PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक, स्कुल स्तरको प्रतियोगितादेखि भलिबल दिवस मनाउनेसम्म



पहिलोपोस्ट

भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक, स्कुल स्तरको प्रतियोगितादेखि भलिबल दिवस मनाउनेसम्म

काठमाडौं : नेपाल भलिबल संघले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले विभिन्न २७ बुँदासहितको कार्यक्रम सार्वजनिक गरे।

यही जेठ ८ गते भलिबल नेपालको राष्ट्रिय खेल घोषित भएपछि उत्साहित बनेको संघले पहिलो पटक स्कुलस्तरमा महिला र पुरुषको युथ टुर्नामेन्ट गर्ने देखि लिएर भलिबल दिवस मनाउने राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई निरन्तरा दिँदै वार्षिक योजना सार्वजनिक गरेको हो।

घोषित कार्यक्रम अनुसार संघले असार महिनामा एभीसी सेन्ट्रल जोन प्रतियोगितामा सहभागी राष्ट्रिय पुरुष तथा महिला टोलीलाई सम्मान गर्ने भएको छ।

वार्षिक कार्यक्रममा नेपाल र डेनमार्कको भिदोवर क्लबसँगको मैत्रीपूर्ण खेललाई पनि समावेश गरिएको छ। दुई टोलीवीचको मैत्रीपूर्ण खेल असोजमा काठमाडौंमा आयोजना हुनेछ।

यस्तै संघले पहिलो पटक यू–१८ महिला तथा पुरुष अन्तर विद्यालय भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ भने अन्तर कलेज भलिबल प्रतियोगितालाई पनि यही आर्थिक वर्षमा आयोजना गर्ने जनाएको छ।

यस्तै सांसद महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता र राष्ट्रिय मेयर कप गर्ने पनि योजनामा उल्लेख छ।

घोषित कार्यक्रममा विद्यालयस्तरदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै रेफ्री र प्रशिक्षकका लागि पनि कार्यक्रम निर्धारण गरिएको छ। जसमा साउन महिनामा प्रशिक्षकहरुका लागि रिफ्रेसर कोर्स सञ्चालन गरिने भएको छ भने पुसमा सबै विकास क्षेत्रमा रेफ्री रिफ्रेसिङ कोर्स सञ्चालन गर्ने भएको छ।

भलिबल राष्ट्रिय खेल घोषणा भएपछि देशभरि भलिबल सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न जिल्ला संघहरुलाई परिचालन गरिने पनि संघले जनाएको छ। भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको दिन जेठ ८ गते भलिबल दिवस मनाउने घोषणा गरिएको छ। 

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले राष्ट्रिय खेलको विकास र विस्तारका लागि सबै पक्षसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए। कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ, रञ्जन खड्का, सचिव जगदिश भट्ट, कोषाध्यक्ष सुनकेसरी माली, विद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसी, पदाधिकारी, रेफ्री, प्रशिक्षक र खेलाडीको उपस्थिति रहेको थियो।


२०७५/७५ को लागि भलिबल संघको वार्षिक कार्यक्रम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell