PahiloPost

Jun 20, 2018 | ६ असार २०७५

पहिलोमा समस्या आए पनि निर्वाचन आयोगले दोस्रो चरणका लागि लागि नयाँ मतपत्र नछाप्ने 


पहिलोमा समस्या आए पनि निर्वाचन आयोगले दोस्रो चरणका लागि लागि नयाँ मतपत्र नछाप्ने 
काठमाडौँ : निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि अहिले कै जस्तो मतपत्र प्रयोग गर्ने भएको छ। 

पहिलो चरणको निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको गुनासो आइरहे पनि आयोगले सबै जिल्लाका लागि मतपत्र छापेर सम्बन्धित जिल्लामा समेत पुर्‍याइसकेको भन्दै नयाँ मतपत्र छाप्न संभव नभएको बताएको हो।

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारीसमेत दर्ता नभइसकेको अवस्थामा मतपत्र भने छापिइसकेका छन्। त्यसैले उम्मेदवारै नभएको चुनाव चिह्न मतपत्रमा हुने समस्या दोस्रो चरणमा पनि देखिने निश्चित भएको छ। 

आयोगले १८  जना, २२ जना, २८  जना, ३६  जना, ४४  जना र ६८  जना उम्मेदवार भएका स्थलको लागि पहिले नै चुनाव चिह्नसहित मतपत्र छापिसकेको छ। 

'यी मतपत्र पनि पूर्वप्रमुख आयुक्त तथा आयुक्तहरुसहित सरोकारवाला र विज्ञहरुको परामर्शमा डिजाइन भएको थियो, यस केही कमिकमजोरी रहे पनि दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सच्याउन सम्भव छैन,' निर्वाचन आयुक्त ईश्वरी पौडेलले भने, 'किनभने सबै जिल्लाको एकै चरणमा निर्वाचन गराउने गरी आयोगले मतपत्र छापिसकेको थियो र अहिले ती मतपत्र सम्बन्धित जिल्लासम्म पुर्याैइसकेको अवस्था छ।' 

उनले मतपत्रसँगै मतदाता परिचयपत्र र निर्वाचन प्रचार सामाग्रीसमेत जिल्ला-जिल्लामा पुगिसकेको भन्दै यो चरणमा मतदातालाई सु–सूचित गर्ने बाहेक अन्य सुधार सम्भव नभएको बताए। 

उल्टै दललाई पो दोष

आयुक्त पौडेलले दलहरुलाई पनि दोषी देखाए। मतदातालाई प्रशिक्षित गर्ने जिम्मेवारी आयोगको भए पनि मतको महत्व बुझेर राजनीतिक दलले पनि गर्नुपर्नेमा त्यसो नहुँदा मत बदर भएको उनको जिकिर थियो। 

'निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम गरेकै हो तर मतको महत्व पनि हुने र सरोकारवाला पनि भएकाले त्यो काम दलहरुबाट पनि हुनुपर्ने थियो,' आयुक्त पौडेलले भने, 'तर दलहरुबाट त्यो नहुँदा र चुनावी तालमेलबारे मतदातालाई जानकारी गराउन नसक्दा केही पदमा मत बदर भएको देखिएको छ।'

बदर हो तर बदर होइन 

आयुक्त पौडेलले बदर मतको प्रतिशत दुई प्रतिशत भन्दा कम रहेको भन्दै मिडियामा नबुझी समाचार आएको बताए। 'बदर मत भन्नाले एउटा पूरै मतपत्र काम नलाग्ने भयो भने मात्र भनिन्छ तर यहाँ एउटा पदमा भएको बदर मतका आधारमा बदर मत धेरै भएको भन्दै समाचार सम्प्रेषण भएका छन्,' पौडेलले बदर मतको व्याख्या गर्दै भने, 'हामीले मतगणना सकिएका नगरहरुको विवरण मागेर हेर्दा त्यो दुई प्रतिशतभन्दा पनि कम छ।' 

आयुक्त पौडेलले सात पदका लागि प्रयोग गरिएको मतपत्र पूरै बदर नभएको भनेर तर्क गरे पनि प्रत्येक पदको कोलम नै त्यो पदका लागि मत पत्र मानिन्छ। 

तालमेल भएका ठाउँहरुमा उम्मेदवारै नभएको पदमा चुनाव चिह्न रहेको र त्यसमा छाप लागेर सो पदको मत बदर भएको देखिएको छ।

ललितपुरमा एमालेको उम्मेदवारै नभएको उपमेयर पदको चुनाव चिह्नमा हजारौँ मत परेका छन्। उपमेयरका लागि सो मत बदर भए पनि पूरै मत बदर भएकोलाई मात्र बदर मत मान्ने तथ्यांक आयोगले देखाएको छ।   
 


पहिलोमा समस्या आए पनि निर्वाचन आयोगले दोस्रो चरणका लागि लागि नयाँ मतपत्र नछाप्ने  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट