PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्थलगत रिपोर्ट : यस्तो छ चुनावले छुन नसकेको प्रदेश नम्बर २ को हाल



किशोर नेपाल

स्थलगत रिपोर्ट : यस्तो छ चुनावले छुन नसकेको प्रदेश नम्बर २ को हाल

सिन्धुली माडीबाट कमला नदी तरेर बर्दिवासतिर आउँदा चुनावको चहल–पहल देखिने आशा राख्नु स्वाभाविक थियो। निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयन असार २ गते शुक्रवार तोकेकोले मधेश–तराईमा कुनै न कुनै हिसाबले चुनावी चहल–पहल देखिने आशा थियो। तर, मधेशकेन्द्रित दलहरुको एकीकृत संगठन  राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको चुनाव बहिष्कारगर्ने र चुनावको प्रतिकारमा बन्दसहितका आन्दोलनगर्ने घोषणा गरेपछि स्थिति विपरित बाटोमा गएको थियो।

सँधै व्यस्त रहने धुलिखेलदेखि बर्दिवाससम्मको वीपी राजमार्ग बिहीबार बिहानदेखि नै शान्त थियो। ओखलढुंगा, खोटाङ र रामेछाप जाने बसहरु फाट्टफुट्ट चलेको देखिएपनि सार्वजनिक यातायात संचालन लगभग ठप्प थियो। मधेश बन्दका कारण काठमाडौंतर्फ यात्रा गर्ने सवारी साधन न्यून थिए। काठमाडौंबाट मधेश जाने सार्वजनिक सवारीको संख्या पनि थोरै थियो। राजमार्ग छेउछाउका बजारहरुमा चहल–पहल थिएन। यात्रु नभएपछि बजारमा चहल पहल नहुनु स्वाभाविक थियो। 

बर्दिवासमा चुनाव चिह्नसहितको प्रचार। 

सरकार र राष्ट्रिय जनता पार्टीका नेताहरुका बीचको छलफलपछि दुई नम्वर प्रदेशमा स्थानीय तहको चुनाव असोज २ गतेसम्मका लागि स्थगित भएको समाचार यता बिहीबार अपरान्हसम्म आइसकेको थिएन। मानिसहरुमा चुनावका प्रति एकप्रकारको कौतुहलता नभएको होइन। मधेशमा ठूला भनिने दलहरुले चुनावी अभियान चलाउन नखोजेका होइनन्। तर तिनको प्रभावको परीक्षण गर्ने कसी थिएन।  

बर्दिवासमा चुनाव चिह्नसहितको प्रचार। 

महोत्तरी जिल्लाको सीमा प्रवेशपछि खोंच क्षेत्रका स–साना बस्तीहरुमा तीन ठूला दलका स–साना झण्डाहरु देखिएपनि बहिस्कार घोषणा गरेको राष्ट्रिय जनता पार्टी र सहभागी हुने भनिरहेको संघीय समाजवादी फोरम नेपालको उपस्थिति कतै देखिएन। बजारमा पार्टीहरुको झण्डाभन्दा मानिसका निरपेक्ष अनुहार बढी थिए। पहाडी समुदायको प्रभावमा रहेको बर्दिवास बजारमा ठूला दलहरुका चुनाव केन्द्रित कार्यक्रमहरु भइरहेका थिए। बजारका प्रत्येक जसो घरमा कांग्रेस, एमाले र माओवादीका झण्डा गाडिएका थिए। तर, झण्डाको आधारमा मात्रै मधेशमा यी पार्टीहरुको प्रभावको आंकलन गर्नु सजिलो थिएन। 

संघीय समाजवादी फोरमको झण्डा।

बर्दिवासबाट पूर्व लागेपछि कोशीसम्म नै चुनावको चहल पहल थिएन कतै। स–साना समूहमा बाँडिएका मानिसहरु राजमार्गको चोक चोकमा जम्मा भएर आन्दोलनका लागि समर्थन जुटाउँदै थिए। उनीहरुको अनुहारमा चुनावको आकर्षणभन्दा पनि ‘चुनावमा भाग लिन नदिइएको’ आक्रोश स्पष्ट देखिन्थ्यो। सरकारकै कारण आफना प्रतिनिधि चुन्न नपाएको कुरा उनीहरुले बुझेका थिए । सप्तरीका रुपनी, कन्चनपुर र भारदह क्षेत्रमा आन्दोलनकारीहरुको बाक्लो उपस्थिति छ। बरमझियाका सत्यनारायण साहले दुई दिनदेखि आन्दोलनकै कारणले पेडा बनाउन पाएनन्।

बर्दिवासदेखि ढल्केवर र धनुषाधाम हुँदै लाहानसम्मको यात्रामा चोक चोकमा मानिसको बाक्लो जमघट देखियो। कमला नदी कटने बित्तिकैको भेटिने सिरहा जिल्लाको पहिलो बजार बन्दीपुरमा सुरक्षा चहलपहल बढी नै थियो।


नेपाली सेनाको एउटा ‘बख्तरबन्द’ गाडी र त्यसको पछि पछि भाडाको बसमा आएका नेपाली सेनाका जवानहरु गस्तीमा थिए। उनीहरुलाई गस्तीमा खटाएर सरकारले जनतालाई सुरक्षाको ‘प्रत्याभूति’ दिएको थियो । तर, सामान्य जनता त्यसप्रति बेखबर मात्र होइन, वेपर्वाह नै थिए। विपरीत दिशामा लामो लाइन थियो सार्वजनिक सवारी साधनको, कहिले आन्दोलनकारीले अनुमति देला र गुडौँला भनी पर्खेर बसेका।  

सिरहाको प्रमुख शहर लहानमा साँझपख जनताका गतिविधि सामान्य थियो। आन्दोलनका क्रममा उल्लंघन भएका मानव अधिकारको जायजा लिन स्थानीय एक होटलमा मानव अधिकारकर्मीहरु जम्मा भएका थिए। ‘इन्सेक’ को आयोजनामा भएको यो कार्यक्रममा मानवअधिकारकर्मीहरुले ‘संविधानमा संशोधन नभए ठूलो दुर्घटना हुने’ निष्कर्ष निकालेको लहानका वरिष्ठ पत्रकार रामानन्द गुप्ताले बताए। 

राजमार्गको ठाउँठाउँमा ट्रक र बसहरु लाम लागेर उभिएका छन्। बन्दका कारण रोकिएका ती ट्रकहरुलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याइनेछ। वर्षमा दर्जनौं पटक ‘बन्द’हुने नेपालका राजमार्गहरुमा सुरक्षाले स्कर्टिङ गरेर गाडीहरुलाई गन्तव्यमा पुर्याउने एउटा परम्परा नै बनिसकेको छ।

यताको चुनाव असोज २ गतेसम्म सरेको छ। त्यो यहाँका लागि नयाँ कुरा हैन। चुनावको मिति सरेको यो चौथो पटक हो। वैशाख ३१ गते घोषणा गरिएको चुनाव सुरुमा जेठ ३१ गतेका लागि सरेको थियो, त्यसपछि असार ९ हुँदै असार १४ र अहिले असोज २। 

सरकारले प्रदेश नम्बर दुईको चुनाव सार्ने निर्णय गरिसकेपनि राष्ट्रिय जनता पार्टी नेपालको आह्वानमा भएका आन्दोलनका कार्यक्रमहरु र चार दिने मधेश बन्द फिर्ता लिने औपचारिक घोषणा भइसकेको छैन। भएको भए पनि त्यसको खबर यता आइसकेको छैन।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell