PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महानगर भएसँगै विराटनगरमा उदाए कांग्रेस र एमालेबाट मेयरमा 'हेभिवेट' उम्मेदवार



महानगर भएसँगै विराटनगरमा उदाए कांग्रेस र एमालेबाट मेयरमा 'हेभिवेट' उम्मेदवार

  • अनन्तराज न्यौपाने
विराटनगर : दोस्रो चरणको निर्वाचन अघि नै विराटनगर महानगर भएसँगै नेपाली काङ्ग्रेस र एमालेमा मेयरका उम्मेदवार पनि ‘हेभिवेट’ हुने भएका छन्।
 
मोरङ क्षेत्र नम्बर ५ बाट चुनिएका काङ्ग्रेसी सांसद् अमृत अर्याललाई महानगरको मेयरमा चुनाव लड्न पार्टी सभापति शेरबहादुर देउवाले ठाडो दबाब दिएका छन्। त्यस्तै एमालेका लालबाबु पण्डितले मेयरमा उम्मेदवारी दिन अस्वीकार गरेपछि पार्टीका जिल्ला सभापति विनोद ढकाल आफैँ प्रत्यासी हुने निश्चयमा पुगेका छन्।

पहिलो चरणको मतदानअन्तर्गत चार महानगरपालिकामध्ये तीनमा नाजुक अवस्था भोगेको नेपाली काङ्ग्रेसले नवघोषित महानगरपालिका विराटनगरमा जसरी भए पनि विजयको झण्डा फहराउनु पर्ने मानसिकता बनाएको छ। त्यसैले लोकप्रिय भनिएका अर्याललाई उम्मेदवार बन्न पार्टी नेतृत्वले दबाब दिइरहेको छ।

काङ्ग्रेसबाट चर्चामा रहेका सांसद् अर्याल २०५४ को स्थानीय निर्वाचनमा मेयरका प्रत्याशी थिए । उनलाई एमालेका रमेशचन्द्र पौडेलले पराजित गरेका थिए।
 
‘हामीले कुनै हालतमा पनि जित्नुपर्छ’, मोरङ काङ्ग्रेसका सभापति डिगबहादुर लिम्बूले भने, ‘तीन महानगरपालिकामा हामीलाई लागेको चोटमा विराटनगरवासीले मलहमपट्टी गर्नेछन्।’

विराटनगर नेपाली काङ्ग्रेसको जन्मथलो र राजधानीसमेत भएको स्पष्ट पार्दै सभापति लिम्बूले जो उम्मेदवार भए पनि रुख छापको जित हुने निश्चित रहेको ठोकुवा गरे।

सांसद् अर्यालले महानगरको चुनाव लड्ने विषयमा विषयमा आफूले कुनै धारणा नबनाएको तर पार्टीको निर्णय शिरोधार्य गर्न तयार रहेको प्रतिक्रिया व्यक्त गरे ।

काङ्ग्रेसबाट नगर सभापति भीम पराजुली, जिल्ला सचिव नागेश कोइराला र नेपाल महिला सङ्घका पूर्व अध्यक्ष डिला सङ्ग्रौला प्रमुख पदको टिकटको दौडमा छन्।

त्यस्तै एमाले अध्यक्ष ढकालले पनि आफू विराटनगर महानगरपालिकाको प्रमुख पदमा चुनाव लड्न इच्छुक रहेको उल्लेख गर्दै पार्टीले अवसर दिएमा उम्मेदवार हुने बताए।

मुलुकभरि नै एमालेको लहर फैलिएको दाबी गर्दै अध्यक्ष ढकालले विराटनगरजस्तो सचेत र सभ्य महानगरले यो लहरलाई कायम राख्ने विश्वास व्यक्त गरे।

एमालेबाट पूर्व जिल्ला अध्यक्ष महेश रेग्मी र बाबुराम कार्की टिकटको दौडमा छन्।

माओवादी केन्द्रले प्रमुखमा भोगेन्द्र यादव र उपप्रमुखमा नमिता न्यौपानेलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

सङ्घीय समाजवादी फोरमले उमेश यादव, राजकुमार यादव र जयराम यादवमध्येबाट एकलाई प्रमुख बनाउनेछ। 

जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १९ गते उम्मेदवारी दर्ता हुँदैछ। 
   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell