PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विद्यासुन्दरको गलामा रञ्जुको खादा, मतमा तेस्रो मनमा पहिलो



सविन ढकाल

विद्यासुन्दरको गलामा रञ्जुको खादा, मतमा तेस्रो मनमा पहिलो

काठमाडौं : आइतवार बिहान काठमाडौं महानगरपालिकाको  अन्तिम मत परिणाम घोषणा भयो। वडा सदस्यदेखि मेयरसम्मका विजेता हँसिलो अनुहार लिएर घोषणा सभामा सहभागी भए। त्यही भिडको एक कुनामा उज्यालो अनुहार बनाएर हातमा खादा लिएर उभिएकी थिइन् एक युवती।

अनुमान गरिहाल्नुभयो होला, त्यो को थियो?

हो, तिनी तिनै रञ्जु दर्शना थिइन् जो यसपटकको चुनावमा सबैभन्दा चर्चामा रहिन्। मतमा तेस्रो र मनमा पहिलो छाप कायम राखेकी काठमाडौंकी कान्छी उम्मेदवार।

जितेका उम्मेदवारसमेत समयमा नपुगेर घोषणा कार्यक्रम ढिलो सुरु भइरहेको ठाउँमा विवेकशीलकी रञ्जुको उपस्थिति फेरि पनि सांकेतिक नै थियो। चुनावी मैदानमा पराजित हुँदा पनि 'स्पोर्टस्म्यानसीप' देखाउँदै उनी विजेताहरुलाई शुभकामना प्रकट गर्न पुगेकी थिइन्। मेयर र महानगरपालिका उपप्रमुख दुवैलाई उनले बधाइ दिइन्।

चुनावी परिणामले उनलाई हतोत्साही होइन थप प्रेरित गरेको देखिन्थ्यो। उनले चुनाव नजित्दा पनि मन जितिन् जुन उनले दावीका साथ भनिन्।

'मैले हारेको होइन जितेको छु। सबैलाई मेरो शुभकामना छ,' सभागृह अगाडि भेटिएकी उनले हामीलाई प्रतिक्रिया दिइन्।
 
उनी मेयर पदमा उठ्दा धेरैले पत्याएनन्, उनले ल्याउने मत खिसीका रुपमा उडाइयो पनि। तर उनले जुन रफ्तारमा मत बटुलिन धेरै मानिसहरु आफ्नो सोच सुधार्न वाध्य भए। स्थापित राजनीति दलका हस्तीहरुसँग भिड्दा स्वतन्त्र तर्फबाट उम्मेदवार रहेकी उनले २३ हजार ४ सय ३९ मत ल्याइन। स्वतन्त्रबाट प्राप्त भएको चुनाव चिन्ह इस्टकोटको दुई साता पनि ब्रान्डिङ गर्न नपाउँदै उनी काठमाडौं महानगरमा तेस्रो शक्तिका रुपमा उदाइन् भलै चुनाव मत गणनाको निर्णायक खेल हो।
 
युवापुस्ताले आफुलाई रुचाएको र नयाँ पुस्तालाई नै राजनीतिमा हेर्ने चाहनाले मत परिणाममा आफू अगाडि आएको उनले बताइन्। 
विजय भएकासँग सहकार्य गरेर अगाडि बढ्ने योजना छ उनको। 

तपाईँको राजनीतिक यात्रा अब के हुन्छ? हाम्रो प्रश्नमा उनले भनिन्, 'म राजनीतिमा लागिसकेँ अब पछि हट्दिन। मेरो राजनीतिक यात्रा टुङ्गिँदैन।' दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने आफ्ना उम्मेद्वारहरुलाई जिताउन प्रचार प्रसारमा जाने उनले योजना सुनाइन्। 

'मेरो लागि प्रचार गर्ने समय कम मिल्यो। दोस्रो चरणको निर्वाचमा भने हामी चाँडै प्रचारमा जान्छौं,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell