PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चार कारण जसले पोखरामा कांग्रेस-माओवादी गठबन्धनलाई पछार्दै लालकिल्ला बनाउन सफल भयो एमाले 



पहिलोपोस्ट

चार कारण जसले पोखरामा कांग्रेस-माओवादी गठबन्धनलाई पछार्दै लालकिल्ला बनाउन सफल भयो एमाले 

  • नरहरि पौड्याल -
पोखरा :  क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथमा करिब ६० प्रतिशत मत गन्न सकिँदा स्पष्ट भइसकेको छ – यो ठाउँ अब एमालेको लालकिल्ला बन्नेछ।  

विगतका संसदीय निर्वाचनदेखि स्थानीय निकायको निर्वाचनसम्म सबैमा कास्की जिल्लामा एमालेले वर्चश्व कायम गर्दै आएको हो। तर पछिल्लो संविधान सभा निर्वाचनमा कास्कीका चार निर्वाचन क्षेत्रमा कांग्रेस र एमाले 'फिफ्टी-फिफ्टी' भए। कास्की १ र २ मा कांग्रेस तथा ३ र ४ मा एमाले विजयी भयो। 

महानगरपालिकाको रणसंग्रामका लागि कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्‍यो। र पनि एमाले आफ्नो विजयी झण्डा गाड्दै जान सफल भइरहेको छ। बिहीबार त कांग्रेसका मेयरका उम्मेद्वार रामजी कुँवरले पनि हार स्वीकार गरी एमाले उम्मेद्वार मानबहादुर जिसीलाई बधाईसमेत दिइसके।
 
कांग्रेसबाट मेयर र उपमेयरका उम्मेदवारले विगतको स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा राम्रो मत ल्याएका वडाहरुमा समेत यसपटक नराम्रोसँग पराजय भोग्यो। वडा अध्यक्षमा कांग्रेसले जितेको वडाहरुमा समेत मेयर र उपमेयरमा एमाले उम्मेदवार मानबहादुर जीसी र मञ्जु गुरुङले धेरै मत तान्न सफल भए। कांग्रेस सांसद शारदा पौडेलको वडा नम्बर १ बाट समेत कांग्रेसका मेयर र अन्य उम्मेदवारले भन्दा एमालेका उम्मेदवारहरु बढी मतका साथ विजयी भए।
 
अहिलेसम्म मतगणना भएका २२ वटा वडामध्ये वडा नं. १, ५, ७, ८, ९, १०, ११, १३, १५, १६, १८,१९,२० र २१ मा एमालेले अध्यक्षसहित वडासदस्यमा जित हासिल गर्‍यो। यही क्रम जारी रहे महानगरको नगरसभा र नगरकार्यपालिकामा पनि एमालेकै बहुमत हुने निश्चित छ। 

कसरी र कुन रणनीतिले सफल भयो त एमाले?

१)    उम्मेदवार छनौट

दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनमा एमालेले उम्मेदवार छनौट गर्दा नै लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार छनौट गर्न सफल भयो। पार्टीमा मेयरका आकांक्षीको लर्को लागेपछि नगर कमिटीका सदस्यहरुले ९ जना आकांक्षी मध्येबाट मतदान गरी जिसीलाई सर्वाधिक मतका साथ विजयी गराएका थिए। 

त्यो प्रतिस्पर्धामा नेकपा एमाले कास्कीका अध्यक्ष एवं साविक पोखरा उपमहानगरपालिकाका पूर्वप्रमुख कृष्ण थापा, जिविसका पूर्वउपसभापति श्रीनाथ बराल, प्ररायू संघका केन्द्रीय अध्यक्ष राजीव पहारीलगायतका नेतालाई पछि पार्दै ठूलो मत अन्तरमा जिसी पार्टीबाटै उम्मेदवार छनौटमा विजयी भएका थिए।

पार्टीले महानगरका मेयर र उपमेयरका लागि स्थायी समितिको बैठकबाट उम्मेदवार तय गर्ने भनेको थियो। नगर कमिटीको सिफारिशलाई केन्द्रले लत्याएन। 

उम्मेदवार छनौट मै नगरकमिटीले योग्य र लोकप्रिय उम्मेदवार छनौट गर्न सफल भएका कारण पनि एमालेको चुनाव जित्ने बलियो आधार बन्यो। उता, कांग्रेसले उम्मेदवार चुन्दा भने नातावाद र नेताको आशिर्वाद हावी भयो। हेर्नुस् सम्बन्धित समाचार : मध्यरातमा सानेपामा गएको त्यो 'सुनामी' जसले डुबाउँदैछ पोखरामा कांग्रेसलाई    

२)    विचलित कार्यकर्ताको घरफिर्ती 

कास्की एमालेका धेरै कार्यकर्ता खरो वाम विचारधारा अँगाल्ने भन्दै माओवादीको पछि लागेका थिए। जब माओवादीमा विचलन आउन थाल्यो, उनीहरु सक्रिय  रुपमै पुरानो घर एमालेमा फर्किएर मूलप्रवाहमै सक्रिय हुन थाले। माओवादीको क्षयीकरणले एमालेको अवस्थामा सुधार आयो। 

३)    रवीन्द्र अधिकारीको चातुर्य

कास्की जिल्ला एमालेको बाहुल्य भएको क्षेत्र छँदै थियो, राजनीतिकका चतुर खेलाडी एवं राष्ट्रियस्तरमै प्रभावशाली बनेका सांसद रवीन्द्र अधिकारीले पुनर्संरचनाका बेला एमालेको पकड भएका क्षेत्रलाई महानगरमा समायोजन गर्न सफल भए। 

४)    एमालेको बुद्धिमतापूर्ण निर्णय

यस्तै एमालेले उम्मेदवार छनौट गर्दा भौगोलिक, क्षेत्रीय र जातीय उम्मेदवारलाई विशेष ख्याल गरेको थियो। मेयर उम्मेदवार जिसी साबिक लेखनाथ नगरपालिकाका स्थानीय बासिन्दा हुन्। त्यस्तै, उपमेयरकी उम्मेदवार मञ्जु गुरुङ साबिकको पोखरा उपमहानगरपालिका ८ की वासिन्दा हुन्। गुरुङ समुदायको बाहुल्यता क्षेत्रमा स्थानीयतालाई ध्यान दिएर उम्मेदवार छनौट गर्ने एमाले बुद्धिमत्तापूर्ण निर्णय पनि परिणाममा झल्कियो।   

कांग्रेसले उम्मेदवार बनाएका रामजी कुँवर केन्द्रीय स्तरमा राम्रो प्रभाव भएका तर पोखराकै स्थानीय भएर पनि धेरैले नाम नसुनेका उम्मेदवार हुन्। ट्रेड युनियन कांग्रेसको राजनीतिमा सक्रिय उनले केन्द्रसम्म राम्रो छवि बनाएको पक्कै हो। तर कुँवर स्थानीयस्तरमा नयाँ अनुहार जस्तो देखिए। उपमेयरकी उम्मेदवार सरस्वती गुरुङसमेत राजनीतिमा त्यति धेरै परिचित नाम होइन। गुरुङलाई पोखरामा उद्यमी, व्यवसायी र सञ्चारकर्मीका रुपमा धेरैले चिन्छन्। पार्टीले एकाएक उम्मेदवार बनाएपछि मात्र उनीहरुको चर्चा सुरु हुन पुग्यो। कांग्रेसका परिचित उम्मेदवार नहुनु एमालेको लागि प्लस प्वाइन्ट बन्न पुग्यो। 

महानगर विजयका नायक रवीन्द्र अधिकारी

महानगरलाई एमालेको लालकिल्ला बनाउने अभियानका नायक बनेका छन् एमाले नेता तथा सांसद रवीन्द्र अधिकारी। के छ त उनको विश्लेषण? 

'गणतान्त्रिक परिवर्तन र विकास प्रतिको समर्पणनै यो जितको मुख्य आधार हो,' उनले भने, ‘एमालेले निष्ठापूर्वक गरेका काम, समर्पण र त्यागले नै जित सम्भव भयो।' 

पार्टीको कुशल संगठन, लोकतान्त्रिक विधि र प्रक्रियाबाट लोकप्रिय उम्मेदवारको छनौटले जित सुनिश्चित भएको तथा कांग्रेस र माओवादीको चुनावी गठबन्धन कार्यकर्ताहरुले नरुचाउँदा पनि आफूहरुलाई फाइदा भएको उनी बताउँछन्।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell