PahiloPost

Apr 22, 2018 | ९ बैशाख २०७५

सन्दर्भ दासढुंगा काण्ड : बाँचेका भए मदन भण्डारीले के भन्दा हुन् अहिलेको एमालेलाई? (टिप्पणी)


सूर्य खड्का/पहिलोपोस्ट

सन्दर्भ दासढुंगा काण्ड : बाँचेका भए मदन भण्डारीले के भन्दा हुन् अहिलेको एमालेलाई? (टिप्पणी)
बाँचेका भए मदनकुमार भण्डारी र जीवराज आश्रित आजका दिनसम्म? के कस्ता हुँदा हुन् वा उनीहरु र उनीहरुले चाहेको मार्गमा नेपालको वाम आन्दोलन निरन्तर अघि बढ्दो हो? यो वा यस्तै प्रश्नहरु संभवतः इतिहासकै सबैभन्दा बढी अनुत्तरित काल्पनिक प्रश्न हुन् अब। किनभने जसै आयो ३ जेठ २०५०, तब जननेता मदन भण्डारी र कुशल संगठक आश्रितको जीवन चोला गैगयो कतै अन्तै सँधै सँधैका लागि।
 
तर मदन आश्रित बिनाको नेपाली वाम आन्दोलन अहिले कहाँ कुन बिन्दुमा छ? मदन आफैले रचना गरेको जनताको बहुदलीय जनवादको मौलिक नेपाली क्रान्तिको कार्यक्रमले के नेपाली वाम आन्दोलन र खासगरी नेकपा एमालेलाई सही गन्तव्यमा डोर्‍यायो त? के थियो मदनको सपनाको एमाले अनि कहाँ छ अहिलेको नेकपा एमाले?
 
संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्रकालीन नवीन नेपाली वाम विचारक जननेता मदन भण्डारीले खनेको जनताको बहुुदलीय जनवादरुपी रोडम्यापमा नेपाली वाम आन्दोलन र खासगरी नेकपा सफल वा विफल के भैरहेको छ?
 
देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषित भएको पनि करीब दशक लामो अवधि र त्यसलाई संस्थागत गर्ने नयाँ संविधान अन्तर्गत नै देश स्थानीय तहको पहिलो चरणको मतगणना गर्न अस्तव्यस्त रुपले सुुस्त गतिमा व्यस्त भैरहेका बेला यो यक्ष प्रश्न निकै सान्दर्भिक छ, नेपालमा आफूलाई मात्रै असली प्रजातान्त्रिक कम्युनिष्ट भन्नेहरु सबै र खासगरी नेकपा एमालेका हकमा।

नेपाली क्यालेण्डरको वार्षिक तिथि अनुसार ३ जेठ हरेक वर्ष दोहोरिनु र त्यसलाई एक वार्षिक श्राद्ध तिथिको रुपमा भद्दा औपचारिक रुपमा संझेर राजनीतिक सराद्धे गर्नुु सिवाय नेकपा एमालेले जनताको बहुुदलीय जनवादको कार्यनीतिक ब्यानरमुनि नेपाली वाम आन्दोलनको प्रजातान्त्रिकरण र जनताको आमूल परिवर्तनका लागि के के काम गर्‍यो ? यो दिनको घाम जत्तिकै छर्लंग छ।
 
यदि क्यालेण्डरमा ३ जेठको तिथि कथंकदाचित हराएको हुुन्थ्यो भने संभवतः एमालेले मदन भण्डारी र जीवराज आश्रितको सम्झना गर्ने त्यो एमाले, नेपाली वाम आन्दोलन र देशकै सबैभन्दा कालो दिन २०५० जेठ ३ कै सम्झनासम्म गर्ने थिएन शायद। किनभने मदनकालीन एमाले अहिले उत्तर आधुनिक गणतान्त्रिक भइसकेको छ। 

सर्सर्ती हेर्दा मदन पत्नी विद्यादेवी भण्डारी देशकै पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो नागरिक राष्ट्राध्यक्ष भएकी छन्। मदन बिनाको एमालेले ४ पटक सरकारको नेतृत्व गरेको छ। केही अपवादलाई छोड्ने हो भने २०४६ पछि बनेका सबैजसो सरकारमा एमाले कुनै न कुनैको पुच्छर बनेर निरन्तर सहभागी भएको छ।
 
स्व. मनमोहन अधिकारीदेखि माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली चार थान प्रधानमन्त्री एमालेले नै देशलाई दिइसकेको छ। एमाले अहिले पनि जारी पहिलो चरणको स्थानीय तहको चुुनावको मुख्य पार्टी बन्ने दौडमा अग्रस्थानमा छ।
 
यी र यस्तै धेरै सकारात्मक प्रसंगहरुको जोड र कोणबाट हेर्दा एमालेले मदन भण्डारीलाई न्याय गरेको, उनको सैद्धान्तिक क्रान्ति जनताको बहुुदलीय जनवादको विचारलाई आत्मासात गरेको र पार्टी मदनपथमा नै लम्किरहेको अर्थ लाग्छ।

तर यी सबै फगत फोस्रो नारा मात्रै हुन्। किनभने मदन बिनाका साढे २ दशकमा एमालेले मदनको कार्ड भजाएर केवल सत्ताको राजनीति गर्‍यो। देशका व्यवस्थाहरु ढाल्ने र आफू सत्ताशक्तिको ताबेदारी गर्ने अव्वल खेलाडी बन्यो। तर मदनको सोच, सपना र आदर्श बमोजिम न त एमाले अघि बढ्यो, न त देश र जनतालाई मदनपथको परिवर्तनको कुनै आभाष नै दिन सक्यो।

आफूलाई नेपाली वाम आन्दोलनको मूल प्रवाह दाबी गर्ने एमालेजनहरुलाई यो कुरा तीतो लाग्न सक्ला तर सत्य त्यही हो। यो वर्षको जेठ ३ आउनुअघि पनि देशमा एमाले नेतृत्वकै सरकार थियो। त्यो सरकार वामपन्थी गठबन्धनकै सरकार थियो। नेकपा एमालेका अध्यक्ष केपी ओली नै सरकार प्रमुख थिए। त्यसबेला धेरैलाई लागेको थियो नेकपा एमालेले दासढुंगा हत्याकाण्डको न्यायिक छानबिन गरेर दूधको दूध पानीको पानी पार्नेछ। त्यतिबेला पार्टीले गठन गरेको छानबिन आयोग आखिर उनकै नेतृत्वमा थियो जसले षड्यन्त्र भएको किटान गरेको थियो।
 
तर लोक साक्षी छ, देशले केपी ओलीकालीन सरकारको शासन चलिरहँदा आएको ३ जेठमा अघिल्लो साल मदन आश्रितको ज्यान लिने दासढुंगामा डुंगा चलाउने निर्णय पो गर्‍यो। दासढुंगा हत्याकाण्डको उचित छानबिन र जननेताको बहुदलीय जनवादको मर्म र भावना अनुसार देश र जनताको अवस्था परिवर्तनका लागि लोककल्याण्कारी शासन व्यवस्थामा ओली सरकारले हावादारी गफ गरेरै ९ महिना बिताइदियो।

ओली सरकारले ल्याएको बजेटको २७४ नम्बरको बुँदा। 

२ वर्ष भइसक्यो मदन पत्नी विद्या राष्ट्रपति भएको पनि। तर एक दिन पनि विद्याले दासढुंगा हत्याकाण्डको छानबिनको कुरा औपचारिक वा अनौपचारिक रुपमा कहीँ कतै उठाएको देशवासीले सुुन्न पाएका छैनन्। मदनसँगै ज्यान गुुमाएका कुशल संगठक जीवराज आश्रितकी पत्नी माया ज्ञवालीको गरीबी अभाव र पीडा तथा उपेक्षाका जीवन्त साक्षीहरुको मन कति कुँडिदो हो, त्यो जो कसैका सामु खुल्ला किताबसरह छ। बोल्नेको पीठो बिक्यो एमालेमा। मदनपत्नी राष्ट्रपति, आश्रित पत्नी सडक छाप। यही हो जनताको बहुदलीय जनवादलाई एमालेले जसको शक्ति उसको भक्ती गर्दै खिल्ली उडाएको काफी उदाहरण।

तिनै केपी ओली हुन् तिनले दासढुंगा हत्याकाण्डको सरकारले उचित छानबिन गर्न नलगाएको भनेर २०५० जेठ ३ पछिका दिनमा काठमाडौँका सडकलाई महिनौसम्म पनि आन्दोलित गराए। धेरै सडकका रेलिङ भाँचे। धेरै पुुलिसलाई इँटा बर्साए। केही निर्दोषको त्यही आन्दोलनका क्रममा ज्यान पनि गयो। त्यतिबेलाका दृष्टि, छलफल र सूर्यहरुमा एमाले आन्दोलनको सडक तमाशा आर्काइभ गरिएकै होला। फुर्सद हुनेहरुले पल्टाए हुुन्छ। कतिसम्म भने ओलीको संयोजकत्वमा पार्टीले नै छुट्टै छानबिन आयोग समेत बनाएर कथित प्रतिवेदन पनि तयार पारिएको थियो । 
तर उतिबेला टायर बालेर आन्दोलन गर्नेदेखि छानबिन समितिको नेतृत्वसम्म गरेका ओलीले सरकारको नेतृत्व गरेका बेला आफैले तयार गरेको प्रतिवेदन पनि सम्झेनन्। बरु उल्टै दासढुंगामा डुंगा चलाउने उधारो सपनामा विषयान्तर गरेर लोकलाई हँसाए, मदन आश्रितको बैकुण्ठवासको आत्मालाई मज्जाले गिल्ला गरे, गराए। अब भन्नोस्, के आफ्नै नेताको आत्मामाथि इन्साफ गर्न नसक्ने ओली वा एमालेले अनि उनका विचारहरुलाई व्यवहारमा लागू गरेर देश र जनताको जर्जर अवस्थालाई परिवर्तनका लागि एमाले इमानदार देखियो त? हो, अब भन्न डराउनु पर्दैन कि कालले एक पट्क मार्‍यो मदन आश्रितलाई तर पलपल मारिरहयो एमाले नेतृत्वले। 

खासमा मदन नेपाली वाम आन्दोलनको प्रजातन्त्रिकरणका मौलिक अभ्यासकर्ता थिए। एकदलीय शासन व्यवस्थाका हिमायती कम्युनिष्टहरुलाई जनताको मतादेशबाट बहुुदलीय शासनमा अभ्यस्त गराउने मदन सपना व्यवहारिक प्रयोगमा पूर्णता देखाउन नपाउँदै उनी मारिए। त्यसको थप व्याख्या र प्रयोग होइन, सत्ताको लागि अपव्याख्या र दुरुपयोग नै एमालेको कर्म बन्यो।

मदन वाम एकताका पक्षपाति थिए। मालेकालीन मदनकै देन थियो एमालेको जन्म। तर एमाले आफूलाई वाम एकताको पक्षधर साबित गर्न २०४७ यता निरन्तर चुकेको छ। कतिसम्म भने गत वर्ष ओलीसत्ता ओलीकै दम्भका कारण ढल्यो। एमाले र माओवादीको कम्तिमा १० वर्ष सत्ता सहकार्य गर्ने, ओलीपछि माओवादी र माओवादीपछि पुन वामदेव गौतमले सरकारको नेतृत्व गर्ने भद्र सहमति ओलीको हेपाहा, सन्काहा र दम्भ प्रवृतिका कारण अवरुद्ध बन्दा एमाले उपाध्यक्ष वामदेव गौतमले गत साउन तेस्रो साताको संसद सम्वोधनमा झण्डै आँसु झारेका थिए। माधव नेपालले आफ्नै धोति खुस्काएका थिए। एमालेले वाम एकताको मदन मर्म आत्मसात गरेका भए न सीपी मैनालीको माले नामक वाम पसल बढ्थ्यो, न एमाले माओवादीको सत्ता सहकार्यमा ब्रेक  लाग्थ्यो, न चित्रबहादुर केसीदेखि नारायणमान बिजुक्छेदेखि थरीथरीका माओवादी र डा. बाबुराम भट्टराईसम्मका कथित नयाँ शक्तिहरुकै जन्म हुुन्थ्यो।

संविधानवादका पक्षपाति थिए मदन। र त, तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुुनावी मैदानमा उत्रन खुल्लमखुल्ला चुुनौति दिन्थे अनि न्यूजवीकले लेख्थ्यो, नेपाल जहाँ मार्क्स अझै जीवित छन्। तर हाल त्यही एमाले हो जसले वर्तमान संविधानको रक्षाका नाममा मधेश र काठमाडौँमा मनोवैज्ञानिक विभाजन मात्रै ल्याएन, सप्तरीमा ५ थान निर्दोषको ज्यान लिने मेचीकाली अभियानको नाममा आतंक मच्चायो। पछिल्लो अमानवीय भारतीय नाकाबन्दी मधेशी दल मुर्खता र अविवेकीपनको उपज मात्रै थिएन, ओलीसत्ताको मधेशीलाई कित्ताकाट गर्ने कडा रवैयाको नतिजा पनि थियो। सीके राउतलाई पनि छायाँमा पार्ने एमालेको कथित उग्र मधेश विरोधले देशको एकतामा गहिरा घाउका डोबहरु परिसकेको छ।
 
सादा जीवन र नवीन विचारका पर्याय थिए मदन र आश्रित। तर अहिलेका एमालेहरु पजेरो र महल बिनाका देख्न, भेट्नै मुश्किल के असम्भव प्रायः छ। संघीयतालाई भैसीको सिंगमा बाख्राको टाउको भन्ने ओली एमाले अध्यक्ष छन् जबकि मदन विकेन्द्रित सुशासनको वकालत गर्थे।
यी र यस्तै अनगिन्ती यथार्थहरु छन् जहाँ एमालेले दासढुंगामा एक पटक मारिएका मदन आश्रितलाई पटक पटक मार्ने गरेको छ। यो बेतुुकको मदन आश्रित हत्याश्रृङ्खला अब एमालेले बन्द गरिदिए मात्रै पनि तिनका आत्माले शान्ति पाउँदो हो। के दासढुंगा हत्याकाण्ड भवितव्य थियो भनेर प्रमाणित गर्न नै एमालेले यस्तो उपेक्षा गरिरहेको हो? यदि त्यसो हो भने उसले अब यो हत्याकान्डका फाइल बन्द गरिदिए हुन्छ। नौ दिनमा नौलो, २० दिनमा बिर्सियो गर्ने एमाले चाला हो भने उसले ३ जेठको तिथिलाई राजनीतिक सराद्धे पर्व मनाउन औपचारिक रुपमा नै विराम लगाइदिए हुुन्छ। सत्ता नै एमालेको अन्तिम सत्य हो भने अब उसले जनताको बहुुदलीय जनवादलाई नेकपा एमाले सत्तावादीका रुपमा परिभाषित गरे हुन्छ। कम्तिमा मदन आश्रितको फोटो बेचेर सत्तामा जाने एमाले खेती रोकिए मात्रै पनि दिवंगत नेताद्वयमाथि अन्याय हुँदैन्थ्यो कि? फेरि पनि एमालेले मदन आश्रित सम्झना गर्ने कष्ट नगर्ने छुट पाउँछ नै यदि उसले नेताद्वयलाई प्लेकार्ड र दासढुंगालाई मागी खाने भाँडो बनाउँदै जनताको बहुुदलीय जनवादलाई सत्ताको भर्‍याङ नबनाउने हो भने। तर अब मदनको फोटो बेचेर सत्ता सोहर्ने नैतिक धरातल बाँकी छ र?

जे होस, ती महान नेताहरु, जो थिए त्यागका प्रतिमूर्ति, अनुकरणीय जीवनशैलीका पर्याय र जसले संसारबाटै साम्यवादी सत्ताहरु तासको पत्ता झै ढल्दै गर्दा सगरमाथाको देश नेपालमा विश्व सर्वहारा वर्गको मुक्तिको झण्डा हसियाँ हथौडाको झण्डा फहराए। अनि यूरो कम्युनिज्मको फोटोकपीकै संज्ञा दिइए पनि नेपाली वामलाई बन्दुकको साटो जनताको मतको बाटोबाट सत्ताको नेतृत्वका लागि दिशानिर्देश गरे, ती महानहरुको ३ जेठको हत्याप्रति हार्दिक श्रद्धाञ्जली। एमालेले बिर्से पनि इतिहासले एक दिन ३ जेठको रहस्य खोल्ने नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट