PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कहिल्यै फेल नभएका चिरिबाबु महर्जन बने ललितपुर महानगरपालिकाका मेयर



उमेश पौडेल

कहिल्यै फेल नभएका चिरिबाबु महर्जन बने ललितपुर महानगरपालिकाका मेयर

ललितपुर : स्थानीय तहको निर्वाचनका लागि वैशाख ३१ गते मतदान भएपछि सबैभन्दा पहिले मतपेटिका खोल्ने महानगर थियो ललितपुर महानगरपालिका। तर सुरुवात नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अपेक्षा गरे अनुरुप भएन। केही दिनसम्म उनी एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा पछि थिए। 

तर पनि उनमा आत्मविश्वास थियो, म जित्छु। किनभने उनी जीवनमा कहिल्यै फेल भएकै थिएनन्।  

कक्षा १ देखि १० सम्म उनी सँधै फर्स्ट भए। एमकमसम्मको अध्ययन गर्दा कहिल्यै पनि उनी फेल भएनन्। कहिल्यै ब्याकपेपर दिनुपरेन। 

पुल्चोकको वडा नम्बर ३ मा जन्मिएका चिरिबाबु महर्जनको बाल्यकाल संघर्षमै बित्यो। तीन दाजुभाइमा माहिला चिरिबाबु चार वर्षको हुँदै पिताको मृत्यु भयो। 

पैतृक सम्पतिका रुपमा खेत त थियो। तर पैसा थिएन। स्कूलमा पढ्नलाई पैसा हुँदैन थियो। मिनपचासको विदामा भिनाजुको कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे र वर्षभरीको लागि किताब, कापीकलम र पोशाक किन्न पैसा जोगाउँथे। 

पढाइमा तीक्ष्ण देखेर नै उनलाई ज्ञानोदय बालबाटिकाका फाउन्डर प्रिन्सिपलले ६ कक्षादेखि १० कक्षासम्म काम नगर्नू, पढाइमा ध्यान दिनू भन्दै स्कूलको फि, युनिफर्म सबैको व्यवस्था गरिदिए।  

त्यसपछि उनले आइकम पब्लिक युथ क्याम्पसबाट गरे, मिनभवन क्याम्पसबाट बीकम र त्रिभुवन विश्वविद्यालयबाट एमकम गरे। ज्यापु भनेर हेप्ने समाजका कारण थर लुकाउनेहरुका अगाडि आफूहरु ज्यापु समुदायकै भएको भनी गर्वका साथ देखाउन गठित ज्यापु समाजमा उनी स्थापना कालदेखि नै आवद्ध थिए। 

२०५९ सालदेखि २०६२ सालसम्म त उनी ज्यापु समाजका अध्यक्ष पनि भए। ज्यापु समाजले नै बनाउन लागेको वृद्धाश्रम निर्माणको काममा उनी सुरुदेखि नै लागिपरेका छन्। 

धेरै वर्ष त्रिभुवन इन्टरन्यासनल एयरपोर्टको प्रोजेक्ट म्यानेजर भएर काम गरेका उनले क्यानडा, अमेरिका, जापान लगायत धेरै देश घुमेका छन्। 

उनले आफ्नो पैतृक सम्पतिमा महर्जन अपार्टमेन्ट बनाएका छन् काठमाडौँमा। डेढ रोपनी जग्गामा बनेको दुई वटा घरमा नौ वटा अपार्टमेन्ट छन्। 

३६ सालको जनमत संग्रहले उनलाई प्रेरित गर्‍यो राजनीतिमा उत्रन। बहुदललाई जिताउन लागिपरे उनी। तर बहुदल हार्‍यो। त्यसपछि सुधारिएको पञ्चायत व्यवस्थामा वडाध्यक्षका रुपमा प्रतिस्पर्धा गरे उनले। २०३८ सालको स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि उनले लगातार २०५६ सालसम्म वडाध्यक्ष जिति नै रहे। ४७ सालमा उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए। 

उनकी श्रीमती मिश्री महर्जन र तीन छोराछोरी छन्। तीमध्ये छोरा अमेरिकाको एटलान्टामा मेकानिकल इन्जिनियर छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell