PahiloPost

Apr 23, 2018 | १० बैशाख २०७५

भोट मोबाइलले दिने हो र?


किशोर नेपाल/पहिलोपोस्ट

भोट मोबाइलले दिने हो र?
विहानको नौ बजेर पाँच मिनेट भएको छ। साम्भवी स्कूल, बत्तीसपुतली, काठमाडौं – ९ मा रहेको मतदान केन्द्र बाहिर मतदाताहरुको निकै जमघट छ। केन्द्रमा मानिस आउने र जाने क्रम निरन्तर छ। एकजना युवक मतदानका लागि केन्द्रमा प्रवेश गर्न आफनो मतदाता परिचय–पत्र देखाउँछन्। ढोकामा पहरा दिइरहेका प्रहरी भन्दछन – ‘मोबाइल लान पाइँदैन। कतै राखेर आउनु होस्।’

‘हो र? यो त सारै बेमोज भै हाल्यो नि। अन्त त दिएको छ त। कति साथीले भोट हालेको फोटो फेसवूकमा टाँसिसके। यहाँमात्र किन बनाएको होला यस्तो नियम?’ युवक बोले। ढोकामा बसेको प्रहरीले फेरि भने, ‘भोट मोबाइलले दिने हो र?’

ती प्रहरीबाट आफ्नो गुनासोको सम्बोधन हुने नदेखेपछि ती युवकले सँगै आएको साथीलाई मोबाइल समाउन दिए र मतदान केन्द्रभित्र छिरे।
बुथमा लाइन लामो थिएन। मर्दाना र जनाना जम्मा चार लाइनमा बाँढिएका थिए। किङ साइज आकारमा थिए मतपत्र, ठ्याक्कै दैनिक अखबारजत्रो। साना पार्टी र समूहहरुको चुनाव चिन्ह खोज्न मेहनत गर्नु पर्दथ्यो। तर, ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादीलाई भोट हाल्ने कुनैपनि मतदाता कुनैपनि अवस्थामा भ्रममा पर्ने परिस्थिति थिएन : मतपत्रको पहिलो कलमको नम्बर १ मा कांग्रेसको रुख, समानान्तर दोस्रो कलमको नम्बर २ मा एमालेको सूर्य र दोस्रो लहरको पहिलो कलमको नम्बर ३ मा माओवादीको गोलाकार भित्रको हँसिया हथौडा। मतदानका लागि एकजना मतदाताले अधिकतम समय डेढ मिनटसम्म लिएको देखियो भने न्यूनतम समय एक मिनट। 

मतदान केन्द्र परिसरमा एकजना सरकारी अधिकृत र एकजना एमालेका स्थानीय नेता मतपत्र ‘गज्याङ गुजुङ’ भएको गुनासो गर्दै थिए, ‘हामी जस्ता दुईचार अक्षर पढेका मानिसका लागि त अप्ठेरो भो भने सामान्य लेखापढी मात्रै गर्नेले कसरी बुझ्लान?’ मतपत्र ठूलो भए पनि गुनासो गर्नैपर्ने खालको कुनै गडवड थिएन त्यसमा। हरेक कुरामा टिप्पणी गर्नैपर्ने स्वभाव छ शहरीया नेपालीको।

मतदान केन्द्रमा आइपुगेकी विद्यादेवी निकैबेर अल्मलिइन। उनी आफनो नातिलाई खोज्दै थिइन्। राजनीतिक कार्यकर्ता नाति कता अलमलमा थियो। विद्यादेवीलाई देखेर अंगुरमायाँ कुरा गर्न आइपुगिन्। उनले सोधिन, ‘यसपाला भोट कसलाई दिने त विद्या?’

खोइ कल्लाइ दिने? अस्ति बालराम दाई भन्दै थिए, ‘हाम्रालाई होइन, राम्रालाई दिनु। को राम्रो छ, को छैन? आफूले कसैको मुख देखेको होइन। नाति आएको छ त्यसैले बताउला नि।’

राम्रा भनेको असल। अंगुरमायाँले विद्यादेवीलाई बताइन्। को असल, को खराब? कसरी थाह पाउनु? विद्यादेवीका लागि त त्यही सचिव असल जसले उनको उमेर दुई वर्ष बढाएर वृध्दभत्ता दिलाइदिएको थियो। उ त चुनावमा उठेको छैन। विद्या र अंगुरा असलको परिभाषा खोजिरहेकै बेला पुलिसको पेट्रोलिङ कार आयो। एकछिन यताउता हेर्योा। मतदाता शान्त थिए। स्थिति सामान्य थियो।

मतदान केन्द्रमा एमालेका कार्यकर्ताहरु हिजो शनिबार कपनमा मतदातालाई पैसा बाँड्दा बाँड्दै स्वास्थ्यमन्त्री गगन थापा घेराउमा परेको हल्ला गर्दै थिए। ‘पैसा त बाँडेको होइन’ एउटा केटो भन्दै थियो, ‘रामेले लास्टै फसाइ दियो।’ प्रसँगमा अर्का एकजनाले मुस्ताङमा घेरिएका वाणिज्य मन्त्री रोमी गौचनको नाम लियो। केटाहरु गफ गरे जस्तो गर्दै मतदातालाई ‘प्रभावित’ गर्ने कोशिशमा थिए।

गगन र रोमी कांग्रेसका लोकप्रिय नेता हुन्। गगनको साख काठमाडौंको शहरीया समाजमा बढी छ। उनी लोकप्रिय नेता हुन्। रोमी मुस्ताङको गाउँले समाजमा र काठमाडौंको समाजमा पनि हक्की र निडर नेताका रुपमा परिचित छन्। यी दुवै नेता चुनावको मुखमा पैसा बाँड्न गएको त कसैले पत्याउनै सक्दैन। तर, चुनावी प्रसंगमा उनीहरुलाई तान्ने र विवाद सिर्जना गर्ने काममा विपक्षी सफल भए। त्यसले कति घाटा पार्ने हो त्यो पारी हाल्यो। त्यही समाचारले भरियो फेसवुकको वाल।

यो पटकको चुनावमा सामाजिक संजालको प्रयोग खुब भयो। राजनीति गर्नेहरुका विरुध्द मानिसले खुब निकाले मनको भँडास। प्रचण्ड, देउवा, ओली कोही जोगिन सकेनन्। योगेश भट्टराई जस्ता युवा नेताहरुले मतदानको मुखैमा आएर सबैको हिसाब किताब राखेको धम्की दिए। चुनावको मुखमा आएर कांग्रेसका कतिपय ‘शुध्दतावादी’ नेताले कांग्रेस–माओवादी गठबन्धनको विरोधमा फेसवुकमा नै आँशु चुहाए। त्यो आँशुले माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने गिरिजाप्रसाद कोइरालाको आत्मालाई नै पोल्ने कुरा उनीहरुले विर्सिएको देखियो। यी सबै कुरा फेसवुकमा भए। मानिसहरु फेसवुकमा नै रोए, त्यहीं हाँसे, त्यहींबाट लडे र त्यहीं सकिए।

चुनावको दिन फेसवुकमा उम्मेदवारका तस्वीरहरु देखिनु ठूलो कुरा थिएन। रन्जु विहानै टेम्पो चढेर मतदान केन्द्रमा आएको, किशोर थापा आउँदै गरेको, प्रधानमन्त्री प्रचण्डले भोट हालेको...फेसवुक भरिँदै छ। गगन थापाका बारेमा लामा लामा डिबेटमा लागेका छन कांग्रेस–एमाले। चुनावको चर्चामा कुलमान नपर्ने त कुरै भएन। कुलमानकै बारेमा पनि डिवेट चलिरहेको छ, गुलुवको डिबेट। उनलाई विवादमा तानेको जनतालाई मन परेको छैन। भर्चुअल दुनियाँबाट बाहिर, जनता स्वतन्त्र मतदान गर्दैछन्। स्थानीय प्रतिनिधिहरु चुन्दैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट