PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नवीन के भट्टराईको सफलता सूत्र : हिट हुन गाउने हैन, गाएर हिट हुने हो 



स्वेच्छा राउत

नवीन के भट्टराईको सफलता सूत्र : हिट हुन गाउने हैन, गाएर हिट हुने हो 

'साँझपख, एकान्तमा...आफैलाई बिर्सँदा'

विक्रम संवत् ५० को दशकमा आएको नेपाली पप संगीतको बहारमा संगीतप्रेमीलाई आफू आफैमा बिर्साइदिने एउटा माइलस्टोन गीत थियो यो। युट्युब हैन वाकम्यानमा गुन्जिन्थ्यो नवीनको आवाज। संगीत र गीतका भावलाई दृश्यले थिच्ने र किच्ने म्युजिक भिडियो बन्दैन थिए त्यतिबेला। त्यसैले आँखा चिम्लेर मुग्ध हुन्थे संगीतप्रेमी। 

साँझपख धुलिखेलमा रहेको काठमाडौं युनिभर्सिटीबाट म्युजिकको क्लास सकाएर फर्किरहेका हुन्थे गायक नवीन के भट्टराई। सिकाउन हैन सिक्न जान्थे। पहिलो एल्बम 'जिन्दगी' मात्र हैन 'आँखामा', 'साँझ पख' जस्ता हिट सोलो गीत सार्वजनिक गरिसकेका थिए उनले। गीत चलेको थियो। धुलिखेलबाट बसपार्क आउने बस होस् वा चिया र समोसा खाने पसल, आफ्नो गीत बजेको सुनेर मख्ख परेको दिन सम्झन्छन् उनी। बाटोमा हिँड्दै गर्दा पसलहरुबाट निस्कने एफएमको आवाजमा आफ्नो गीत बजेको सुन्दा नवीनलाई लाग्थ्यो,'ए मेरो गीत चलेछ।'  तर त्यतिले उनी सन्तुष्ट भएनन्। संगीतको गहिराईमा अझ डुब्न औपचारिक अध्ययन थाले।

पहिलो ब्यान्ड गुम्यो

नवीन के भट्टराईले २०५३ सालबाट गाउन सुरु गरे। कति पाए कति गुमाए? यी प्रश्नको जवाफ नवीनसँग नै छैन। किनकी उनले हिसाब नै राखेनन्। 'के पाएँ को लिस्ट लामो होला। तर मैले मेरो पहिलो सांगीतिक ब्यान्ड गुमाएँ', नवीन आफ्नो पहिलो एल्बम निकाल्दाको साथीहरु सम्झन्छन्। 

'द स्टिल ह्विल्स'का सदस्यहरुमा गाउने कलासँगै जोस थियो, एल्बम सार्वजनिक गर्नुको खुसी थियो। तर ब्यान्डको एल्बम 'जिन्दगी' ५०० वटा पनि बिक्री नभएपछि ब्यान्ड छरपस्ट भयो। कोही पढ्न थाले, कोही विदेशिए। ती साथीहरु अहिले भेट्दा भन्छन्,'हामी पहिला सँगै गाउथ्यौं है नवीन।

अहिले इन्टरनेटमा 'द स्टिल ह्विल्स' सर्च गर्दा एउटा अमेरिकन ब्यान्ड देखाउँछ। त्यो ब्यान्डले गीत गाउन थाल्नु झण्डै एक दशकअघि नवीन यही नामको ब्यान्डमा भोकलिस्ट र रिदम गितारिस्ट थिए।

'ब्यान्ड छरिए पछि नवीन एक्लो भए तर उनले गीत, संगीतलाई छोडेनन्। त्यसैले कहिले पनि एक्लो महसुस गरेनन्। संगीतलाई साधना माने र त्यो साधनासहित २५ वर्ष बिताइ सके। 'आज पनि म संगीत साधनामै छु। खुसी छु, सन्तुष्ट छु', उनी सुनाउँछन्। 


नबिके पनि टिक्ने साहस

नवीनको गाउने रहर जस्ताको त्यस्तै रह्यो। उनले रहर मारेनन्। गाउने रहरलाई खुसी हुने बहाना बनाएर पढ्दै, गाउँदै संगीतसँग जोडिइ रहे। नवीनले एउटा साहस देखाए, संगीत क्षेत्रमा नबिके पनि टिक्ने। भन्छन्, 'मैले ब्यान्डको पहिलो गीत निकै राम्रो बन्छ, हिट हुन्छौं भन्ने सोचेको नै थिइनँ।' 

'मान्छेले बाटोमा हिँड्दै गर्दा पनि यो नवीन के भट्टराईको गीत हो भनेर चिनुन् न', उनको इच्छा रह्यो जुन केही हदसम्म पूरा भएको पनि छ। उनलाई रहर छैन फरक फरक गीत गाएर फरक तरिकाले पहिचान बनाउन। उनी 'प्रोफेसन' नै संगीतलाई मान्छन् त्यसैले प्रोफेसनमा आफ्नो ब्रान्ड वा शैली स्थापित हुनुपर्छ भन्नेमा नवीन के भट्टराई विश्वास गर्छन्। 


नवीनको सफलता सूत्र

कला प्रेमी परिवारको साथले गर्दा संगीत क्षेत्रबाट नवीनले कुनै पनि कठिन परिस्थितिमा हात झिक्न परेन। भन्छन्,'परिवारको साथ अत्यावश्यक रहेछ। नाम, दाम केही कमाइनस्, गीत फ्लप भयो, एल्बम चलेन जस्ता प्रश्नहरुले घेरेको भए पनि रहर पूरा गरेर अरु व्यवसायमा लाग्थें होला।' 

संगीतमा संघर्ष गर्नेहरुलाई आफू सम्मान गर्ने उनी बताउँछन्। भन्छन्- सांगीतिक क्षेत्रमा साधना गर्न धैर्य चाहिन्छ। जुन निकै कम मान्छेमा हुन्छ। झन् आजको युवा पुस्तामा त निकै कम। जसले निरन्तर संघर्ष गर्छ ऊ नै हो टिक्ने अनि बिक्ने पनि। 

संगीतमा पैसा छैन भन्नेमा नवीन अलिकति पनि विश्वास गर्दैनन्। उनी आफ्नै उदाहरण दिंदै भन्छन्,'म सन्तुष्ट छु कमाएको पहिचान, सम्मान, प्रेम, स्रोता र पैसाको हकमा पनि।' तर सुरुवातमै सबै हात पर्छ भन्ने पाठ नवीन पढाउँदैनन्। गीत, संगीतमा लाग्नका लागि प्रकृतिले दिएको हुनुपर्छ भन्छन् उनी साथै सम्झाउँछन्,' तर प्रकृतिले पनि एउटा निश्चित बिन्दुसम्म मात्र दिन्छ। त्यसपछि गर्न पर्ने मिहेनत नै हो।' 

कोही पनि सुरुवातमा सफल हुँदैन। एउटा एल्बम वा गीतमै कोही सफल हुन्छ भने त्यो उसलाई भगवानले दिएको उपहार हो भन्नेमा उनी विश्वास राख्छन्। त्यो उपहारको सही सदुपयोग गर्नुपर्छ जसरी नवीनले गरे। 'दोस्रो तेस्रोसम्म सफल नहुनेले चौथोमा चाहिँ आफूले कहीँ कतै केही सुधार्नै पर्नेछ भन्ने बुझ्नुपर्छ', उनी सल्लाह दिंदै भन्छन्,'धैर्य गर्न सके कसैले पनि संगीतबाट निराश भएर पछि हट्नै पर्दैन। हिट हुन गाउने होइन, गाएर हिट हुने हो।' 

नवीनको सूत्र हो- मेहनत, साधना र धैर्य। 

यी तीन सूत्रले संगीतकर्मीलाई संगीतको साधक बनाउँछ। जसको उदाहरण हुन् भट्टराई स्वयं। किनकि उनले संगीतको लागि संगीत साधना गरे। साधना गरे अनुरुप नाम अनि दाम दुबै कमाए। 'पहिचान र पैसाको लागि संगीतकर्म गर्ने होइन, यी सबै कर्म गरे अनुरुप कमाइने कुरा हुन्', नवीन गर्वका साथ भन्छन्।

कुनै गीत धेरै पटक सुनिनु एउटा गायकको सफलता हो, केही वर्ष हराउँदा स्रोताले खोज्नु सफलता हो, गीतको संगीतले संगीतकार चिनिनु सफतता हो- नवीनले यी कुराहरुको अनुभव गरेका छन्। 

नवीन आजकाल लाइभ कार्यक्रम र स्टेज शोहरुमा व्यस्त छन्। त्यसैले कहिले काठमाडौं भित्र र कहिले बाहिर रहन्छन्। पछिल्लो एल्बम 'श्लोक' सार्वजनिक गरेको चार वर्षको ग्यापमा नयाँ एल्बम निकाल्ने तयारीमा छन्। एल्बमको नाम भने उनी सँधै पोस्ट प्रोडक्शनको काम पछि गर्छन्। संजय श्रेष्ठ, संजीव प्रधान जस्ता गायकबाट प्रेरित उनी आज धेरै संघर्षरत गायकहरुको प्रेरणा बनेका छन्। नवीन प्रेममा विश्वास गर्छन्, 'प्रेमले संगीत रचाउँछ र संगीतले प्रेम फैलाउँछ किनकि प्रेम सबैले अनुभूति गर्ने सुन्दर भावना हो।'

सौख त उनको हार्ड रक गीतमा थियो। तर लहैलहैमा लागेर सुरुवातमै रोमान्टिक गीत सार्वजनिक गरे। गीतको बोल थियो 'आँखामा...'। 

गीत त हिट भयो। पहिलो सोलो गीत हिट हुनु उनको लागि संयोग मात्र बनेन। नवीनलाई रोमान्टिक गीतकै गायक बनायो। सुरुवातदेखि नै प्रेम गीत अनि फरक मेलोडी नवीन के भट्टराईको ब्रान्ड बन्यो। शायद् त्यही भएर उनले एउटा गीतमा आफूलाई पोखेका छन्-

बजाउँदा बजाउँदै जीवन बित्यो
गाउँदा गाउँदै जीवन बित्यो
अब म गाउँदिन प्रीतका गीतहरु
अब बजाउँदिनँ मायाका गीतहरु
मेरा गला थाकिसके
मेरा हातहरु काँपिसके

तर उनका हातहरु कहिल्यै काँपेनन्, उनको गला अहिलेसम्म थाकेको छैन।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell