PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्थलगत रिपोर्ट : आन्दोलनको हावाले नछोएको लिम्बुवान चुनावका लागि आतुर



उमेश श्रेष्ठ

स्थलगत रिपोर्ट : आन्दोलनको हावाले नछोएको लिम्बुवान चुनावका लागि आतुर

फिदिम (पाँचथर) :  'तपाईँहरु यतै रोकिनुस्। बन्द छ। एकछिनमा एस्कर्टिङ गरेर लग्छौँ', मेची राजमार्गको कान्छी दोकान भन्ने ठाउँमा प्रहरीले हामीलाई रोक्दै भन्यो। त्यहाँ मालवाहक र यात्रुवाहक गाडीहरुको लाम लागेको थियो।

हामीले रिपोर्टिङका लागि आएको, प्रेसको गाडीलाई आन्दोलनकारीले केही नगर्नु पर्ने हो भन्यौँ। 'मैले भनेर हुँदैन, सरसँग कुरा गर्नुस्,' उसले भन्यो, 'अलि अगाडि झडप पनि भएको छ रे। हामीलाई यहीँ गाडीहरु सबै रोकेर राख्नु भनेर निर्देशन आएको छ।'

झापाको दमकबाट मेची राजमार्ग हुँदै इलामबाट पाँचथरको सीमा नाघिसक्दासम्म बन्दको नामोनिसान केही देख्नु/भोग्नुपरेको थिएन। प्रदेश नम्बर २ का जिल्लाहरुमा देखिएको थियो असर। प्रदेश नम्बर १ को पनि सुनसरीमा सवारी साधनहरुको लामो लाइन लागेको देखिएको थियो। त्यसयता कोशीपारी आन्दोलनको खासै प्रभाव देखिएको छैन।

अचानक फिदिम बजार पुग्नुअघि कान्छी दोकानमा रोकेर राखिएका गाडी र प्रहरी जवानको भनाईले पहिलोपोस्टमा नै प्रकाशित पुरानो समाचारको याद दिलायो-  मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र सरकारबीच वार्तामा कुरा नमिलेपछि जेठ २८ गते महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो, जसमा जेठ ३० देखि असार २ गतेसम्म मधेस, थरुहट र लिम्बुवान बन्दको कार्यक्रम थियो।

जहाँ हामी थियौँ, त्यो लिम्बुवान दावी गरिएको ठाउँ नै थियो। पहिचानको आन्दोलन चर्कँदा दिनहुँ जसो बन्द-हड्ताल हुने यो ठाउँको पार्टीसहित बनेको संघीय गठबन्धनले यो आन्दोलन घोषणा गरेको थियो। उपेन्द्र यादव नेतृत्वको गठबन्धन यादव निर्वाचनमा जाने भएपछि उनलाई अध्यक्षबाट हटाएर ठाकुर नयाँ अध्यक्ष भएका थिए।

'प्रेस' लेखिएको गाडी देखेपछि प्रहरीका 'सर'ले पनि जान दिए। बाटो छेकेर रोकिएको आयल निगमको ट्याङ्करलाई ब्याक गर्न लगाई ठाउँ बनाएर हामी त्यहाँबाट निस्कँदा बाटोमा आन्दोलनकारीको सामना गर्नुपर्ने भय मनमा थियो।

तर लिम्बुवान राज्य स्वागत गर्दछ लेखिएको फिदिम बजारको स्वागत द्वार पुग्दासम्म हामीले न बन्दको प्रभाव देख्यौँ, न आन्दोलनकारी नै कतै देखिए। अचम्म लाग्यो, आखिर किन रोकिएका थिए कान्छी दोकानमा त्यत्रा सवारी साधन?

'फेदेन बजार' जसलाई धेरैले फिदिम बजारको रुपमा चिन्छन्, गुल्जार थियो। सवारी साधन चलेका थिए, पसलहरु खुल्ला थिए।

फरक के थियो भने स्कूटर होस् वा मोटरसाइकल, कि रुखको झण्डा फहराइएको हुन्थ्यो कि सूर्यको। कुनैमा गोलाकारभित्र हँसिया हथौडा र हातले समातेको मसाल पनि देखिन्थ्यो।

वैशाख ३१ गते हुन नसकेको स्थानीय तहको निर्वाचनका लागि फिदिम नगरपालिकामा प्रचार प्रसार उधुमै छ। बजारका कुनै खम्बा छैनन् होला जहाँ कांग्रेसको चारतारे वा एमालेको सूर्य अङ्कित झण्डा नफहराइएको होस्। माओवादी केन्द्रको हँसिया हथौडा र संघीय समाजवादी फोरमको मसालका झण्डा पनि देखिन्छन्। लिम्बुवानको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका झण्डा पनि एकाध ठाउँमा देखिए।

सरकारको निर्णयले उम्मेदवारी दर्ताको मिति नसारेको भए यतिबेलासम्म यहाँको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको हुन्थ्यो। तर प्रदेश २ को निर्वाचनको मिति असोजमा सारेको घोषणा भएकै दिन अरु प्रदेशको उम्मेदवारी दर्ता गर्ने दिन पनि दुई दिन सारी असार ४ गते बनाइयो।

तर फिदिम नगरपालिकामा उम्मेदवारको नामसहितको प्रचार सामाग्री देख्न पाइन्छ। कांग्रेसले ओनाहाङ नेम्वाङ, एमालेले राजकुमार भण्डारी र माओवादी केन्द्रले राधाकृष्ण न्यौपानेलाई  उम्मेदवार बनाएको छ।

हामी बजारमा पुग्दा कांग्रेस कार्यकर्ताहरु सडकमा नाच्दै भोट माग्दै थिए। केही समयपछि एमाले कार्यकर्ताहरु 'मै पनि एमाले' गीतमा नाच्दै भोट माग्न थाले।    

बजारमा कांग्रेसको चारतारे झण्डा र एमालेको सूर्य अङ्कित झण्डा सबैभन्दा बढी देखिन्छ। पत्रकार महासंघका जिल्ला अध्यक्ष लवदेव ढुंगानाको विश्लेषण पनि उस्तै छ, मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने हो। 'कसले जित्ला भनेर भन्न सकिने स्थिति छैन, अन्तिम समयसम्ममा कुनै पनि दल अघि पछि हुनसक्छ', उनले भने।

माओवादी केन्द्रले केही वडामा जित्न सक्ने आंकलन यहाँ सुन्न सकिन्छ। यहाँ कुनै दलले तालमेल गरेका छैनन्।

कांग्रेसका मेयर उम्मेदवार ओनाहाङ नेम्वाङ भन्छन्- 'हामीले यहाँका कुनै पनि तहमा कुनै पनि दलसँग तालमेल गरेका छैनौँ। गर्नु आवश्यक पनि छैन।'

जातीय भोटको कति प्रभाव हुनसक्ला त ? ढुंगानाका अनुसार खासै प्रभाव पर्ने देखिन्न। लिम्बु उम्मेदवार भएका कारण केही भोट नेम्वाङलाई आउन सक्ने हो भने बाहुन उम्मेदवार भएका कारण भण्डारीलाई पनि जानसक्छ। अन्तमा उस्तै उस्तै हुने हो।

थर जे भए पनि एमालेका मेयर उम्मेदवार भण्डारीको चुनावी एजेन्डा समेत किरात संस्कृतिको लागि विश्वले नै चिन्ने थलो फिदिम नगरपालिकालाई बनाउने छ। शुक्रबार साँझ पहिलोपोस्टसँग कुरा गर्दै भण्डारीले भने, 'यहाँको लिपि, यहाँको भाषा, यहाँको संस्कृतिलाई नेपालमात्र हैन विश्वमा चिन्ने बनाउने गरी अघि बढ्ने हाम्रो पार्टी कै नीति हो।'

यदि पहिलो चरणमै निर्वाचन भएको भए यतिबेला यी उम्मेदवारहरु मध्ये एक मेयर निर्वाचित भई कार्यभार ग्रहण गरिसकेका हुन्थे। ढिला चुनाव हुँदा यहाँका उम्मेदवारहरुले प्रचारको मनग्गे समय पाएका छन्।

चुनावी लहरले छपक्कै ढाकेको फिदिम बजारलाई फेरि चुनाव सर्ने हो कि भन्ने चिन्ता पनि छ। हुन पनि वैशाख ३१ बाट जेठ ३१ हुँदै असार ९ र अहिले असार १४ गते मतदानको मिति सरिसकेको छ।

बन्दको डर भने अब हटेको छ। किनभने संघीय गठबन्धनले शुक्रबार जारी गरेको विज्ञप्तिले जुलुस, हड्तालका कार्यक्रममा लिम्बुवानलाई हटाएको छ। महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा असार ३ गते मधेस र थरुहटमा लाठी जुलुस र असार ४ गते मधेस र थरुहटमा बन्द र हड्ताल उल्लेख छ।

लिम्बुवान खै त?

यसको जवाफ शायद् चुनावका लागि आतुर देखिएको फिदिमको वातावरणले दिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell