PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विशेष सम्पादकीय : उत्साहप्रद मतदानको निराशाजनक मतगणना



पहिलोपोस्ट

विशेष सम्पादकीय : उत्साहप्रद मतदानको निराशाजनक मतगणना

निर्वाचन होला या नहोला भन्ने संशयका बीच सरकारले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान सफलताका साथ सम्पन्न गर्योय। संख्यात्मक हिसाबले साह्रै कम स्थानमा विवाद र झडपका घटनाबाहेक निर्वाचनमा सरकार सफल भएको छ। १९ वर्षदेखि रिक्त रहेको स्थानीय निकायमा जनप्रतिनिधि पुर्यााउने जिम्मेवारी पूरा गरेकोमा सरकार र निर्वाचन आयोगलाई बधाई।

मतदान महत्वपूर्ण भए पनि निर्वाचन सम्पन्न भने भइसकेको छैन। मतदान जुन हिसाबले सुरक्षित र शान्त रुपमा सम्पन्न भयो, मतगणना त्यही रफ्तारमा अघि बढ्न सकेको छैन। मतदाताहरु आफ्नो तहमा कसले जित हासिल गर्छ भन्नेमा चासो राखेर बसेका छन्। तर, मतगणनाको शैलीले अमूल्य मत दिएर परिणामको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका नागरिकको आकांक्षामाथि पूरै बेवास्ता गरेको छ। निर्वाचन सम्पन्न भएको २४ घन्टा बितिसक्दा पनि २ हजार मत खसेको गाउँपालिका वा नगरको वडाकोसमेत मत परिणाम आउन सकेको छैन। २३ स्थानीय तहमा त २४ घन्टा बितिसक्दा पनि मतपेटिका खुल्न सकेको छैन।

स्थानीय तहमा कायम रिक्तता पूरा गर्न भएको निर्वाचनको परिणाममा देखिएको यस्तो ढिलासुस्तीले मतदाताको अपेक्षालाई लत्याएको छ। निर्वाचन गराउन परिचालित संयन्त्रले जसरी काम गर्योी त्यही अनुसार मतगणना नहुनुमा राजनीतिक दलका कार्यकर्ताको पनि उत्तिकै भूमिका रहेको छ। मतगणनालाई सहज बनाउनुका साटो जटिलता सिर्जना गर्ने राजनीतिक दलका नेता/कार्यकर्ताहरु पनि सच्चिनु आवश्यक छ।

निर्वाचन मतपरिणाम सार्वजनिक गरेर जितेका उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरिसकेपछिमात्र निर्वाचन आयोगको जिम्मेवारी पूरा हुन्छ। तर, अहिलेको शैलीले निर्वाचन मतगणना जारी राख्ने हो भने आयोगले आगामी जेठ ३१ गतेको निर्वाचन तयारी कसरी गर्न सक्छ? साथै त्यसपछि पनि यही शैलीमा मत गनिरहने हो भने प्रदेश र केन्द्रको निर्वाचन गर्ने समयसम्म पनि हामी मत गनिरहेका हुनसक्छौं। काठमाडौँ महानगरपालिकाको एउटा मत गन्न १ मिनेट लाग्ने हिसाब गर्दा पनि चौबिसै घण्टा मत गन्दा पनि २ लाख मत गन्न साढे चार महिना लाग्नेछ। २४ घण्टा बितिसक्दा पनि महानगरको एउटा वडाको १३० वटा मत गन्दाको परिणाम आधिकारिक रुपमा सार्वजनिक भएको छ। महानगरको एउटा वडाकै मत गणनाका लागि दुई/तीन दिन लगाउने हो भने निर्वाचनपछि निजी तथा सार्वजनिक क्षेत्रमा धेरैखाले अवरोधहरु सिर्जना हुनेछन्।   
अत: मतगणनाका लागि कर्मचारी कम भएका हुन् भने निर्वाचन आयोगले तत्काल कर्मचारी परिचालन गरेर बढीभन्दा बढी ठाउँमा मतगणना गर्न जरुरी छ। अन्यथा, सफल रुपमा सम्पन्न निर्वाचनको असफल मतगणनाको श्रृंखला जारी रहने छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell