PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

ती पाँच मिनेट जसले २४ वर्षकी विमलालाई 'हार्दाहार्दै' देवघाट गाउँपालिकाकी उपाध्यक्षमा विजयी बनायो



सविन ढकाल

ती पाँच मिनेट जसले २४ वर्षकी विमलालाई 'हार्दाहार्दै' देवघाट गाउँपालिकाकी उपाध्यक्षमा विजयी बनायो

काठमाडौँ : 'तिमीले एक मतले हार्‍यौ।' 

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा प्रतिस्पर्धी बनेकी विमला थापालाई कसैले यस्तो सुनाउँदा उनी झसङ्ग भइन्। अनुहार मलिन भयो। चिटचिट पसिना नै आयो। यी शब्दहरु सुनेपछिका ५ मिनेट कसरी बित्यो अहिले पनि विमला थापा सम्झिन सक्दिनन्।
 
'दिन नै रात झैँ भयो,' उनले भनिन्।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसबाट भिडेकी उनी सबैभन्दा कान्छी उम्मेदवार थिइन्। भर्खर २५ वर्षकी भइन्। बाँकी तीन प्रतिस्पर्धीहरु भने दोब्बर र तेब्बर उमेरकाहरुसमेत थिए। 

एमालेबाट उम्मेदवार भएकी ३९ वर्षीया सावित्रा न्यौपानेभन्दा एक भोट कम ल्याएकोले उनी पराजित भएको खबर सुनाइएको थियो उनलाई। 

तर ५ मिनेटमा चमत्कार भयो। अर्को खबर आयो। यसपटक भने खुशीको। 

'एक मतले तिमीले जित्यौ।' 

झिनो मतअन्तर भएकोले पार्टीका प्रतिनिधिहरुले पुनः गणनाको माग गरे। पुनः गणना गर्दा परिणाम उनको पक्षमा गयो। 
एमालेकी सावित्रा न्यौपानेको २८५९ मत। कांग्रेसकी विमल थापाको २८६० मत। 

एक मतको अन्तरले तनहुँ देवघाट गाउँपालिका उपाध्यक्ष बनेकी विमलाको राजनीतिक यात्रा स्थानीय तहको निर्वाचन हुने पक्का भएपछि मात्र सुरु भएको हो। 

उनलाई आफ्नै पार्टीका सभापति को छन् भन्नेसमेत हेक्का छैन।  पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्, 'खासै नेता चिन्दिनँ।‘

तर उनको आत्मविश्वास गजब थियो, ‘बिस्तारै चिन्दै र सिक्दै गइहाल्छु नि।'

विमलाका हजुरबुबा रणबहादुर आले भने सोही ठाँउमा दुई पटक वडा अध्यक्ष भइसकेका व्यक्ति हुन्। हजुरबुबा र बुबाको सहयोग र समर्थनसहित राजनीति गर्ने उनको योजना छ।

बुबाहरुले नै 'सिक्दै र बुझ्दै जान्छ्यौ' भनेर उम्मेद्वारी दिन लगाउनु भएको हो,' उनले ढाँटिनन्। 

स्नातक अध्ययनरत यी कान्छी उपाध्यक्षको योजना चाहिँ के छ त?

खानेपानी र सडक विकास। 

'हाम्रो गाउँमा खानेपानीको र सडकको समस्या छ। यसको व्यवस्थापनमा लाग्छु,' उनले भनिन्।

स्थानीय सरकारको उपप्रमुखको रुपमा उनीमाथि जिम्मेवारीको भारी थपिएको छ। उनी अब गाउँ कार्यपालिका, गाउँ सभामा सदस्य हुन्छिन्। त्यसबाहेक स्थानीय तहको न्यायपालिकाको प्रमुखका रुपमा उनले न्यायाधीश सरहको काम समेत गर्नुपर्नेछ। 

अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति बन्छ। मुलुकी ऐनको घरजग्गा महलको विषयदेखि, अंशवण्डाको विवाद हेर्नेसम्मको मुद्दामा उनले न्याय दिनुपर्नेछ। कूलो, पोखरी विवाद, पानीको बाँडफाँट विवाद, बाटो मिचेको विवाद, चौपाया विवाद, अंशवण्डा अन्तर्गत खान लगाउन दिनु पर्ने लगायतका विषयका विवाद पनि उनले हेर्नुपर्नेछ। 

विस्तृत हेर्नुस्- पावरफूल बन्दैछन् गाउँपालिका/नगरपालिका उपाध्यक्ष : कार्यकारीदेखि न्यायिक अधिकारसम्म

कान्छी उपाध्यक्षका रुपमा उनको चर्चाले गाउँको सीमा नाघिसकेको छ। त्यसैले चिन्तित पनि छिन् उनी – कार्यकाल कसरी सफल बनाउने? 

उनको एउटै मन्त्र छ : सफल हुने हो भने गलत नगर्ने। 

गलत नगर्ने युवा पुस्ताको यो अठोट व्यवहारमा परिणत भए यसले राजनीति फोहरी खेल हो भन्दै नाक खुम्च्याउने युवा पुस्ताका अरुलाई पनि पक्कै आकर्षित गर्ने आशा गर्न सकिन्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell