' 
पाल्साङ खुशी भइन्। 

दुई महिनामात्र भयो पाल्साङ ब्यान्डमा आबद्ध भएर गाउन थालेको। यसबीचमा दुई गीतको कभर गायन गरिन्। एउटा जस्टिन बिबरको गीत 'लेट मि लभ यू' र अर्को एद सोरिनको 'सेप  अफ यू'। दुई महिनाको छोटो अवधिमै संगीत प्रेमीहरुको भिड र सामाजिक सञ्जालमा चर्चाको पात्र बन्छु भन्ने उनले सोचेको नै थिइनन्। अझ दोस्रो कभर गीत सार्वजनिक भएको दोस्रो हप्तामै युट्युबमा दुई लाख अन्ठाउन्न हजारभन्दा बढी पटक होरिन्छ भन्ने उनको अपेक्षाभन्दा बाहिरको कुरा थियो। 

काठमाडौं सोन्ट जेभियर्समा सोसियल वर्क पढ्नका लागि भर्ना भएपछि मात्र उनले स्टेजमा गाउन सुरु गरेकी थिइन्। किनकि प्लस टूपछि भेटिएका साथीहरु पनि गायनमा रुची राख्ने भेटिए। 'नत्र गीत गाउनु मेरो हबी मात्र हो। आफै गाउँछु आफै रमाउँछु। अरुले सुन्नै पर्छ भन्ने लागेन', उनले गायन आफ्नो रहर मात्र भएको प्रस्ट पारिन्। नेटवर्किङ साइट इन्स्टाग्राम चलाउन थालेपछि भने उनले आफूले गाएको भिडियोहरु इन्स्टामा पोस्ट गर्न थालिन्। 

इन्स्टाको भिडियोले नै उनलाई 'सेप अफ यु' कभर गीत गर्ने ब्यान्डसँग भेटायो। भिडियो ब्यान्डका संयोजक नरेन डंगोलले हेर्नु र उनलाई ब्यान्डसँग मिलेर गीत कभर गर्ने आग्रह गर्नुको संयोग यसरी सुनाउछिन् पाल्साङ, 'मेरो साथीको दाइले मैले गाएको हेर्नु भएछ। त्यसपछि साथीमार्फत् कफर गीतको अफर गर्नु भयो।' 
रहर पनि पूरा हुने र संघर्षरत ब्यान्डसँग पनि चिनजान हुने, उनले नाईं भन्न सकिनन्। 

सांगीतिक ब्यान्ड जटायुसँग उनको पहिलो कभर थियो क्यानेडियन गायक जस्टिन बिबरको 'लेट मि लभ यू'। गीतले राम्रै हिट्स बटुल्यो। सामाजिक सञ्जालमा र साथीहरुको सर्कलमा पाएको प्रतिक्रियाले पाल्साङलाई दङ्ग बनायो। सेप अफ यू भाइरल भएपछि भने उनी छक्क परिन्। 'गीतको लागि मिहेनत गरेको हो। चल्छ होला भन्ने पनि थियो। तर एकदिनमै त्यत्रो चर्चा हुन्छ भन्ने थिएन,' उनले एक्कासी गीतको चर्चा बढ्दाको क्षण सम्झिइन्। 
'साथीहरुले तेरो कभर त हिट भयो है? भन्दा जिस्काको हो कि जस्तो लाग्थ्यो तर गीत त साँच्चै चल्दै थियो', लामा खुशी सुनिइन्। 

पाल्साङको गीत चलेको थाहा पाएपछि उनको आमाबुबा पनि खुशी छन्। पहिले गाउने इच्छा पूरा गर तर सधैं नगाउ भन्ने अभिभावक अहिले उनलाई भन्छन्,'प्रफेसनल गायिका बन्ने रहर छ भने त्यो पनि पूरा गर।'  
यो कुराले आफूलाई गीत सिकेर गाउन प्रेरित गरेको बताउँछिन् उनी। 

औपचारिक रुपमा संगीत नसिकेकी पाल्साङको लागि युट्युबनै संगीत गुरु हो। इङ्लिस गीत बढी सुन्ने र गाउने उनी अब नेपाली गीत पनि कभर गर्न चाहन्छिन्। 
'नेपाली पनि गाउँछु तर अझै राम्रो गर्नुछ।' 

निरन
पाल्साङको इङ्लिस टोन राम्रो भएकै कारण उनलाई इङ्लिस गीत कभरको लागि प्रोत्साहित गरेको बताउँछन् जटायुका संयोजक निरन डंगोल। 
'इन्सटाग्रामा सुनेको थिएँ पाल्साङले गाएको। हामीसँग कभर गरोस् भन्ने भयो र आग्रह गर्यौं।' 

अमेरिकामा संगीत पढेर आएका निरन र उनको ब्यान्ड विविध संस्कृतिका सांगीतिक बाजाको संयोजनमा संगीतको छुट्टै संस्कृति विकास गर्न चाहन्छन्। संगीतमा नेपाली लोक सांस्कृतिक बाजाहरुको प्रयोग जटायुको विशेषता हो। '

सन् २०१५ मा पहिलोपटक 'जटायु'को स्थापना भएको थियो। स्थापना यो अर्थमा- नेपाली लोक बाजा र संगीत क्षेत्रमा केही गर्न चाहनेहरुको एउटा झुण्ड तयार भयो, सँगै मिलेर गाउन/ बजाउन। मादल र तबलामा न्हुच्छे मुनिकार। जो अहिले पनि ब्यान्डमा छन् साथै काठमाडौंका पाँच विद्यालयमा संगीत गुरु हुन्। सारङ्गी- श्यामुयल गन्धर्भ, एरेन्जर र प्रोड्युसरको रुपमा निरन डंगोल स्वयंम। 

यी युवामा मिलेर सांगीतिक क्षेत्रमा ठूलो परिवर्तन गरौला भन्ने त थिएन तर उनीहरुले चाहे मिलेको रहर पूरा गर्ने, संगीतमा केही नयाँ प्रयोग गर्ने र सांकृतिक बाजाहरुको प्रयोगलाई निरन्तरता दिने। 

सेप अफ युको नेपाली कभरको लागि तबला बजाएका मुनिकार भन्छन्,'संगीतको भाषा हरेक खालका शब्दहरुसँग मिल्छ भन्ने संदेश दुई लाख बढी मान्छेमा प्रवाह भएको छ।' 

'हुन पनि अचानक नेपाली लोक बाजाहरु तबला र सारङ्गीको तालमा हिट इङ्लिस गीत सुन्दा सुरुमा त सबैलाई अचम्म नै लाग्यो होला तर त्यही नै रुचाइयो। किनकि हामीले सरल गीतलाई सरल नै ढङ्गमा प्रस्तुत गर्यौं', गीतको विशेषता बारे भन्छन्,'नेपाली बाजाको प्रयोग विशेष रह्यो। सायद इङ्लिस गीत कभर गर्दा तबला र सारङ्गीको प्रयोग भएको थिएन।' 
मुनिकर
न्हुच्छेको विश्वास छ - संगीतले मान्छे मान्छेलाई जोड्छ। उनी र उनको जटायु टोली यो विश्वासलाई व्यवहारमा उतार्न चाहे। 

लोक बाजाहरुको संकलन, कसैलाई नसुनाई गरिएको अभ्यास, नयाँ शैली र संगीतको प्रयोग, पुराना गीतमा नयाँ संगीत संयोजन, नयाँ गीत रचना र संयोजन यस्तै यस्तै छन् जटायुले दुई वर्ष यता गर्दै आएको कामहरु। निरन भन्छन्, 'संगीतमा नयाँ खोज, अध्ययन र प्रयोग नै जटायु ब्यान्डको ब्रान्ड हो। त्यसैले केही वर्ष देख्खिन भन्दा पनि आफ्नै ब्रान्ड बनाउन काम गर्छौं।' 

सेप अफ युको कभरमा आम दर्शक/ स्रोताको ध्यान सारङ्गीले पनि तानेको छ। सारङ्गीमा रहेका श्यामुयल गन्धर्भ भन्छन्, 'संगीत आफै मिल्ने कुरा होइन। यसलाई बुझेर मिलाउन सक्नुपर्छ। जुन हामीले लामो मिहेनतले गर्यौं।' 

नेपाली बाजाहरुले नेपाली मान्यता र संस्कृतिको महत्व बोक्ला तर यी बाजाहरुले अरु भाषाका गीतहरुमा पनि उत्तिकै मिठास भर्छन्। त्यसैले जटायु ब्यान्डको केन्द्रमा छ 'फ्युजन'। 
श्यामुयल
गीत, संगीतमा केही गर्न चाहनेहरुका लागि अवसर हो जटायुको सांगीतिक निर्माण। किनकि उनीहरु आफू मात्र गाउने बजाउने गर्दैनन्। चाहने र मिल्न सक्नेका लागि जटायु ब्यान्ड खुल्ला छ। ८ जनाको टिमले जटायुलाई आफ्नो होइन संगीत प्रेमीको ब्यान्ड बनाउन संघर्षरत छन्। त्यसैले पाल्साङ लामाले ठाउँ पाइन् आफैलाई प्रस्तुत गर्ने। जटायुको तीन वर्षको भूमिगत यात्राले पाल्साङ जस्तै अर्की युवा गायिका जन्माउँदै छ। सानुमाया तामाङ। उनको स्वरमा हिन्दी गीत 'लग जा गले' चाँडै सार्वजनिक हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell