PahiloPost

Apr 22, 2018 | ९ बैशाख २०७५

टीकापुर घटनामा संलग्नको मुद्दा फिर्ता भएको छैन –प्रधानमन्त्रीको सचिवालय


पहिलोपोस्ट /पहिलोपोस्ट

टीकापुर घटनामा संलग्नको मुद्दा फिर्ता भएको छैन –प्रधानमन्त्रीको सचिवालय
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयले कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ। 

सचिवालयले विज्ञप्ति प्रकाशित गर्दै जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको जनाएको छ। 

बिहीबारको मन्त्रिपरिषद् बैठकले तराई–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो। 

बैठकको निर्णयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीको मुद्दा फिर्ता लिने सरकारी निर्णयसम्बन्धी प्रकाशित समाचारको खण्डन गरेको हो। 

मन्त्रिपरिषद्को बैठकले टीकापुरलगायतका हत्याका घटनामा संलग्न नभएका तर आशङ्का र पूर्वाग्रहकै आधारमा झुट्ठा मुद्दा लगाइएका व्यक्तिहरुका मुद्दा कानुनबमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानुन मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। 

दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण बनाउन सरकारले घटनामा असंलग्नहरुमाथि लगाएका झुट्ठा मुद्दा कानुनबमोजिम फिर्ताको प्रक्रिया थाल्ने निर्णय गरेको थियो। प्रधानमन्त्री सचिवालयले दोस्रो चरणको निर्वाचन बाँकी नै रहेकाले संयमित भएर निर्वाचनको तयारीमा जुट्नसमेत सबैमा अपिल गरेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट