PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

किशोर नेपालको टिप्पणी : के सक्किएकै हो कांग्रेस?


किशोर नेपाल/पहिलोपोस्ट

किशोर नेपालको टिप्पणी : के सक्किएकै हो कांग्रेस?
स्थानीय तहको निर्वाचनमा खसेका मतहरुका जुम्सा गणक, परिणाम पर्खेर बसेका मानिसहरुको दिक्कलाग्दो भिड र लद्दू मतगणनाको डिफेन्समा उत्रिएका प्रमुख निर्वाचन आयुक्त। यो डिफेन्स पनि राम्रै हो। ‘कल्पनाशील' प्रयोगका नाममा दैनिक अखबारको आकारमा छापिएका अव्यवहारिक मतपत्र वैधानिक भइसकेको छ। डिफेन्स नगरेर गर्नु के?

नेपाली समाजलाई ‘समृद्ध’ बनाउन पटुका कसेर लागेका राजनीतिक दलहरु कम्तिमा पनि देशका चार महानगरमा इलेक्ट्रोनिक भोटिङ मसिनको प्रयोग गर्न सहमत भएको भए मत परिणामको नाममा अहिलेको हाहाकार र कोलाहल बेहोर्नु पर्ने नै थिएन। तर, भोटका कुरामा नेताहरु मसिनसँग डराउँछन्। मसिन कसैले भनेको टेर्दैन। मद्यपान पनि गर्दैन। खाजा पनि खाँदैन।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि यो नै पहिलो स्थानीय चुनाव हो। यो चुनावमा मतदान गर्ने भोटरभन्दा पनि मतदातालाई सिड्यूसगर्ने ‘सोटर’को महिमा ठूलो हुने रहेछ। मतदानपछि दोस्रो महायुद्धकालीन प्रजातिका गोयबल्सका प्रेतहरु छ्याप्छ्याप्ती सक्रिय हुने रहेछन्। उनीहरुलाई मतगणना शुरु नहुँदै जय–विजय थाहा भइसक्ने रहेछ। मतदान भएको दिनमा नै गोयबल्सका प्रेतहरुले पत्तासाफ भइसकेको भनेर ठहर गरेको रुख बिहीबार बिहानसम्म तीनवटा प्रदेशका आधाजसो गाउँ–नगरपालिकामा फैलिइसकेको थियो। ती प्रेतहरुका अनुसार, अहिले तेस्रो स्थानमा देखिएको गोलाकारभित्रको हँसिया हथौडा देशको राजनीतिक नक्साबाटै सिनित्त भै सकेको थियो। चारैतिर सूर्यको जगजगी हुने र वाह! सूर्यको उदय एकै पटक हुने भविष्यवाणी गरेका थिए प्रेतहरुले। तर, त्यस्तो नहुँदो रहेछ। चुनावमा खसेको अन्तिम भोट नगनेसम्म कसैको जय–विजयको ठेगान नलाग्ने रहेछ।

स्थानीय निकाय चुनावको पहिलो चरणसँगै केही परिहासपूर्ण कुरा भए। मतगणना शुरु नहुँदै कांग्रेसीहरुबाटै सभापति शेरबहादुर देउवा विरुद्ध आरोप प्रत्यारोपको श्रृंखला शुरु भयो। पहिलो, कांग्रेस सभापति देउवाका कारण चुनावमा कांग्रेस सोत्तर भयो। देउवाले माओवादीलाई सरकार बनाउन नसघाएको भए, देउवाले आइजीपी नियुक्तिमा हस्तक्षेप नगरेको भए, देउवाले प्रधान न्यायाधीश सुशीला कार्कीका विरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न नलगाएको भए कांग्रेसको हरिबिजोग हुने थिएन। ‘सुशील दा'ले त भन्नुभएको थियो देउवाको हातमा नेतृत्व गयो भने कांग्रेस सकिन्छ। ल हेर्नुस त उहाँले भने जस्तो भएन त? कांग्रेस सकिएन त?’

बिहीवारको कान्तिपुर समाचारपत्रका अनुसार कांग्रेस र एमालेले अर्ध शतक पूरा गरेका छन्।

आफूलाई खाँटी कांग्रेस बताउनेहरुबाटै यस्ता कुरा सुनेपछि सूर्य छापवालाहरुले ती कांग्रेसीहरुको जयजयकार त गर्ने नै भए। अनलाइनहरुमा ती कुराहरु बग्रेल्ती लेखिए। एमालेका ठूला नेताहरुले ती कुराहरुलाई आफनो स्टेटसका रुपमा फेसबुकमा सेयर गरे। बिलौना शुरु भयो : ‘लौ कांग्रेस त डुव्यो। शेरबहादुरले कांग्रेस डुबायो।’ 

व्यक्तिगत रुपमा शेरबहादुर देउवाको आलोचना गर्नु कुनै ठूलो कुरा होइन। तर, कांग्रेस पार्टीका नेताहरुले नै सभापति देउवाको आलोचना गर्नु अशिष्टता हो। अहिले सभापति देउवाले लिएका निर्णयहरुको नैतिक हैसियत माथि कुरा उठाउनेले पार्टीको औपचारिक बैठकमा नै उनलाई र्‍याखर्‍याख बनाउनुपर्थ्यो। कोठामा सभापतिलाई सहमतिको ठप्पा लाउने बाहिर आँगनमा आएर उनको आलोचना गर्ने। यो कुन विवेक र कुन नैतिकता हो?

निर्वाचित प्रधानमन्त्री स्वर्गवासी कृष्णप्रसाद भट्टराईलाई संसदमा रुवाएर पदबाट लखेट्ने अभियानका मतियारहरु अहिले कुन अनुहारले सुशीला कार्की विरुद्धको महाभियोगमा नैतिकताको प्रश्न उठाउँदैछन्? २०४७ सालमा पार्टीले संसदीय चुनाव जितेपछि शुरु भएर २०५७ सालसम्म चलेको छल–कपट, धूर्तता र दुष्टताको त्यो अभियान अर्थात् ‘कांग्रेसभित्रको महाभारत’ के इतिहासले बिर्सिने घटना थियो ? विद्वान र विचारकका रुपमा ख्याति कमाउनुभएका कांग्रेसका नेता प्रदीप गिरि अक्सर द्वापर युगको महाभारतका विविध महत्वपूर्ण पक्ष र घटनामाथि धाराप्रवाह प्रवचन दिनुहुन्छ। कलियुगमा आफ्नै पार्टीभित्र भएको महाभारत युद्धको विश्लेषण गरेर पार्टीका तरुण नेता र कार्यकर्तालाई नयाँ विचार दिनु उहाँको दायित्व होइन?

भो, दोस्रो चरणको चुनावको तयारीको यो अवसरमा यी तीता कुराहरु नगरौं। कांग्रेसका स्वनामधन्य नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पार्टीलाई ‘व्यवहारिक’ बनाउनुभएको छ। एक्काइसौं शताव्दीको राजनीतिमा नीति र आदर्शको कुरा त्यसैले उठाउँछ जो आर्थिक रुपले समृध्द र सम्पन्न भइसकेको हुन्छ। व्यवहारिक कुरो, पार्टी पावरमा पुग्ने हतियार हो। यसलाई ह्याण्डिल गर्न जान्नेले जसरी चलाए पनि हुन्छ। पावरले भुक्ति र मुक्ति दिन्छ भन्ने चेतना मनमा राख्नु पर्दछ। कांग्रेसमा पिताजी कोइरालाको त्याग र किशुनजीको ट्यांकाको खूबै महत्व छ। ती दुवै देखाउने विषय हुन्। कांग्रेस मात्रै होइन, कम्युनिष्ट पार्टीहरुमा पनि आधुनिकताको प्रवेश भइसकेको छ। राजनीतिक पार्टीको विकास संगठित शक्तिका रुपमा नभएसम्म केही गर्नै सकिँदैन। चुरो कुरो यही हो।

व्यवहारिक बन्ने क्रममा राजनीतिक दलहरु त टेक्निकल्ली रोबोट भइ नै सके। संचार क्षेत्र र सामाजिक संजाल पनि रोबोट नै भएका छन्। संचार क्षेत्र २०४६ सालको पहिलो जन–आन्दोलन अघि पनि विभाजित थियो, अहिले पनि विभाजित छ। अहिलेको स्थानीय तह चुनावमा देखियो– रोबोटमा परिणत भइसकेका समाचारदाताहरु कि रुख, कि सूर्य र कि घेराभित्रको हँसिया हथौडा देख्दछन्। रुख देख्नेले सूर्य देख्दैन, सूर्य देख्नेले गोलाकारभित्रको हँसिया हथौडा देख्दैन। उनीहरुको आँखाले लोकतान्त्रिक समाजमा देखिने सप्तरंगी इन्द्रेणीलाई देख्दै देख्दैन। सामाजिक संजाल, त्यसमा पनि फेसबुकलाई त प्रयोगकर्ताले फोहोर मैलाको कन्टेनर बनाइसके। ट्वीटर फेसबुककै बाटोमा लागेको छ। पापीहरुले इन्स्टाग्रामलाई पनि छाडेका छैनन्। चुनावको फोटो राखेर हैरान पारेका छन्।

देशमा नागरिक समाज त छँदैछैन। डा. देवेन्द्रराज पाण्डेलाई सबैले स्वीकार गरेका छन्, नागरिक समाजका प्रतिनिधि पुरुषका रुपमा। उहाँको उपस्थिति प्रतीकात्मक भए पनि त्यसले लोकतन्त्रका लागि बलियो नागरिक समाज चाहिन्छ भन्ने सन्देश दिएको छ। नागरिक समाजले उपभोग गर्ने स्वतन्त्रतालाई ठुन्क्याउन पार्टीहरुले आफनै नागरिक समाज खोलेका छन्। यो बिडम्वना हो कि नकच्चराईं हो?

नेताहरुमा पनि त्यस्तै देखिन्छ। पार्टीको सर्वोच्च पदमा बसेका नेताको मुखारविन्दबाट नचुहिएकै राम्रो हुने, चुहिनु पर्ने भए पनि सर्वोच्च नेताको दायाँ–बायाँ बस्ने‘छोटे’ नेताको मुखारविन्दबाट चुहिँदा राम्रो हुने वाक्य र वाक्यांशहरुले पनि सर्वोच्च प्राथमिकता पाउने गरेको देखिन्छ। यो प्रचारको नयाँ शैली हुनुपर्दछ। हामी साना मान्छेले थाहा पाउने कुरा भएन। चुनावको पहिलो चरणदेखि नै नेताहरुका बीच ‘टसल’ भएका धेरै कुरा छन्। कार्यकर्ताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको भैंसी चुटान गरेका छन्। ती कार्यकर्ताहरुमा कांग्रेस भित्रका विभिन्न गुटमा अटाएका र नअटाएका दुवैथरि छन्। एमालेवालाहरुको उपस्थिति त हुने नै भयो। झन माओवादीका त नौ थरी कार्यकर्ता छन्। कोही रोएको जस्तो गर्छन। कोही सोझो बोल्दछन।

स्थानीय तहको दोस्रो चरणको चुनावसम्म देख्न बाँकी धेरै छ। आँखा र कान टाठो राखेको राम्रो।
 


किशोर नेपालको टिप्पणी : के सक्किएकै हो कांग्रेस? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट