PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

महानगरको मेयरको भाग्य बन्द मतपेटिकामा : होला राजुराजको राज कि चम्केला विद्यासुन्दरको सुन्दरता?



महानगरको मेयरको भाग्य बन्द मतपेटिकामा : होला राजुराजको राज कि चम्केला विद्यासुन्दरको सुन्दरता?

काठमाडौँ :  सँधै नेता अघि लाग्ने र जनता पछि लाग्ने तर चुनावका बेला जनता अघि लाग्ने र नेता जनताका पछिपछि लाग्ने गज्जब चुनावी राजनीतिक संस्कृतिमा हुर्केको समाज छ नेपालमा। पहिलो चरणको स्थानीय तहको चुनावको मतदान दोलखा र काभ्रेका दुई घटनाबाहेक अपेक्षाकृत रुपमा शान्तिपूर्ण रुपमा आइतबार सम्पन्न भएपछि अब उम्मेदवार वा मतदाता सबैको ध्यान मतगणनामा केन्द्रित छ।

प्रदेश २, ३ र ६ का २८१ स्थानीय निकायमा आइतबार सम्पन्न स्थानीय तहको चुनावको समग्र परिणाम क्रमिक रुपमा आउँदै गर्दा धेरैको ध्यान भने काठमाडौँ, पोखरा र भरतपुर महानगरको चुनावी परिणामको प्रतिक्षामा केन्द्रित छन्।


काठमाडौँमा राजुराजको राज कि विद्यासुन्दरको सुन्दरता?

देशकै राजधानी शहर र पुरानै महानगर काठमाडौँ नयाँ मेयर को बन्ला?  यो काठमाडौँका मतदाताले निर्णय लिइसकेको विषय हो। तर त्यसको औपचारिक गणना र घोषणा हुन जति घण्टा र दिनहरु लम्बिने छन्, उति नै उम्मेदवार र मतदातामा पनि तीब्र छटपटी लम्बिरहनेछ। कांग्रेसका राजुराज जोशीको राज होला कि एमालेको विद्यासुन्दर शाक्यको सुन्दरताले महानगरको मेयरको कुर्सीमा दबदबा जमाउला त? यो अनुमान गर्न सकिने तर ठोकुवा गर्न नसकिने प्रसंग हो।

चम्केला विद्यासुन्दरको सुन्दरता?

विगतका चुनावी अभ्यासको परिणामको आधारमा राजधानीमा मेयरको मुख्य दाबेदार नेकपा एमाले नै हो। किनभने पछिल्लो स्थानीय चुनाव २०५४ सालमा एमालेले नै काठमाडौँ महानगरमा मुख्य विजय हासिल गरेको थियो। तर २०५४ पछि पहिलो पटक मात्रै चुनाव भएका कारण एमालेका काठमाडौँ मेयर प्रत्याशी विद्यासुन्दर शाक्यले पुरानै विरासतमा बाजी मारिहाल्लान् भन्न सकिन्न। उनी एमालेको निकै इमान्दार र कामकाजी दाबेदार हुन्।

एमालेले राजधानीमा राप्रपासँग चुनावी एकता गरेका कारण राप्रपा र एमालेको मत जोड्दा एमालेले काठमाडौँमा बाजी मार्नेछ भन्ने अनुमान पनि गलत हैन। तर एमालेमा पूर्ण एकता नदेखिएको र केही आन्तरिक अन्तरघातका चोटहरु देखिने खतराबाट पनि विद्यासुन्दरको मेयर यात्रा मुक्त छैन। मेयरमा विद्यासुन्दरको अर्को सबल पक्ष के हो भने उनले पूर्व मेयर तथा राप्रपाका केन्द्रीय सदस्य राजाराम श्रेष्ठसँग उपमेयरमा सहकार्य गरेर चुनावी परीक्षा एक्लै हैन, संयुक्त रुपमा दिएका छन्। यसकारण दुई दलको एकता र अनुभवी उपमेयर राजाराम विद्यासुन्दरका लागि सहज पक्ष हुन्।


होला कि राजुराजको राज?

तर राजधानीमा बाल्यकालदेखि नै कांग्रेसको चारतारे झण्डा फहाराएको लामो संर्घषशील इतिहासको अनुभवी आलोकमा कांग्रेसका राजुराज जोशीलाई महानगरवासीले मेयरमा राज गर्न मन्जुरी दि इनै सकेका भए पनि त्यो अनौठो हुने छैन। किनभने पंचायतको पतनपछि बहुदलीय प्रजातन्त्रकालीन महानगरको नेतृत्व नेपाली कांग्रेसले नै गरेको हो। लौह पुरुष वीर गणेशमान सिंहका धर्मपुत्र पीएल सिंहले २०४९ को पहिलो स्थानीय चुनावमा पाएको चुनावी सफलताको गाथा दोहोर्‍याउने स्वर्ण मौका राजुराजले  सहजै पाएका हुन्।

संयोग नै हो, राजुराज जोशी गणतन्त्र कालमा महानगरको मेयरमा राज गर्ने दौडमा रहेका बेला पूर्व मेयर पीएल सिंहका उपमेयर जोडी अर्थात् वर्तमान सरकारका उद्योगमन्त्री नविन्द्रराज जोशी राजुराजका सहोदर भाइ हुन्।
 
दुई सालअघि सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुले पाएको भारी मतको जितको अन्तर पनि महानगरमा राजुराजको राज गराउने बलिया आधार हुन्। स्थानीय रैथाने मात्रै होइन, पार्टीको पछिल्लो चुनावी नतिजालाई निरन्तर कायम राख्न सकेका भए पनि महानगरमा राजुराजको जीत निश्चित हुनेछ।

विगतमा जस्तो सतहमा नै नपोखिएको पार्टीको आन्तरिक गुट उपगुटको राजनीति पनि राजुराजका लागि सफल पक्ष हुन्। साझा पार्टी र विवेकशील दलका चर्चित उम्मेदवारहरु पूर्व सचिव किशोर थापा र रन्जु न्यौपाने भने राजुराजका लागि मत घटाउने कैँची प्रतिष्पर्धी हुन्। किनभने उनीहरुले सकेसम्म वामपन्थीभन्दा पनि गैरवामपन्थी मतदाताको मत आफ्नो पोल्टोमा पार्दा त्यसको असर राजुराजको मतमा पर्न सक्नेछ।

अन्यले गर्लान् र चमत्कार ! 

राजधानीको मेयरमा राज गर्न त्यति सजिलो छैन जति चर्चा बटुल्न सहज छ। नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमका उम्मेदवार पवित्र बज्राचार्य र सबिना अर्याल वा विवेकशीलकी रन्जु न्यौपाने वा साझाका किशोर थापाहरुका लागि यो चुनावी महासंग्राम चुनावी अनुभव बटुल्ने मीठो उत्सव वा पर्वमा नै सीमित भए त्यो अनौठो हुनेछैन। तर ठूला पार्टीका स्थानमा यी अनुहारहरु जितेमा भने नेपाली राजनीतिमा चमत्कार भएको ठहर्ने छ। तर त्यो चमत्कार हुने कल्पना मात्रै गर्न सकिन्छ। यथार्थ हुन लगभग संभावना छैन। किशोर थापा र रन्जु न्यौपानेले मिलेर नलडेर जे गल्ती गरे त्यसको लाभ ठूला दलका उम्मेदवारले नै पाएका छन्।
 
तर नयाँ शक्ति र संघीय फोरमका पवित्र बज्राचार्यले भने उल्लेख्य मत ल्याएमा पनि स्वभाविक हुनेछ। किनभने उनी पूर्व एमाले मात्रै होइनन् महानगर खाल्डोका परिचित समाजसेवी र अभियन्ता पनि हुन्। रन्जुले युवा मत धेरै बटुल्ने अनुमान नै गलत नहुन सक्छ तर उनले राजुराज र विद्यासुन्दरहरुलाई नै टक्कर र ठक्कर दिइहाल्ने संभावना कम छ।
 

सर्वोत्तमको स्थान 

सत्तासिन भएर पनि वा प्रधानमन्त्रीकै दल भएर पनि राजधानीको महानगरमा माओवादी केन्द्रको जीतको कुनै ग्यारेन्टी नभएको मात्रै होइन, माओवादीले नै त्यो प्रकारको आशा पनि राखेको छैन। एमाले र कांग्रेसको कडा टक्करमा माओवादी तेस्रो स्थानका लागि पछयाउन मात्रै सफल भए पनि उसका लागि त्यो राजनीतिक लाभ हुनेछ। सर्वोत्तम डंगोलका लागि महानगरको मेयरको कुर्सीमा बस्न यो चुनाव अघिको मीठो संघर्ष हो। र उनका लागि आगामी चुनावमा जितको आधार खडा गर्ने परीक्षा पनि हो। तर उनले पार्टीका लागि सम्मानजनक जनसमर्थन बटुलेमा मात्रै पनि उनका लागि त्यो उत्साहजनक परिणम हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell