PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मेलम्चीको पानी आएपछि सडक पखाल्छु : ललितपुरका नवनिर्वाचित मेयर चिरिबाबुलाई चार प्रश्न 



 मेलम्चीको पानी आएपछि सडक पखाल्छु : ललितपुरका नवनिर्वाचित मेयर चिरिबाबुलाई चार प्रश्न 

बुधबार मध्यरातमा देशले महानगरका पहिलो मेयर पायो। निर्वाचनको नौ दिनपछि ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भए। सुधारिएको पञ्चायती व्यवस्थादेखि प्रजातन्त्र पुनर्स्थापनापछिको दोस्रो तथा पछिल्लो स्थानीय निर्वाचनसम्म हरेक पटक वडाध्यक्ष चुनिएका चिरिबाबुलाई पहिलोपोस्टका प्रभात भट्टराई र उमेश पौडेलले चार प्रश्न राखे। 

अहिलेको ट्रेन्ड हेर्दा देशका चार महानगरमा नेपाली कांग्रेसका तर्फबाट तपाईँले मात्रै नेतृत्व गर्नुपर्ने जस्तो देखिएको छ। तपाईँको प्राथमिकता के के छन्?
आशा गरौँ नेपाली कांग्रेसको तर्फबाट अरु उम्मेदवारहरुले पनि महानगरमा जित्नेछन्। मैले आफ्नो प्रतिवद्धता पत्रमा जे उल्लेख गरेको थिएँ, ती कुराहरुलाई कार्यान्वयन गर्न लाग्नेछु। मूलभूत रुपमा अहिले कर्मचारीले चलाइरहेको महानगरमा काममा ढिलासुस्ती हुने गरेको छ। म त्यसमा आमूल सुधार गर्छु। 

संविधानले स्थानीय तहलाई थप अधिकार दिएको छ। यी अधिकारलाई कसरी उपयोग गर्ने सोचमा हुनुहुन्छ?
यी विषयमा मैले प्रतिवद्धता पत्रमा उल्लेख गरेको छु। नगरवासीलाई धूलोधूँवाबाट मुक्त गर्ने घोषणा गरेको छु। निकट भविष्यमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइपुग्छ। त्यसपछि महानगरको मुख्य मुख्य सडकहरु पानीले पखालेर हामी सफा गर्छौँ। 

भूकम्पका कारण महानगरका जनता आक्रान्त छन्। सरकारका तर्फबाट जे राहतका प्याकेज प्रदान गरिएका छन्, त्यो अपुग छ। बैँकबाट ऋण लिन पनि आकाशको तारा झार्ने काम जस्तो भइरहेको छ। म महानगरपालिकाको तर्फबाट भूकम्पपीडितहरुलाई आर्थिक प्याकेज दिनेछु। 

भूकम्पपछि पाटन दरबार क्षेत्र अझै खण्डहरको रुपमा छ। यसमा तपाईँको के पहल हुनेछ?
सरकारको पुरातत्व विभागका तर्फबाट भइरहेको पहललाई सम्मान गर्छु। दरबार क्षेत्रमा मात्र हैन पाटनका अन्य ठाउँका सम्पदा पनि भत्किएका छन्। यसको पुननिर्माणमा निश्चय पनि समय लाग्छ। यी सम्पदाहरुलाई पुरानै स्वरुपमा फिर्ता ल्याउनका लागि म पहल गर्छु। 

तपाईँको प्रतिवद्धता पत्रमा सम्पदा सहर बनाउने उल्लेख छ। कसरी त्यसको कार्यान्वयन गर्दै हुनुहुन्छ?
सम्पदा क्षेत्रमा बनेका संरचनाहरुलाई सम्पदासँग मिल्दोजुल्दो शैलिमा परिणत गर्ने कोशिश गरिनेछ। अब उप्रान्त यस्ता किसिमका संरचनाहरुलाई पनि त्यस्तै बनाउन लगाइनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell